नीलकण्ठ नगरपालिकाको प्रस्तावित वजेट एघार करोड

651 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,२२ पुस-धादिङको नीलकण्ठ नगरपालिकाले आगामि आर्थिक वर्ष २०७२÷०७३ लागि ११ करोड २६ लाख ३२ हजार ५ सय रुपैयाँको वजेट प्रस्ताव गरेको छ ।DSC_0026 copy

नगरपालिकाको दोश्रो नगर परिषदले सो रकम प्रस्ताव गरेको हो । नगरपालिकाले मंगलवार आर्थिक बर्ष २०७२÷०७३ को वजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।
नगरपालिकाका कार्यकारी अधिकृत विश्वराज मरासैनीले प्रस्तुत गर्नुभएको नीति बजेट तथा कार्यक्रम अनुसार रु ४ करोड २२ लाख ५८ हजार चालु तर्फ र रु ७ करोड ३ लाख ७४ हजार पूँजीगत विकास तर्फ खर्च गरिने छ ।
चालु आर्थिक वर्षमा नगरपालिकाको आन्तरिक आय, नेपाल सरकारबाट विभिन्न शीर्षकमा प्राप्त हुने ७ करोड ७ लाख ७४ हजार,स्थानीय करवाट २३ लाख ४० हजार, सेवा शुल्क वाट ३ लाख १० हजार,दस्तुरवाट ४३ लाख १५ हजार, बिक्रीवाट २५ हजार र अन्इ आयवाट ५ हजार प्रस्तावित वजेट रहेको वताईएको छ ।
परिषद्ले तय गरेको ‘‘बन, पर्यटन,उद्योग,कृषि र आर्थिक पूर्वाधार,समृद्धि र विकास नीलकण्ठ नगरपालिकाको आधार’’ भन्ने नारालाई साकार पार्न आवश्यक योजना तथा कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गरिने नगरपालिकाले जनाएको छ । परिषदले आगामी ५ बर्ष भित्रमा नगरपालिकाको सबै वडालाई समेटेर चक्रपथ निर्माणका लागि सडक गुरु योजना तयार पार्ने भएको छ । सदरमुकामको शोभा विगार्ने गरी सञ्चालनमा रहेको अवस्थित वजारलाई व्यवस्थित पार्दै सडक पेटी निर्माण गर्न नगरपालिकाले प्रस्ताव अघि सारेको छ ।
नगरपालिकाको सबै वडाहरुमा विद्युत्त तथा संचार सुविधालाई विस्तार गर्नको लागि कार्यक्रम तय गर्नुका साथै कृषि उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्न सिंचाईका योजनाहरु संचालनका लागि प्राथमिकता दिईने नगरपालिकाका कार्यकारी अधिकृत मरासैनीद्धारा प्रस्तुत कार्यक्रममा उल्लेख गरिएको छ ।
कृषि योग्य भूमिलाई संरक्षणका साथ नगरपालिका क्षेत्रलाई कृषिजन्य उत्पादनमा आत्मनिर्भर वनाउन व्यवसायिक प्राङगारिक कृषि खेतिलाई प्रोत्साहन गर्ने, नगर क्षेत्रभित्रका उत्कृष्ट कार्य गर्ने, कृषक, समुह, कृषि सहकारीलाई पुरस्कृत गर्ने नीति, शिक्षा, पर्यटन, युवा तथा खेलकुद र सँस्कृतिको संरक्षणको लागि कार्यक्रम सञ्चाल्लन गरिने, संचार क्षेत्र एवम पत्रकारिताको विकास, सुशासन प्रवद्र्धन तथा संगठन विकास, सामाजिक परिचालन तथा टोल विकास, वन उद्योग र वातावरण लगाएतका नीति तथा कार्यक्रमहरु पषिदले पारित गरेको छ ।
जिल्ला विकास समितिको सभाकक्षमा आयोजना गरेको वजेट, नीति तथा कार्यक्रम सार्वजनिकीकरण कार्यक्रम राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर गोविन्द पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । कार्यक्रममा धादिङ क्षेत्र नम्बर २ का सभासद गुरुप्रसाद वुर्लाकोटी, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सहसचिव गोकर्णमण्ी दुवाडी,पुर्व विधायक रामनाथ अधिकारी,जिविस धादिङका पुर्व सभापती खेमप्रसाद लोहनी, एकीककत नेकपा माओवादीका अध्यक्ष रामवहादुर भण्डारी, नेपाली कांग्रेसका उपसभापती नन्दप्रसाद रिजाल,नेकपा एमालेका जिल्ला सदस्य अर्जुन गोर्खालीले नगरपालिकाको वजेट, नीति तथा कार्यक्रम माथि आफ्नो मन्तव्य राख्नु भएको थियो । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रंतिनिधि नन्दप्रसाद काप्री, नेकपा–माओवादीका सेक्रेटरी शम्भुकुमार श्रेष्ठ,नेकपा एकीकृत प्रतिनिधि शिवनिधि खनाल,धादिङ उद्योग वाणिज्य संघका सचिव राजकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघका अध्यक्ष नवराज छत्कुलीले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा जिल्ला स्थित विभिन्न राजनैतिक दलका प्रतिनिधि, संचारकर्मी,सरकारी कार्यालयका प्रमुख एवम प्रतिनिधि, सामाजिक संस्थाका प्रतिनिधि, विषयगत समितिका प्रतिनिधिहरुका साथै आम सर्वसाधरणको पनि सहभागिता रहेको थियो । कार्यक्रममा नगरपालिका संचालनमा आएपछि पहिलो पटक व्यवसाय दर्ता गर्ने,घर वहाल कर तिर्ने, घरको नक्सा पास गर्ने पहिलो सेवाग्राहीलाई सम्मान समेत गरिएको थियो ।
साविकको नीलकण्ठ,सुनौलावजार,साङकोष र मुरलीभञ्ज्याङ गाविसलाई समेटेर २०७१ बैशाख २५ गते धादिङ जिल्लाको पहिलो नगरपालिकाको रुपमा रहेको नीलकण्ठ नगरपालिकाको घोषणा गरिएको थियो । चारवटा गाविसलाई समेटेर वनाईएको नगरपालिकालाई १३ वटा वडामा विभाजन गरिएको छ ।