आपूर्ति नियमित ,बजारमा ग्यांसको हाहाकार

862 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,- देशभर खाना पकाउने ग्याँसको अभाव बढ्दै गईरहेको बेला धादिङको राजमार्ग क्षेत्रमा रहेका ग्यास उद्योगहरुको अनुगमनलाई तिव्र पारिएको छ । ग्याँस उद्योग र डिपोहरुले ग्याँस लुकाएर कृत्रिम अभाव सिर्जना गराएको जनगुनासो बढ्न थालेपछि जिल्ला अनुमगन समितिले धादिङ जिल्लाभित्र रहेका ग्याँस उद्योगहरुको अनुगमन गरेको हो ।
DSC_0447DSC_0586शनिवार धादिङ जिल्लामा पर्ने पृथ्वीराजमार्गको गजुरी देखि मझिमटार सम्म संचालनमा रहेका पाँच वटा ग्याँस उद्योगको अनुगमन गरिएको हो । गजुरी देखि मझिमटारसम्म रहेका विभिन्न ५ ओटा ग्यास उद्योगहरुबाट साविक रुपमा ग्यास आपूर्ति भइरहेको धादिङका सहायक प्रमुख जिल्ला अधिकारी एव्म जिल्ला अनुमगन समितिका संयोजक नन्दलाल र्शमाले बताउनुभयो । अनुगमन टोलीमा प्रहरी निरिक्षक हेमन्त भण्डारी क्षेत्री,जिल्ला प्रशासन कार्यालयका सुव्वा हरिराम न्यौपाने, उपभोक्ता अधिकारकर्मीहरुका साथै जिल्लाका संचारकर्मीहरुको सहभागिता रहेको थियो ।
कम्पनीले ग्यास ल्याएको र बजारमा पठाएको चलानी अनुसार अन्य समयमा जस्तै सिलिण्डर भरिरहेको र आपूर्तिमा कुनै समस्या नदेखिएको शर्माले जानकारी दिनुभयो । अनुगमनका क्रममा पाच वटा उद्योगमा जम्मा १०९ मेट्रिक टन ग्यांस मात्र जगेडा देखिएको र उद्योगीहरुले पनि उद्योगको क्षमता अनुसार ग्यास आपूर्ति गरिरहेको पाईएको पनि शर्माले वताउनु भयो । शनिवार अनुगमन टोलीले गजुरीको गिता, वेनिघाटको श्रीकृष्ण र श्रीमाया,धुषाको तारा र जोगिमाराको त्रिवेणी ग्यांसको अनुगमन गरेको हो । अनुगमनका क्रममा उद्योगको क्षमता, उत्पादित ग्यांस वितरण व्यवस्था, जगेडा ग्यांसको स्थितीका बिषयमा जानकारी लिईएको जिल्ला अनुगमन टोलीका सदस्य जिल्ला प्रशासन कार्यालयका सुव्वा हरीराम न्यौपानेले वताउनु भयो ।
जिल्ला अनुगमन समितिले यस अघि पुस २३ गते बुधवार धादिङको बैरेनी देखि खानीखोला सम्म संचालनमा रहेका अन्य आठ वटा ग्याँस उद्योगको अनुगमन गरेको थियो । अघिल्लो पटकको अनुगमनमा पनि उद्योगहरुवाट नियमित रुपमा बजारमा ग्याँस पठाइरहेको पाईएको अनुगमन समितिले जनाएको छ । जिल्लाको राजमार्ग क्षेत्रमा १३ वटा ग्यांस उद्योग संचालनमा रहेपनि वेनिघाटको श्रीकृष्ण ग्याँस वाहेक अन्य उद्योगले जिल्ला सदरमुकाम धादिङबेसीमा ग्यांस बितरण नगर्ने गरेको उपभोक्ता हित संरक्षण मञ्च धादिङका अध्यक्ष बेदवहादुर खांडले बताउनु भयो । आयल निगमको नीति अनुसार कुल उत्पादनको ६० प्रतिशत सम्म स्थानीय क्षेत्रमा बितरण गर्नुपर्नेमा श्रीकृष्ण वाहेक अन्य उद्योगले जिल्लामा डिलर समेत नदिएको र श्रीकृष्ण उद्योगले पनि कम मात्रामा आपूर्ति गराउंदै आएकाले े बजारमा खाना पकाउने ग्यांसको अभाव बढ्दै गएको हो ।
श्रीकृष्ण ग्याँस उद्योगले जिल्ला सदरमुकाम धादिङबेसीमा मासिक १३ सय सिलिण्डर बितरण गर्दै आईरहेकाले वजारमा ग्यांस अभाव हुनुमा जगेडाका लागि नयाँ सिलिण्डर खरिद गर्नेको संख्या थपिएको हुन सक्ने कम्पनीका मेनेजर ऋषि विसुरालले बताउनु भयो ।
धादिङको राजमार्ग क्षेत्रमा १३ ओटा ग्यांस उद्योग (रिफिल सेन्टर) भएपनि सदरमुकाम धादिङबेसीमा २ महिना देखि ग्याँसको हाहाकार बढ्दै गएको  छ । उद्योगवाट डिलरहरुमा ग्यांसको आपूर्ति नियमित भईरहेको भएपनि वजारमा ग्यांसको अभाव बढेपछि जिल्ला अनुगमन समितिले शुक्रवार सदरमुकाम धादिङबेसीका १५ वटा ग्यांस बिक्री गर्ने पसलहरुको अनुगमन गरेको थियो ।