माघे संक्रान्तिमा खाल्टेमा १० हल गोरुको भिडन्त हुने

1020 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

नयन केसी

खाल्टे ( धादिङ)- माघे संक्रान्तिको अवसरमा धादिङको  खाल्टे गाविसको वडा नम्बर ६ फ्याक्सेमा गोरु जुधाउने मेला लाग्ने भएको छ ।

goroचमेरे गुफा संरक्षण समाजको अगुवाईमा माघ १ गते खाल्टे गाविसको वडा नम्बर ६ फ्याक्सेमा  गोरु जुधाउने मेला आयोजना हुन लागेको हो ।
पहिलो पटक प्रतियोगिताको रुपमा आयोजना गर्न लागिएको गोरु जुधाउने मेलालाई व्यस्थित बनाउन  समाजका अध्यक्ष सुरेन्द्र श्रेष्ठको संयोजकत्वमा ९ सदस्यिय मुल आयोजक समिति र टिकानारायण श्रेष्ठको संयोजकत्मा ४९ सदस्यिय सहयोग समितिको गठन गरिएको छ । मेलामा जुधाउनका लागि अहिले सम्म १० हल गोरु दर्ता भईसकेको संयोजक श्रेष्ठले वताउनु भयो ।
नुवाकोट, धादिङ,, काठमाडौं लगायतका जिल्लाहरुबाट आएका हजारौं दर्शकले  मेलाको अवलोकन गर्ने आयोजकले विश्वास लिएका छन् ।  नेपाली समाजमा माघे संक्रान्तिका दिन हुने गोरु जुधाई  स्पेनको बुल फाईट भन्दा कम नभएकोले यस्को संरक्षणमा लाग्नु पर्ने पर्यटन व्यवसायीहरुको भनाई छ ।
खाल्टे गाविसको छिमेकी वस्ति नुवाकोटको तारुकामा पनि माघे संक्रान्तिका दिन बर्षौ देखि गोरु जुधाउने मेला हुंदै आईरहेको छ । राजा जय पृथ्वीबहादुर सिंह माघे संक्रान्तिका दिन नुवाकोटको तारुकास्थित मावली घर गएको र भान्जा मामाघर आउँदा मनोरञ्जन दिलाउनका लागि मामाले गोरुका बाच्छाहरु जुधाएर मनोरञ्जन दिलाएको किम्वदन्ती रहेको छ । त्यसबेला देखि नै तारुका र आसपासका गाउं वस्तिमा  गोरु जुधाउने प्रचलन सुरु भएको विश्वास गरिन्छ । खाल्टे गाविसको फ्याक्सेमा हुन लागेको गोरु जुधाउने प्रतियोगितामा बिजयी गोरुको धनीलाई  एक हजार  रुपैयाँ हार्ने गोरुको लागि चार सय रुपैयाँ प्रदान गरिने भएको छ । प्रतियोगितामा एकहल गोरुलाई आधा घण्टा सम्म जुधाउने र बराबरी भएमा पांच पांच सय रुपैयाँका दरले प्रदान गरीने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो।यस बर्षवाट प्रतियोगिताको रुपमा आयोजना गर्न लागिएको गोरु जुधाउने मेलालाई स्थानीय समुदायको सांस्कृतिक पर्वका रुपमा मनाउंदै खाल्टे गाविसको पर्यटकीय सम्भावना वोकेको  चमेरे गुफाको प्रवद्र्धन र प्रचार प्रसारका लागि आगामी बर्षमा पनि आयोजना गर्दै लगिने आयोजक संस्था चमेरे गुफा संरक्षण समाजले जनाएको छ ।