कुपोषणका कारण ४१ प्रतिशत बालबालिकामा पुड्कोपन

602 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 

Nepalwebकाठमाडौँ, १२ माघ । नेपालमा पाँच वर्षमुनिका कुल बालबालिकामध्ये कुपोषणका कारण ४१ प्रतिशत बालबालिका पुड्कोपनको सिकार भएको पाइएको छ । त्यस्तै ११ प्रतिशतमा ख्याउटेपन र २९ प्रतिशत कम तौलका बच्चा जन्मिने गरेको छ ।

पोषणका लागि नागरिक समाजले आज आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा नेपाल जनसाङ्खिक तथा स्वास्थ्य सर्वेक्षण–२०११को प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको छ ।

प्रतिवेदनमा नेपालको ५० जिल्लामा कुपोषणको व्यापक समस्या देखिएको छ । सहरी विकास मन्त्रालयका डिभिजिनल इन्जिनियर हरिप्रसाद तिमिल्सिनाले मन्त्रालयले कुपोषणका लागि भन्दै छुट्टै कार्यक्रम नराखेको भएपनि कुपोषणको अप्रत्यक्ष कारक स्वच्छ खानेपानी स्थानीय जनतालाई उपलब्ध गराउने विभिन्न जिल्लामा तीन प्रकारका कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।

कृषि विकास मन्त्रालयका वरिष्ठ योजना अधिकृत ज्योत्स्ना श्रेष्ठले मन्त्रालयले केन्द्र तथा क्षेत्रीय कार्यालयमार्फत स्थानीय तहसम्म समन्वय गरिरहेको र खाद्य उत्पादनमा वृद्धि गरी पोषणयुक्त खाद्यान्न आपूर्तिमा विशेष प्राथमिकतामा राखेको बताउनुभयो ।

महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयका प्रतिनिधि विश्वमाया न्यौपानेले गर्भवती महिलालाई पोषणयुक्त खानेकुराको व्यवस्था गर्न सके ९० प्रतिशत कुपोषणको समस्या न्यूनीकरण गर्न सकिने धारणा व्यक्त गर्नुभयो ।