नेपालमा कुल जनसंख्याको १ प्रतिशत मानिसमात्रै मोटो

687 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं-नेपालमा कुल जनसंख्याको १ प्रतिशत मानिसमात्रै मोटो रहेको पाइएको छ । अक्सफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताका अनुसार मोटोपना भएका विश्वका देशको सूचीमा नेपाल पुछारबाट दोस्रोमा परेको छ । नेपालभन्दा पछि बंगलादेश र इथियोपिया परेका छन् । अनुसन्धानअनुसार सबैभन्दा बढी मोटोपना भएको देश दक्षिण प्रशान्त महासागरमा रहेको टापु देश अमेरिकन समोआ रहेको पाइएको छ । त्यहाँको कुल जनसंख्याको ७५ प्रतिशत मानिस मोटा छन् । यस्तै, नाउरु नामक देशमा ७१ प्रतिशत र कुक आइल्याण्डमा ६३ प्रतिशत, टोकालाउमा ६३ प्रतिशत, समोआमा ५४ प्रतिशत, किरीबाटीमा ४६ प्रतिशत र मार्शल आइल्याण्डमा ४५ प्रतिशत मानिस मोटा छन् । विगतमा प्रशान्त टापुमा मानिसमा वंशाणुगत रुपमा मोटोपन रहेको विश्वास गरिने गरिएकोमा विज्ञहरुले पश्चिमा खानपानका कारण मोटोपनको समस्या निम्तिएको बताएका छन् ।

asiaअमेरिकामा भने कुल जनसंख्याको ३३ प्रतिशत मानिस मोटा छन् भने बेलायतमा करिब २६.९ प्रतिशत, अष्ट्रेलियामा करिब २६.८ प्रतिशत, रुसमा २६.५ प्रतिशत, स्पेनमा २६.६ प्रतिशत, मेक्सिकोमा ३२.१प्रतिशत, अर्जेन्टिनामा २९.७ प्रतिशत र साउदी अरेबियामा ३३ प्रतिशत मानिस मोटा छन् । अनुसन्धानका अनुसार दोस्रो विश्वयुद्धपछि पनि अष्ट्रेलिया, अमेरिका, न्युजिल्याण्ड, बेलायत तथा फ्रान्सअधिनस्थ रहेका देशमा खानपान र पश्चिमा जीवनशैलीका कारण मोटोपना बढेका हुन् । स्थानीय पारम्परिक खानाहरु माछा, मासु, फलफुल तथा तरकारीको स्थान विदेशबाट आयात गरिएका चामल, चिनी, गहुँको पिठो, क्यानमा राखिएका मासु तथा फलफुल तथा तरकारी, हल्का पेय तथा बियले लिन थाले । अक्सफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताका अनुसार शक्ति दिने तथा कम पोषण दिने यस्ता खाद्यपदार्थका कारण मोटोपनाको दर तीब्र रुपमा बढेको हो ।

विश्व खाद्य कार्यक्रमका ग्रेग ब्यारो भन्छन्, ‘इथियोपिया, बंगलादेश र नेपालमा अधिकांश जनसंख्या आफूलाई चाहिने क्यालोरीको पहुँचका लागि संघर्ष गरिरहेका छन् ।’ उनीहरुलाई आवश्यक भिटामिन र खनिज तत्व पनि प्राप्त नभएको ब्यारोको भनाई छ ।