मोबाइलले भेट्टाइदियो धादिङ तिप्लिङको युरुङ तामाङको हत्या आरोपिलाई

652 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

hattyaधादिङ– बाटोमा हिड्दा ठोक्कीएको नीहुँमा धादिङ तिप्लिङ घर भई हाल काठमाण्डौ बस्ने युरुङ तामाङको हत्या आरोपिलाई प्रहरीले पक्राउ गरेको छ । मोबाइलका आधारमा प्रहरीले १५ दिनअगाडि भक्तपुरमा भएको हत्याको आरोपी पक्रेको छ। बाटोमा हिँड्ने क्रममा कुम ठोक्किएको विवादमा कुटेर युरुङ तामाङको हत्या भए पनि आरोपीहरु खुलेका थिएनन्। महानगरीय प्रहरी अपराध महाशाखाले तामाङको मोबाइलका आधारमा घटनामा संलग्न रहेको आरोपमा बुधबार सुवास मिश्र र कमल न्यौपानेलाई पक्रेको हो।

पुस ३० मा बेलुका ८ बजेतिर प्रहरीले टोखा नगरपालिका–१३ को दिपज्योति आवासीय माध्यमिक विद्यालयनजिकै सडकपेटीमा टाउकोमा चोट लागेको अवस्थामा धादिङका २५ वर्षे तामाङलाई फेला पारेको थियो। गोलढुंगा बस्दै आएका उनलाई उपचारका लागि शिक्षण अस्पताल महाराजगन्ज लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको थियो।
महाशाखाका प्रमुख एसएसपी पुष्कर कार्कीका अनुसार अनुसन्धानमा उनको हत्या भएको खुलेपछि अनुसन्धानका क्रममा बुधबार रेस्टुरेन्टमा काम गर्दै आएका गोंगबुका २० वर्षे सुवास मिश्र र बसुन्धरा बस्ने २० वर्षकै तरकारी व्यापारी झ्याप्ले भन्ने कमल न्यौपाने पक्राउ परेका हुन्।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा बाटोमा मोबाइलमा कुरा गर्दै हिँड्ने क्रममा तामाङ र मिश्र समूहसँग ठोक्किन पुगेका थिए। ठोक्किएलगत्तै मिश्र र न्यौपानेसहितको टोलीले आँखा हेरेर हिँड्न सक्दैनस् भन्दै तामाङसँग विवाद गरेका थिए।
विवाद बढेपछि मिश्रसहितको समूहले तामाङलाई इँटा र ढुंगाले टाउकोमा हानेका थिए। टाउकोमा प्रहार भएपछि तामाङ सडकमा ढले। तामाङ ढलेपछि मिश्रले उनको मोबाइल र पैसा लिएर भागेका थिए। एसएसपी कार्कीका अनुसार घटनाको प्रकृतिका आधारमा तामाङको मृत्यु भएको देखिए पनि प्रारम्भमा प्रहरीसँग घटनामा संलग्नहरुबारे कुनै सूचना थिएन। घटनाको प्रत्यक्षदर्शीसमेत कोही नहुँदा कहाँबाट अनुसन्धान अगाडि बढाउने भन्नेमै अन्योल थियो।
स्थानीयसँग मृतकको तस्बिरका आधारमा खोजी गर्दा प्रहरीले तामाङको मोबाइल नम्बर फेला पार्योम। उनको साथमा मोबाइल नरहेकाले सो मोबाइल घटनामा संलग्नहरुले नै लगेको निष्कर्ष निकाल्दै प्रहरीले प्राविधिक अनुसन्धान अगाडि बढाएको थियो।
तामाङको साथबाट हराएको मोबाइलको प्राविधिक अनुसन्धानका क्रममा प्रयोगकर्ताको पहिचान भयो। प्रहरीले तामाङको मोबाइल प्रयोग गर्ने काभ्रे महादेवटार–७ का ३९ वर्षे लीलाबहादुर थापा मगरलाई नियन्त्रणमा लिएर सोधपुछ सुरु गरेको थियो।
प्रहरीले उनको साथमा रहेको मोबाइल नियन्त्रणमा लिएर मृतकका भाइलाई देखाउँदा उनले सो मोबाइल आफूले किनेर दाइलाई चलाउन दिएको बयान दिएपछि प्रहरी घटनाका संलग्न आरोपी निकट पुगेको थियो। अनुसन्धानमा थापाको घटनामा संलग्नता देखिएन। उनको बयानअनुसार सो मोबाइल भक्तपुर दधिकोटका सुवास मिश्रले १ हजारमा बेचेको खुलाएपछि प्रहरी मिश्रको खोजीमा खटिएको थियो। प्रहरीले बुधबार मिश्रलाई पक्रेपछि उनले न्यौपानेको नाम पोलेका थिए।