धादिङमा ६९ सहकारी निष्कृय अवस्थामा

673 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,१७ माघ – सहकारी संस्था स्थापना हुनेक्रम संगै संचालन हुन नसकेर खारेजीमा पर्ने संख्या धादिङमा बर्षेनी बढ्दै जान थालेको छ । डिभिजन सहकारी कार्यालयमा नियमित रुपमा पेश गर्नुपर्ने विवरणहरु समयमै बुझाउन नसकेका जिल्लाका विभिन्न स्थानका ६९ वटा सहकारी सस्थालाई कार्यालयले लिखित तथा सार्वजनिक सूचना जारी गरेर सचेत गराएको छ ।
DSC_4127सहकारी ऐन २०४८ को दफा ३४ अनुसारका पेश गर्नुपर्ने बिबरण समयमै पेश गर्न नसकेपछि निष्कृय संस्थाको सूचिमा परेकाहरुमा २ वटा संचार सहकारी संस्था पनि रहेका छन । सदरमुकाम धादिङबेसीवाट प्रसारित रेडियो लोकतन्त्रको व्यवस्थापनका लागि खुलेको सामुदायिक संचार बहुउद्धेश्यिय सहकारी संस्था र नौविसे गाविसको वडा नम्बर १ मा रहेको कृषि एफ एमको संचालन गरिरहेको गाउंघर संचार सहकारी संस्था पनि निष्कृय सहकारीको सूचिमा परेका छन । यसरी निष्कृय हुनेहरुमा २८ वटा कृषि सहकारी, १० वटा दुग्ध उत्पादक,८ वटा बचत तथा ऋण,७ वटा फलफुल तथा तरकारी, ७ वटा बहुउद्धेश्यिय, ३ वटा जडिबुटी उत्पादन,२ वटा ग्रामीण बिद्युत्त, २ वटा संचार, चिया तथा कफी, स्वास्थ्य , र साना किसान सहकारी संस्था १–१ वटा रहेका छन । जिल्लामा अहिले निष्कृय अवस्थामा रहेका समेत गरी ४ सय ८ वटा सहकारी संस्थाहरु रहेको डिभिजन सहकारी अधिकृत कृष्णवहादुर वोहोराले वताउनु भयो ।
व्यवस्थित ढंगबाट संचालन हुन नसकेर बर्षेनी सहकारी संस्थाहरु वन्द हुने क्रम बढिरहेको बेला जिल्लाका सबै गाविस र नगरपालिकामा समान प्रकृतिका साना किसान सहकारी संस्था स्थापना गरिने अभियाननै शुरु भएको छ ।
सहकारीमा साना किसानहरुको सहभागिता बढाई आर्थिक उन्नतीका विभिन्न कार्यक्रमहरु संचालन गर्ने उद्धेश्यका साथ जिल्लाको ४० गाविसमा साना किसान कृषि सहकारी संस्था संचालनमा रहेको छ । समान प्रकृतिका सहकारी संस्थाहरुको छाता संगठनका रुपमा नेत्तृत्व गर्दै आईरहेको साना किसान कृषि सहकारी संघका अनुसार जिल्लामा साना किसान सहकारी ४० र कृषि सहकारी १४ समेत गरी ५४ वटा जिल्ला संघमा आवद्ध भईसकको छ । शुक्रवार मात्रै धादिङको कटुञ्जे र सेमजोङ गाविसमा स्थापना भई महिलाहरुद्धारा संचालित दुईवटा साना किसान कृषि सहकारी संस्थाको व्यवस्थापन नेपाल राष्ट्र बैकका गर्भनर डाक्टर युवराज खतिवडाले समुदायलाई हस्तान्तरण गर्नुभएको छ ।
डिभिजन सहकारी कार्यालय धादिङका अनुसार २०७१ पुस मसान्त सम्ममा जिल्लामा २ सय ११ वटा कृषि सहकारी संस्था दर्ता भईसकेका छन । सहकारीमा दर्ता भएका मध्ये ५४ वटा कृषि सहकारी साना किसान कृषि सहकारी संघमा आवद्ध भएका छन । समान प्रकृतिका संस्थाहरु वाहेक साना किसान सहकारी संस्थाहरुको मात्रै संख्या जिल्लामा अहिले ४० पुगेको छ । एक नगरपालिका र ४६ गाविस रहेको धादिङ जिल्लामा चालु आर्थिक बर्ष भित्र सबै गाविसमा साना किसान कृषि सहकारी संस्था गर्ने लक्ष्य लिईएको संघका अध्यक्ष शिव भण्डारीले वताउनु भयो ।