भोकभोकै रहेकी गर्भवती बुद्धिमायालाई दाताहरुको सहयोग

585 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

सिम्थली (धादिङ)- चारवटा बच्चा जन्मिएपछि पनि गर्भमा पांच महिना बच्चा बोकेर जाडो छल्न रातभरी अँगेनामा आगो वालेर भोकभाकै रात काटीरहेकी सिम्थलीकी बुद्धिमाया चेपाङको समाचार धादिङ न्यूज डट कम लगायतका संचारमाध्यमहरुबाट एक साथ वाहिर आएपछि सहयोगी दाताहरुले धादिङको महादेवस्थान गाविस सिम्थली गाउंकी बुद्धिमाया चेपाङलाई सहयोग प्रदान गरेका छन ।
DSC_4675चार सन्तानकी आमा बुद्धिमायाले घरमा खानेकुरा नहुंदा ३ छोरी र एक छोरालाई खाना खुवाउन नसक्नुका साथै ओढ्ने ओढ्ने ओछ्याउने नभएर अंगेनाको छेउमा सुतेर रात काट्ने गरेको समाचार वाहिर आएको थियो । बुद्धिमायाको वारेमा आएको समाचार पढेपछि आंफुहरु निकै प्रभावित भएको भन्दै धनकुटा जिल्ला घर भई काठमाण्डौं बस्दै आईरहनु भएकी इन्दिरा घलेको पहलमा बुद्धिमायालाई सहयोग जुटाईएको हो ।
घरमा खानेकुरा र अन्न केही नभएपनि भर्खरै २२ बर्ष टेकेकी बुद्धिमायाले चार सन्तान जन्माईसकेको र कोखमा ५ महिनाको अर्को सन्तान पनि रहेको उनले वताईन । गर्भवती अवस्थामा समेत केही खान नपाएको समाचार वाहिर आएपछि घलेको सक्रियतामा बिहीवार सिम्थली गाउंमा पुगेर बुद्धिमायालाई दुई बोरा चामल, ५ केजी चिउरा, ५ केजी दाल,२ लिटर खानेतेलका साथै चार जना बच्चा र बुद्धिमायालाई लगाउने कपडा र ओढ्ने कम्वल सहयोग गरिएको हो । यसैगरी दाताहरुले प्रेसर कुकर एक थान, ६ वटा स्टिलको थाल, कचौरा र गिलास पनि सहयोग दिएका थिए । सहयोग वितरणका लागि गाउं पुगेको टोलीले केही दिन अघि लडेर घाईते भई आर्थिक अभावका कारण उपचार गराउन नसकि थला परेका एक बृद्ध चेपाङलाई पनि खाद्यान्न तथा कपडा सहयोग प्रदान गरेको छ ।
सिम्थली गाउंमा ३४ घर चेपाङ परिवारको वसोबास रहेपनि गाउंभरीमै सबैभन्दा विपन्न भएका कारण बुद्धिमायाको परिवार नाममात्रको टहरोमा बस्दै आईरहेको छ । घर भित्र खानेकुराको नाम केही नदेखेपछि पछि सहयोगका लागि बुद्धिमायाको घर पुगेका सहयोगीहरु निकै भावुक देखिएका थिए । एकसरो ओढ्ने ओछ्याउने समेत नहुँदा बुद्धिमायाको परिवारले अँगेनाको छेउमा पराल ओछ्याएर माघको चिसो काट्दै आएको छ ।
घरमा खानेकुरा नहुँदा बच्चालाई के खुवाउनेर आंफु के खाने भन्ने पिरलो भएपनि गर्भनिरोधक अस्थायी तथा स्थायी साधन प्रयोग गर्नेतर्फ यो परिवारको ध्यान नगएकाले बर्षेनी सन्तान थपिंदै गएको स्थानीय प्रजा प्राविका प्रधानाध्यापक गोविन्द छत्कुलीले वताउनु भयो ।