धादिङे युवाको चमत्कार,घरमै बसेर रोवोटको आविस्कार

897 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

DSC_0254केशव अधिकारी

धादिङ, ८ फागुन- रोवोटलाई छुन त परै जावोस नजिकबाट देख्न समेत नपाएका धादिङको ग्रामीण भेगका एक युवकले गाउंमै बसेर टेलिभिजन हेरेको भरमा रोवोट वनाएका छन ।
जिल्लाको उत्तरी भेगमा पर्ने त्रिपुरेश्वर गाविसको खमारे घर भएका २० बर्षिय राजन सापकोटाले टेलिभिजनमा देखेकै भरमा रोवोट वनाएका हुन । त्रिपुरेश्वर गाविसको अचने उच्च माविबाट अघिल्लो बर्ष एसएलसी उत्तिर्ण गरेका सापकोटा अहिले सिभिल सव ओभरसियर अध्ययन गरिरहेका छन ।
प्रयोगमा आएर फ्यांकिएका पुराना सामान जोडेर सापकोटाले रोवोट बनाएका हुन । मोटरसाईकलको व्याट्री, मोटरको ह्याण्डपम्प,पुरानो चप्पल, काठ र, स्टिलका टुक्राका साथै तार जोडेर उनले रोवोट बनाएका हुन ।
पढाइबाट फुर्सद पाएका वेला डिस्कभरी च्यानल हेर्ने गरेकोमा विभिन्न समयमा जोखिमपूर्ण काममा प्रयोग हुने गरेको स्काभेटर जस्तो मेशिनले रासायनिक बस्तुहरु उठाउने, गह्रौ चिजलाई पर धकेल्ने गरेको देखेपछि त्यसैको आधारमा आंफुले नयाँ बस्तुको निर्माण गरेको सापकोटाले वताए । नेगेटिभ र पोजेटिभ तार जोडेको वायर सिष्टमबाट स्विच अन गरेपछि रोवोट गुड्नुका साथै अघिल्तिर रहेको सामान उठाएर अर्को ठाउंमा सार्दै रोवोट अगाडि बढ्ने गरेको उनको भनाई छ । करिब डेढ फिट उचाइको रोवोटले ३ केजी सम्मको सामान पन्छाउने क्षमता राख्ने गरेको छ ।
सानै उमेर देखि नयाँ नयाँ कुरामा चासो देखाउंदै आईरहेका सापकोटाले यस अघि बिद्यालयमा अध्ययनरत अवस्थामै पनि हाईड्रोलिक सिष्टमको कार वनाएर प्रदर्शनी गर्दै सबैको मन जितेको अचने उच्च माविका प्राचार्य रविदत्त सापकोटाको भनाई छ । बिद्यालयमा पढ्दा बिज्ञानका बिषयमा निकै रुची भएकै कारण आफ्नो हरेक श्रृजनशिल कार्यलाई बिद्यालयका बिज्ञान शिक्षक झयराम सिटौला र अन्य शिक्षकहरूको प्रेरणा एवम परिवारको सहयोगले उत्साहित बनाएको बताए । युवा बैज्ञानिक सापकोटा अनुसार आफूले बनाएको रोवोटलाई थप परिष्कृत गरेर ठूलो आकारको बनाउन सके यस्ले मानवले गर्न नसकेका असहज काममा सहयोग गर्ने उनको विश्वास छ । सामान्य आर्थिक अवस्थाका कारण आंफुले नयाँ सामान खरिद गर्न नसकेकाले अरुसंग मागेर रोवोटको निर्माण गरेपनि अनुसन्धानका क्रममा नगद १५ हजार खर्च भएको र रोवोट निर्माण गर्न ३ महिना लागेको उनले वताए । आफूलाई थप प्रोत्साहन र सहयोग प्राप्त भए भविष्यमा थप नयाँ खोज गर्ने उद्देश्य रहेको सापकोटाको भनाई छ ।
आंफुले तयार पारेको रोवोटलाई राष्ट्रिय स्तरमा प्रदर्शनी गराएर बिज्ञहरुवाट सल्लाह सुझाव लिने चाहना भएपनि आर्थिक अभावका कारण आंफुले राष्ट्रियस्तरमा प्रदर्शनी गराउन नसकेको सापकोटाले वताएका छन । केही बर्ष अघि धादिङकै वेनिघाट गाविस वडा नम्बर ८ वेनिघाट वजार घर भएका मालिक श्रेष्ठले पनि पुराना सामान जोडेर गुड्ने मोटर, स्काभेटर ,क्रेन, व्याट्रीबाट चल्ने पानी जहाज वनाएका थिए । श्रेष्ठले तयार पारेको सामाग्रीहरुको ठाउं ठाउंमा प्रदर्शनी समेत गरिएका थिए । उनले तयार पारेको नमुना पानी जहाज रिमोटको सहायतामा त्रिशूली नदी वार पार समेत गरेको थियो ।