समयमै बीउ र मल उपलब्ध गराउन माग

599 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं, –व्यावसायिक रुपमा कृषिलाई अघि बढाउनका लागि समयमै बीउ र मल उपलब्ध गराउन किसानहरुले माग गरेका छन् । समयमा बीउ र मल उपलब्ध नहुँदा खेती गर्न समस्या देखिएको भन्दै चितवनका किसानहरुले समयमै बीउ तथा मल उपलब्ध गराउन सरकारसँग माग गरेका हुन् । व्यावसायिक कृषि तथा व्यापार आयोजना  (प्याक्ट)को पूरक अनुदानमा सञ्चालनमा आएका मल्ल बीज सप्लायर्स कम्पनी र पाञ्चायन दुग्ध उत्पादक सहकारीले स्थापना गरेको दाना गोदाम घर निर्माणको उद्घाटनका क्रममा किसानहरुले उक्त माग राखेका हुन् । उक्त कार्यक्रममा सहभागी किसानहरुले व्यावसायिक रुपमा कृषि पेसालाई अघि बढाउनका लागि किसानहरुलाई यसका लागि आवश्यक पर्ने वस्तुहरुको सहज आपूर्ति र समयमै पाउनुपर्ने वातावरण निर्माण गर्न आवश्यक रहेको बताएका हुन् ।

आयोजनाको सहयोग प्राप्त भएपछि सहकारीमा दूध संकलन दोब्बर भएको उपआयोजना व्यवस्थापक विष्णुप्रसाद लामिछानेले जानकारी दिए । सहकारीलाई आयोजनाले पूरक अनुदानबापत १३ लाख २८ हजार रुपैयाँ दिएको थियो । यस्तै उनले आयोजनाको सहयोगमा करिब १४ लाख रुपैयाँ लगानी गरी गोदाम घर निर्माणका साथै दाना उत्पादनसम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम पनि सञ्चालन गरेको जानकारी दिए ।  यस्तै मल्ल बीज सप्लायर्स कम्पनीले आयोजनाको ३९ लाख रुपैयाँ पूरक अनुदान र कम्पनीको थप ४७ लाख रुपैयाँ लगानी गरी कम्पनी सञ्चालनमा ल्याएको जनाएको छ ।  यसबाट ६० महिलासहित तीन सय किसान लाभान्वित भएको कम्पनीले उल्लेख गरेको छ । सो अवसरमा किसानहरुका मागलाई सम्बोधन गर्दै प्याक्टका निर्देशक योगेन्द्र कार्कीले किसानहरुका समस्यालाई सम्बोधन गर्ने गरी आयोजनाका कार्यक्रमहरुलाई परिचालन गरिएको जानकारी दिए ।  उनले आयोजनाले राष्ट्रिय आयोजना निर्देशन समितिले तोकेका कृषि उपजहरुको मूल्यशृंखलामा आबद्ध कृषक समूह, कृषि सहकारी तथा कृषि उद्यमीको प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्ने लक्ष्य राखिएको जानकारी दिए । यस्तै उनले किसानहरुले दिएका सुझावहरुलाई आगामी कार्यक्रम तथा योजनाहरुमा समेटिने जानकारी दिए आर्थिक  दैनिकले खबर लेखेको छ ।