गोरखाको बारपाकमा लाटोकोसेरो तथा हुचील उत्सव हुंदै

1618 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

imagesगोरखा –गोरखा जिल्लाको बारपाक गाविसमा अन्तर्राष्ट्रिय लाटोकोसेरोे महोत्सवको अवसर पारेर लाटोकोसेरो तथा हुचील संरक्षणमा हातेमालो गरौँ !भन्ने नाराका साथ ‘नेपाल लाटोकोसेरो तथा हुचील उत्सव २०७१’ आयोजना गरिने भएको छ । स्थानीय ‘नेपाल लाटोकोसेरो तथा हुचील उत्सव’ आयोजक समिति बारपाक तथा प्रकृतिका साथीहरु नामक गैरसरकारी संस्थाको आयोजनामा कार्यक्रम हुन लागेको हो । उत्सव यही फागुन २२ र २३ गते दुई दिन गरिने वताईएको छ । किसानको साथी भनेर चिनिने तर संरक्षणको हिसाबले ओेझेलमा परेको लाटोकोसेरो संरक्षणका लागि यो उत्सव आयोजना गर्न लागिएको हो । नेपालमा यस किसिमको उत्सव मनाउन थालिएको ४ वर्ष भएको छ । यस किसिमको उत्सव नेपालबाहेक अमेरिका र इटालीमा पनि हुने गरेको आयोजकको भनाई छ ।

उत्सवमा पहिलो दिन चरा अवलोकन प्रतियोगिता, प्रकृतिको फोटो खिच्ने कार्यक्रम, लाटोकोसेरा सम्बन्धी लघु म्युजियम प्रदर्शनी, फुपूm तथा टोपी झिकाई जस्ता स्थानीय लोपोन्मुख खेलहरुको समेत प्रतियोगिता गरिनेछ भने राती लाटोकोसेरोकोे महत्व दर्शाउने खालका स्लाइड तथा भिडियो प्रदर्शनी गरिनेछ । दोस्रो दिन संरक्षण, संस्कृति तथा लाटाकोसेराको अन्य सामग्री सम्बन्धी प्रदर्शन गरिनेछ । उत्सवलाई जिवन्त बनाउन स्थानीय घाँटु, मारुनी, झ्याउरे, लामाझाँक्री, सोरठी नाचको प्रदर्शनी समेत गरिने भएको छ । उक्त अवसरमा गाविस एवं विद्यालय स्तरीय लाटोकोसेरो चित्रकला, कविता, तथा निबन्ध प्रतियोगितासमेतको आयोजना र प्रदर्शनी गरिने छ । उत्सवमा लाटोकोसेरोको जानकारी भएको सूचना पाटीहरु, चित्रहरु, तथा फोटोहरुको प्रदर्शनी समेत गरिने छ । गहँुको छ्वालीबाट बनाइएका लाटोकासेरोका तस्विरहरु समेत प्रदर्शनीमा राखिने भएकाछन् । आठवटा लाटोकोसेरोको आवाज सुन्न मिल्ने व्यवस्था मिलाइएको छ । उत्सवमा सहभागी हुने जो कसैका अनुहारमा लाटोकोसेरो तथा हुचीलको चित्रसमेत बनाइने आयोजकले जनाएको छ । उत्सवको अन्तिम दिन नेपालका ३ जना तथा भारतका वैज्ञानिक एक गरी जम्मा चार जनालाई संरक्षणको क्षेत्रमा गरेको योगदानको कदर गर्दै ‘प्रकृति संरक्षण पुरस्कार’ समेत दिन लागिएको छ । संरक्षणकर्मीहरुलाई जनही नगद पच्चिसहजार सहित ताम्रपत्र तथा खादाबाट सम्मान गरिने आयोजक संस्थाले वताएको छ ।
पुरस्कृतहुने संरक्षणकर्मीहरुको संक्षिप्त चिनारी ः
१. ईश्वरकुमार जोशी
भरतपुर उपमहानगरपालिका–१ नारायणगढ निवासी ईश्वरकुमार जोशी बिबिसी नेपाली सेवा तथा नेपाल टेलिभिजनमा बिगत २० वर्ष देखि आबद्घ हुनुहुन्छ । उहाँले वन्यजन्तु संरक्षणका विभिन्न खोजमुलक कार्यक्रम मार्पmत जनचेतना अभिवृद्धि गर्न धेरै महत्वपूर्ण भूमिका खेल्नु भएको छ । उहाँले तयार पारेको लाटोकोसेरो तथा हुचील सम्बन्धी रिपोर्ट दुई पटक बिबिसी नेपाली सेवाले प्रसारण गरिसकेको छ । यसबाहेक मगर गोही, घडियाल, बाघ, गैँडा, पानी चरा, सामुदायिक वन, वन्यजन्तु उद्घार, मानिस तथा वन्यजन्तु द्वन्द, संरक्षित क्षेत्र आदिकाबारेमा १०० भन्दा बढि कार्यक्रम प्रसारण भएर सर्वसाधारण जनता सुसूचित भएका छन् ।

२. धनबहादुर चौधरी
नवलपरासी जिल्ला, कावासोती १३ निवासी श्री धनबहादुर चौधरीले २०० भन्दा बढी वन्यजन्तु संरक्षण चेतना शिविर र १०० वटा चरा अवलोकन कार्यक्रम आफ्नै पहलमा सञ्चालन गर्नुभएको छ । १०० भन्दा बढी चरा संरक्षण सम्वन्धी समाचार सामाग्री विभिन्न मिडियामार्फत प्रचारप्रसार गर्नको लागि नेतृत्वदायी भूमिका निर्वाह गर्नु भएको छ । उहाँले ३५ वटा लाटोकोसेरो लगायतका अन्य चराहरुको पुनस्र्थापना पनि गर्नु भएको छ । नेपालमा पहिलो जटायु रेष्टुरेन्ट स्थापनामा वहाँको नेतृत्वदायी भूमिका रह्यो ।

३. प्राध्यापक करनबहादुर शाह
डढेलधुरा जिल्लाको मस्तामान्डौ गाविसका स्थायी वासिन्दा प्राध्यापक करणबहादुर शाह वन्यजन्तु अध्ययन तथा संरक्षणका क्षेत्रकालागि चिरपरिचित नाम हो । उनका वन्यजन्तु सम्बन्धी १८ वटा पुस्तक, ६० भन्दा बढी शोधपत्रहरु, १०० भन्दा बढी लेखहरु प्रकाशित छन् । वन्यजन्तु सम्बन्धी २५ भन्दा बढी वैज्ञानिक अनुसन्धान कार्यको नेतृत्व गरिसक्नुभएको छ । शाहले नेपालका लागि २५ तथा विश्वका लागि ८ नयाँ प्रजातीका जीवहरु पत्ता लगाइसक्नु भएको छ । उहाँले लाटोकोसेरो सम्वन्धी ५ वटा लेखहरु प्रकाशित गर्नुभएको छ भने १० वटा लाटोकोसेरो लगायतका वन्यजन्तुहरु पुनस्र्थापना समेत गरिसक्नु भएको छ । नेपालमा उहाँलाई वन्यजन्तुका मामिलामा नेपालका इन्साइक्लोपिडिया समेत भनिन्छ ।

४. डा. अबरार अहमद
भारतीय नागरिक अहमदलाई विदेशी संरक्षणकर्मीका रुपमा सम्मान गरिने भएको छ । उहाँले भारतमा विगत दुइ दशकदेखि आप्mनै प्रयासले लाटोकोसेरो तथा हुचीलको अवैध शिकार तथा व्यापारका बारेमा अध्ययन गरी विश्वमै चर्चित प्रतिवेदन तयार पार्नु भएको छ । यसका अलावा लाटोकोसेरो तथा हुचीलको अध्ययन अनुसन्धान तथा संरक्षणमा समेत उनको उत्कृष्ट योगदान रहेको छ ।

“नेपाल लाटोकोसेरो तथा हुचील उत्सव” किन ?
गैँडालगायतका वन्यजन्तुहरुकै हाराहारीमा शिकार तथा अवैध व्यापार हुन थालेपछि यिनको संरक्षणमा पनि चासो बढेको हो । औषधी, झारफुक तथा घरमा पाल्नका लागि भारत, चीन लगायत विभिन्न खाडी मुलुकहरुमा यिनको अवैध कारोबार हुने गर्छ । प्रकृतिका साथीहरु नामक संस्थाले ३० वटा जिल्लामा गरेको प्रारम्भिक अध्ययनको आधारमा नेपालबाट वार्षिक कम्तीमा २००० वटासम्म लाटोकोसेराहरु तथा हुचीलहरु मारिने तथा विभिन्न मुलुकहरुमा अवैध रुपमा पठाईने गरेको भेटिएको छ । यसका अतिरिक्त गुलेलीको प्रयोग गरि लाटोकोसेरो लगायत चराहरु मार्ने गरेको भेटिएको छ । अहिलेसम्मको अध्ययनले २५ प्रतिशत विद्यार्थीहरुले गुलेली प्रयोग गर्ने गरेको भेटिएको छ । मानिसहरुले लाटोकोसेरोको बच्चाहरुलाई गुँडबाट निकालेर पाल्ने गरेको पनि भेटिएको छ । यसका अतिरिक्त लाटोकोसेरोको वासस्थान विनास समेत तिव्र रुपमा भैरहेको छ । नेपालमा कानुनी रुपमा लाटोकोेसेरोलाई पाल्न, दुख दिन, बेच्न नपाईने बारे स्थानीयहरुलाई जानकारी कम रहेको भेटिएको छ । साथै यसले कृषि क्षेत्रमा गर्ने महत्वपूर्ण योगदानबारे पनि उनीहरु अनभिज्ञ नै देखिएका छन् । स्थानीय तथा अन्य सरोकारवालाहरुलाई यसबारेमा जानकारी दिई लाटोकोसेरो तथा हुचील संरक्षणमा टेवा पुगोस भनेर यो उत्सव गर्न लागिएको हो ।

लाटोकोसेरोको के महत्व छ ?
मुसाहरुको संख्या नियन्त्रण गरेर किसानलाई सहयोग गर्ने भएकोले यसलाई किसानको वास्तविक साथी भनिन्छ । यिनको एक परिवारले (भाले, पोथी र बच्चाहरु) एक सिजनमा ३००० वटासम्म मुसाहरु खाने गर्छन् । मुसा बाहेक यिनले किरा फट्याङग्रा, सर्प, भ्यागुताको संख्या पनि नियन्त्रण गर्दछन् । धार्मिक हिसाबले समेत लाटोकोसेरोहरुलाई देवी लक्ष्मीको वाहन मानिन्छ । पर्यावरणलाई सन्तुिलत राख्न पनि यिनको मुख्य भूमिका रहन्छ । यिनको उपस्थितीले प्रकृति स्वस्थ छ भन्ने संकेत गर्दछ । लाटोकोसेरो सहित सम्पूर्ण चरामा आधारित पर्यापर्यटन विकास मार्फत मानविय जिविकोपार्जनमा समेत सहयोग पुग्दछ । यिनीहरुको आवाजले साँझ परेको तथा बिहान भएको संकेत समेत गर्दछ ।

लाटोकोसेरो कस्तो चरा हो ?
लाटोकोसेरा प्रायः राती तथा बिहान सक्रिय हुने र शिकार गर्ने चरा हो । त्यसो त यसले दिउँसो पनि आँखा देख्दछ । यिनीहरुकोे देख्ने तथा सुन्ने दुवै क्षमता अत्यन्तै राम्रो हुन्छ । यिनीहरुले रुखको टोड्को, भुइँमा तथा पहराहरुमा फुल पार्छन् र बच्चा कोरल्छन् । यिनको शरीरको तौल ३१ ग्रामदेखि लिएर ४ किलो ५०० ग्राम सम्मको हुने गर्दछ । लाटोकोसेराको शरिर अत्यन्तै हलुका तथा नरम भुवाहरुले ढाकेको हुनाले उड्दा खेरि आवाज आउँदैन । यिनीहरुले आपm्नो टाउकोलाई एकापट्टिमात्रै पनि २७० डिग्रीसम्म घुमाउन सक्छन् । नेपालमा यिनीहरुको बासस्थान तराइदेखि हिमालसम्म फैलिएको छ । यिनको सँख्याको बारेमा नेपालमा अध्ययन नभए पनि हालसम्म २१ प्रकारका लाटोकोसेरोको प्रजातीहरु अभिलेख गरिसकिएको छ जसमध्ये ८ प्रजातीहरु नेपालमा दुर्लभ मानिन्छन् । विश्वमा करिब २२५ प्रजातीका लाटोकोेसेराहरु पाइन्छन् ।