भ्रष्टाचार नियन्त्रण सम्वन्धि जिल्लास्तरीय अन्तरक्रिया

646 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

DSC_0522धादिङ–जिम्मेवारी बहन गर्दा कानूनको पालना गरी नैतिकवान चरित्र प्रदर्शन गर्न सके कसैले पनि औला ठड्याउन नसक्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका उप सचिव महेन्द्रनाथ भट्टराईले वताउनु भएको छ ।
उप सचिव भट्टराईले भ्रष्टाचार बढ्नुमा नैतिकतामा आएको ह्रास,व्यक्तिवादी स्वार्थ र सदाचारको अभाव मुख्य कारण भएको बताउनु भएको हो । आयोगको मध्यमाञ्चल क्षेत्रीय कार्यालय मकवानपुर हेटौंडाद्धारा विहीवार धादिङबेसीमा आयोजित भ्रष्टाचार नियन्त्रण सम्वन्धि अन्तरक्रिया कार्यक्रममा उप सचिव भट्टराईले यस्तो बताउनु भएको हो । जिल्लाका सरकारी कार्यालयका प्रमुखहरुको लागि आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा भट्टराईले ‘भ्रष्टाचारका कारण असर तथा नियन्त्रणका मुख्य कानूनी व्यवस्था’ बिषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्र मार्फत उहाँले भ्रष्टाचार के हो ? भ्रष्टाचारका कारण,असर,भ्रष्टाचार नियन्त्रणका कानूनी आधार,नियन्त्रणमा देखा परेका समस्या,नियन्त्रणका उपाय,भ्रष्टाचार बिरुद्धको निती,नेपालले गरेको प्रयास,आयोगको अपेक्षा लगायतका बिषयमा स्पष्ट पार्नुभएको थियो ।
DSC_0514अख्तियार देख्दा डराउनुभन्दा अख्तियार आउनै नपर्ने गरी जिम्मेवारी वहन गर्न भट्टराईले सरकारी कर्मचारीलाई सुझाव दिनु भयो । यसैगरी सोही कार्यक्रममा धादिङका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले भ्रष्टाचार नियन्त्रण र सुशासन कायमका लागि सार्वजनिक जवाफदेहिताको भुमिका बिषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्र मार्फत प्रमुख जिल्ला अधिकारी घिमिरेले सार्वजनिक जवाफदेहिता,सुशासन, जवाफदेहिताका न्यूनतम शर्त, जवाफदेहि हुनुपर्ने निकाय लगायतका बिषयमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा जिल्लाका सरकारी कार्यालयका प्रमुख, नागरिक समाजका प्रतिनिधि, संचारकर्मीहरुले काम गर्दा भोग्नु परेको कठिनाई, कानूनी समस्या लगायतका बिषयमा आआफ्नो धारणा व्यक्त गरेका थिए ।