स्वाइन फ्लुबाट सङ्क्रमित हुनेको सङ्ख्यामा वृद्धि

536 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौँ, १६ फागुन – चिसो बढेसँगै स्वाइन फ्लु (इन्फ्लुइएञ्जा एचवानएनवान) सङ्क्रमित हुनेको सङ्ख्यामा वृद्धि भएको छ ।

flu-symptoms__926340112हालसम्म नमुना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आएका कति जनामा स्वाइन फ्लुको सङ्क्रमण भेटियो भन्ने एकीन जानकारी प्रयोगशालाले सञ्चारकर्मीलाई सार्वजनिक गरेको छैन । तर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको उच्च स्रोतका अनुसार हालसम्म सो रोगबाट १५ जनाभन्दा बढी व्यक्ति सङ्क्रमित भइसकेका छन् ।

यो सङ्ख्या स्वाइन फ्लुको नमुना परीक्षणका लागि चितवन, पोखरा, विराटनगरलगायत देशका विभिन्न सहरबाट आएकासहित भएको मन्त्रालय स्रोतले जनाएको छ ।

मन्त्रालयका उच्च पदाधिकारीले स्वाइन फ्लु सङ्क्रमित हुनेको सङ्ख्या सार्वजनिक नगर्न प्रयोगशालाका निर्देशकलाई निर्देशन दिएपछि प्रयोगशालाले हालसम्म सञ्चारकर्मीलाई आधिकारिक एकीन जानकारी सार्वजनिक नगरेको बताइयो ।

निर्देशक डा गीता शाक्यले स्वाइन फ्लु नमुना परीक्षणका लागि आएका नमुनामध्ये कतिपयमा सो स्वाइन फ्लु देखा परेको र हालसम्म कतिजनामा सो फ्लुको भाइरस देखियो भन्ने सार्वजनिक गर्न नमिल्ने बताउनुभयो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा बाबुराम मरासिनीले स्वाइन फ्लुका सङ्क्रमित हुनेको सङ्ख्या बढिरहेको जानकारी दिनुभयो । उहाँले सामान्य रुघाखोकी र स्वाइन फ्लुको एउटै लक्षण देखिने हुन्छ, त्यसैले रुघाखोकी लाग्नासाथ परीक्षण गरिहाल्नुपर्छ भन्नुभयो । हालसम्म स्वाइन फ्लुको परीक्षण केन्द्रीय प्रयोगशालामा मात्र हुने गर्दछ ।

विशेष गरी जाडोको समय सकिने र गर्मीयाम सुरु हुने समयमा स्वाइन फ्लु देखा पर्ने गर्दछ । भारतमा सो फ्लुका कारण हालसम्म ८०० को मृृत्यु भइसकेको छ भने करिब ११ हजारभन्दा बढीमा सो फ्लुले सङ्क्रमण गरिसकेको प्रमाणित भइसकेको छ ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा सेनेन्द्रराज उप्रेती यो मौसमी रुघाखोकी हो, धेरै डराइहाल्नु पर्दैन तर सचेत रहनुपर्छ भन्दै सङ्क्रमितका लागि सरकारले निःशुल्करूपमा टामी फ्लु औषधिको व्यवस्था गरेको जानकारी दिनुहुन्छ । हालसम्म इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा कतिजनाले सो औषधि लिएर गए भन्ने जानकारी पनि सार्वजनिक गरिएको छैन ।

विभागले नेपाल भित्रिने भारतीय नाका, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निगरानीका लागि हेल्थ डेस्कसमेत स्थापना गरेको छ । साथै आफू मातहतका सबै अस्पताललाई छुट्टै बिरामी राख्ने कोठा ( आइसोलेसन वार्ड) को व्यवस्था गर्न विभागले निर्देशन दिइसकेको छ ।

साधारण रुघाखोकी जस्तै नाकबाट पानी आउनु, हाच्छिउँ आइरहनु, ज्वरो आउनु, टाउको एवम् घाँटी दुख्नु, छाती दुख्नु, वाकवाकी लाग्नु जस्ता स्वाइन फ्लुका लक्षण हुने महाशाखाका प्रमुख डा मरासिनीले बताउनुभयो ।