गर्भवती सहयोगका लागि घर घरमा खुत्रुके

704 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

DSC_4407केशव अधिकारी
वेनिघाट (धादिङ) – गर्भवती हुंदा आर्थिक अभावका कारण जोखिममा पर्ने महिलाहरुको उद्धारका लागि आर्थिक श्रोत जुटाउन धादिङको वेनिघाट स्वास्थ्य चौकीले नयां अभियानको शुरुवात गरेको छ ।
जटिल अवस्थाका गर्भवतीहरुको हितलाई ध्यानमा राखी वेनीघाट गा.वि.स को वडा स्तरका स्वास्थ्य आमा समूह तथा निगरानी समूहको पहलमा प्रत्येक घरधुरी, विभिन्न कार्यालय संघ–संस्था, विद्यालयहरु, होटल तथा रेष्टुरेन्टमा खुत्रुके राखी दैनिक न्युनतम १ रुपैया बचत शुरु गरिएको हो ।
आर्थिक बर्ष २०७२÷०७३ मा घरमा सुत्केरी हुने क्रमलाई पूर्णरुपमा निरुत्साहित गरी संस्थागत सुत्केरी दरलाई सय प्रतिशत बनाउने रणनिती अन्र्तगत स्वास्थ्य चौकीले गर्भवतीहरुलाई लक्षित गरि खुत्रुके बचत शुरु गरेको जनाएको छ । स्वास्थ्य चौकीको कार्य क्षेत्रभित्र मातृ तथा शिशुमृत्युदर विगत ५ वर्ष देखि शुन्यमा पुगेपनि आर्थिक बर्ष २०६९÷७० मा संस्थागत सुरक्षीत प्रसुति ८१, र घरमा असुरक्षित सुत्केरी १९ प्रतिशत रहेको स्वास्थ्य चौकी प्रमुख बाबुराम कौडालले वताउनु भयो ।
आर्थिक अभावले स्वास्थ्य संस्था सम्म पुग्न नसकेर असुरक्षित प्रसुति गराउँदा आमा र बच्चाको ज्यान जान सक्ने भएकाले आर्थिक श्रोत जुटाउन खुत्रुके बचत प्रभावकारी वन्न सक्ने महिला स्वास्थ्य स्वयमसेविका गिता कंडेल बताउनुहुन्छ ।
स्वास्थ्य चौकीको अभिलेख अनुसार आर्थिक बर्ष २०६९÷७० मा वेनिघाट गाविसमा सुत्केरी भएका १ सय ७७ जना मध्ये १ सय ४३ जनाले स्वास्थ्य संस्थामा र ३४ जनाले घरमै असुरक्षित तवरले सुत्केरी गराएका थिए । त्यसै गरी आर्थिक बर्ष ०७०÷७१ म १८२ जना सुत्केरी भएकोमा १ सय ६३ जनाले स्वास्थ्य संस्थामा र १९ जनाले घरमै असुरक्षित तवरले सुत्केरी गराएको पनि स्वास्थ्य चौकीले जनाएको छ ।

सुरक्षित प्रसुतिका लागि गाउं गाउंमा अभियान संचालन हुंदै आईरहेको भएपनि आर्थिक समस्याका कारण सुत्केरी हुनेवेलामा घर छाड्न नसक्ने अवस्थाका महिलाहरुको लागि अभियान चलाउनु परेको स्वास्थ्यकर्मीहरुले वताएका छन ।
गाविसका सबै गाउं टोलको घर घरमा बितरण गरिएको खुत्रुकेमा बचत भएको रकम वर्षमा एक पटक प्रत्येक वडाको तोकिएको स्थानमा खोलेर आमा सुरक्षा कोषमा जम्मा गरि बिपतमा परेका जटिल अवस्थाका गर्भवती सुत्केरी र अन्य कडा रोग लागेका महिलाहरुको उपचारमा खर्च गरिने कौडालले वताउनु भयो ।
कोषमा जम्मा हुने रकमको आय व्ययको हर हिसाव पारदर्शी र व्यवस्थित गर्नका लागि वडा स्तरीय आमा समुह र निगरानी समुहले संयोजन गर्ने वताईएको छ । जोखिममा परेका गर्भवतीहरुलाई स्थानिय स्वास्थ्य चौकी तथा समुदायस्तरमा समुदायकै पहलमा स्थापना भएका वर्थिङ सेन्टरहरुमा दक्ष प्रसुतीकर्मी द्धारा सेवा प्रवाह गरिने स्वास्थ्य चौकीले जनाएको छ । स्थानीय स्तरमा उपचार सम्भव नभएमा खर्च सहित सुविधा सम्पन्न स्वास्थ्य केन्द्रमा खर्च सहित पठाउने निगरानी समुहले वताएको छ । यस अभियानवाट जोखिममा रहेका गर्भवती महिलालाई र उनको गर्भमा रहेको शिशुलाई अकाल मृत्युवाट जोगाउन मद्धत पुग्ने स्वास्थ्य चौकी प्रमुख कौडालले जानकारी दिनु भयो ।