नेपाली किशोर बलत्कार गर्ने क्यानडालीलाई सात वर्ष कैद सजाय –

639 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं, १८ फागुन । पन्ध्र वर्षीय किशोरमाथि यौन दुर्व्यवहार गरेको अभियोगमा पक्राउ परेका क्यानडाली नागरिक अर्नेस्ट फेनविक म्याकिन्टसलाई ललितपुर जिल्ला अदालतले सात वर्षको जेल सजाय सुनाएको छ।

न्यायाधीश टेकनारायण कुँवरको इजलासले क्यानडाली नागरिक म्याकिन्टसले झुटो बोलेर र प्रलोभनमा पारेर ती किशोरमाथि यौन दुर्व्यवहार गरेको पुष्टि भएकाले १० लाख रुपैयाँ क्षतिपूर्ति भराउनसमेत आदेश दिएको छ।

ललितपुर जिल्ला अदालतका प्रवक्ता कौशलेश्वर ज्ञवालीका अनुसार यौन दुर्व्यवहारको मुद्दामा अदालतले तिराउन आदेश गरेको यो क्षतिपूर्ति रकम अहिलेसम्मकै ठूलो हो।

अदालतले सो क्षतिपूर्तिको आदेश कार्यान्वयन गर्न विशेष कूटनीतिक संयन्त्रसमेत तोकिदिएको छ।

पीडितको बकपत्र, किटानी जाहेरी, पीडित र पीडकबीचको कुराकानीको कल डिटेल्स, साक्षीका रूपमा प्रस्तुत अर्का पीडितको बकपत्र, परिस्थितिजन्य प्रमाणसँगै पोलिग्राफ टेस्टको नतिजालाई समेत अदालतले प्रमाणका रूपमा प्रयोग गरेको छ।

पोलिग्राफ टेस्टमा म्याकिन्टसले बयानका क्रममा झुटो बोलेको प्रमाणित भएको थियो।

पुस २८ गते दर्ता भएको मुद्दामा ललितपुर अदालतले बन्द इजलासमा निरन्तर सुनुवाइ गरी ४८ दिनमा नै फैसला सुनाएको नागरिक दैनिकले छापेको छ ।

पीडित पीडकका अगाडि जान डराएपछि सुनुवाइका क्रममा अदालतले क्यामरामा पीडितको बयान लिएको थियो। यो नेपालमै पहिलो पटक गरिएको अभ्यास हो।

अदालतले कृत्रिम हात राख्न सहयोग खोजिरहेको र सक्षम अभिभावकत्वको अभावमा रहेको बालकलाई लक्षित गरी म्याकिन्टसले अपराध गरेको ठहर गरेको हो।

यो मुद्दाको फैसला गर्दा अदालतले ७१ वर्षीय म्याकिन्टसको विगतलाई पनि प्रमाणका रूपमा प्रयोग गरेको छ।

सन् १९७० को दशकमा नाबालकलाई अप्राकृतिक मैथुन गरेको समेत गरी उनीविरुद्ध क्यानडामा पनि सन् २००९ सम्म ४६ वटा यौन दुर्व्यवहारको उजुरी दर्ता भएको, ३६ वटामा मुद्दा चलाइएको र त्यहाँको सुरु अदालतले १३ वटामा दोषी ठहर गरेको थियो।

तर, प्रतिवादीको पुनरावेदनमा माथिल्लो अदालतले अनुचित विलम्बको सिद्धान्तअनुसार मुद्दा खारेज गरेको पाइएको थियो।

ललितपुर जिल्ला अदालतले क्यानडामा सुरु अदालतबाट म्याकिन्टस अपराधी ठहर भएको, तर उच्च अदालतले मुद्दा खारेज गरे पनि खारेजीको आधार विलम्ब गरी मुद्दा चल्नुलाई मात्र लिएको विषयलाई फैसलामा प्रमाणको रूपमा प्रयोग गरेको छ।

ललितपुर जिल्ला प्रहरीले गत पुसमा जावलाखेलस्थित क्याफे ब्राजिलबाट म्याकिन्टसलाई पक्राउ गरेको थियो।

एउटा हात नभएका पीडितलाई कृत्रिम हात राखिदिने लोभ देखाई पटक–पटक अप्राकृतिक मैथुन गरेका उनले मंसिर २७ गते अन्तिमपटक सोही अपराध दोहर्यााएका थिए।

ती बालकजस्तै पीडित बनेका अर्का किशोरले दिएको जानकारीका आधारमा प्रहरीले म्याकिन्टसलाई पक्राउ गरेको थियो।