स्वाइन फ्लु संक्रमित महिलाको मृत्यु

593 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Medical_20150302090126काठमाडौ, -स्वाइन फ्लुको संक्रमण भई राजधानीमा उपचाररत एक महिलाको शनिबार राति मृत्यु भएको छ । दुई साताअघि काठमाडौं मोडेल अस्पतालमा भर्ना भएकी उनी एक सातादेखि भेन्टिलेटरमा थिइन् । आइतबारसम्ममा स्वाइन फ्लु संक्रमण प्रमाणित भएकाहरूको संख्या ४३ पुगेको छ । संक्रमित दुई जना एक सातायता अस्पतालमा भर्ना भएर उपचार गराइरहेका छन् । गतवर्ष राजधानीमा मात्र स्वाइन संक्रमण देखिँदा १८ जनाको मृत्यु भएको थियो इकान्तिपुर डट कमले खबर लेखेको छ ।

शनिबार राति मृत्यु भएकी महिला काठमाडौंकै बासिन्दा थिइन् । उनी हालसालै राजधानीबाहिर गएकी पनि थिइनन् । ‘दमको रोगी भएकाले उनलाई स्वाइन संक्रमणसँगै निमोनियासमेत भएको थियो,’ मोडेल अस्पतालका निर्देशक डा.भरत प्रधानले भने ।

शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा आउने शंकास्पद बिरामीको संख्या यो साता अझ बढेको डा. शेरबहादुर पुनले बताए । ‘तीमध्ये अधिकांश हालै सार्वजनिक जमघटमा सहभागी भएका पाइए,’ डा.पुनले भने, ‘भोज-भतेरलगायत एकै ठाउँमा जम्मा हुँदा संक्रमण बढिरहेको छ ।’

संक्रमण फैलिन नदिन रुघाखोकी लागेकाहरूलाई निको नभएसम्म सार्वजनिक जमघटमा जानबाट रोक्नुपर्ने उनले औंल्याए ।

स्वाइनलगायत फ्लुहरूको संक्रमण बर्सेनि चिसो याम र मनसुनमा गरी दुई पटक देखिने गरिएको छ । यस पटकको स्वाइन संक्रमण मार्च महिनाभर रहन सक्ने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. गीता शाक्यले पनि बताइन् ।

‘सामान्यतया तापक्रम बढ्दा यो संक्रमण कम हुन्छ र पुन: मनसुनको समयमा रुघाखोकीको समस्या देखिन सक्छ,’ उनले भनिन् ।

हाल देखिएको स्वाइन फ्लु दक्षिण (भारत) बाट उत्तरतर्फ फैलिरहेको बताउँदै डा. पुनले भने, ‘हाल मुलुकभरि पानी परेकाले स्वाइनको प्रकोप अझ बढ्न सक्छ ।’

स्वाइन फ्लुलगायत भाइरस माइनस ८० डिग्री तापक्रममा एक वर्षसम्म बाँच्न सक्छ । माइनस २० डिग्रीमा एक महिना र ४ डिग्रीमा करिब ७ दिनसम्म बाँच्छ । ‘पानी पर्दा तापक्रम कम हुन्छ, जसले संक्रमितहरू खोक्दा, बोल्दा आदि वातावरणमा फैलिने भाइरस बढी समयसम्म जीवित रहने भएकाले संक्रमणको सम्भावना बढ्छ,’ डा.पुनले भने, ‘स्वाइनको शंका भए जति छिटो उपचार सुरु गरिन्छ, त्यति नै छिटो निको हुने सम्भावना रहन्छ ।’