साझाले पनि पुस्तक छाप्ने

469 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

sajha_729951448_515856920_653420477काठमाडौं : सरकारले यस वर्षदेखि स्कुल तहका पाठ्यपुस्तक साझा प्रकाशनमा पनि छाप्ने भएको छ। वैशाखमा शैक्षिक सत्र सुरु हुनुअघि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले मात्र पुस्तक छापेर विद्यार्थीको हातमा पुर्‍याउन नसक्ने भएपछि साझा प्रकाशनलाई १० लाख थान पुस्तक छपाइको जिम्मेवारी दिइएको हो।
साझाले कक्षा ६ र ७ का पुस्तक छाप्नेछ। जनकले कक्षा आठ, नौ र १० का पुस्तक छपाइ गरिरहेको छ। कक्षा एकदेखि पाँच र ६ देखि १० सम्मका विद्यार्थीलाई वर्गीकरण गरेर पुस्तक छपाइ प्रक्रिया अघि बढाइएको छ।
कक्षा एकदेखि पाँचसम्म पुस्तक छपाइको जिम्मेवारी निजी क्षेत्रका २१ वटा प्रेसलाई पनि दिइएकाले जनकले ६ देखि १० सम्मका पुस्तक छपाइलाई प्राथमिकता दिएको छ।
आउने शैक्षिक सत्रमा कक्षा ६ देखि १० सम्मका लागि एक करोड ८२ लाख थान पुस्तक आवश्यक पर्छ। शिक्षा विभागले प्रकाशन गरेको गत वर्षको विद्यार्थी संख्याको ८० प्रतिशतलाई आधार मानेर यो तथ्यांक निकालिएको हो।
जनकले शुक्रबारसम्ममा ८४ लाख ५० हजार पाँच सय ८९ थान पुस्तक छापिसकेको छ। जनकको छपाइ अनुगमन गरेर फर्किएका शिक्षा मन्त्रालयका सहसचिव सूर्यप्रसाद गौतमले भने, ‘थप १५ लाख थान पुस्तक छापिएर बाइन्डिङ प्रक्रियामा छ।
अब ४५ लाख थान पुस्तक छाप्नुपर्ने देखिन्छ।’ जनकको प्रेसले दैनिक अधिकतम ९० हजार थान पुस्तक छाप्न सक्छ। यो हिसाबले शैक्षिक सत्र सुरु हुँदासम्म सबै पुस्तक छापेर विद्यार्थीको हातमा पुर्‍याउन नसकिने भएकाले सझालाई पनि छाप्ने जिम्मेवारी दिइएको गौतमले बताए।
त्यस्तै कक्षा एकदेखि पाँचसम्मका विद्यार्थीलाई आउने शैक्षिक सत्रका लागि एक करोड ४६ लाख थान पुस्तक आवश्यक पर्छ। जसमध्ये जनक शिक्षासँग गत वर्ष नै छापिएको १५ लाख थान पुस्तक स्टक छ।
गौतमले भने, ‘यो सबै हिसाब गर्दा अब ३२ लाख थान पुस्तक छाप्न बाँकी रहेको देखियो। निजी क्षेत्रले पनि छाप्ने भएकाले यो तहका लागि पुस्तक अभाव देखिँदैन।’
शैक्षिक सत्र सुरु भएको लामो समयसम्म पनि विद्यार्थीले पुस्तक पाउन नसकेको विगत छ। जनक शिक्षाका प्रबन्ध सञ्चालक अनिल झाले आउने शैक्षिक सत्रमा पुस्तक अभाव हुन नदिने गरी काम गरिरहेको बताए अन्नपूर्ण पोष्ट डट कमले खबर लेखेको छ ।