शोकमा डुब्यो पिडाको पुकुन गाउँ

633 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

केशव अधिकारी

धादिङ,– सिंगो गाउँ नै शोकमा डुबेको छ । गाउँका सबैको आँखा ओभाएका छैनन, गाउँमा सन्नाटा छाएको छ । दुईवटा घरमा लगाएको ताला खोल्ने मान्छे समेत छैनन् ।

DSC_0035दुई वर्षदेखि वैदेशिक रोजगारीका लागि साउदीमा रहेका पूर्णबहादुर तामाङकी श्रीमती र छोराको ज्यान गएपछि उहाँको घरको दैलो लागेको छ । पूर्णबहादुरकी श्रीमती फुलमायाले उपचारका लागि घर छाड्नु अघि लगाएको ताला खोली दिने मान्छे समेत कोही छैनन् । घटनाको जानकारी पाएपछि पूर्णबहादुर घर फर्कने तयारीमा लागेको खबर आएको आफन्तले बताएका छन । पूर्णबहादुरको मात्रै होइन घटना भएको मुलघरमा पनि ताला लागेको छ । सञ्जबहादुर र उहाँका माईलो छोरा टेकबहादुरका तीन छोराछोरीको ज्यान गएको छ ।

सञ्जबहादुरकी श्रीमती फुलमती, छोरा टेकबहादुर र बुहारी सम्झनाको काठमाडौंमा उपचार भैरहेको छ । एकै घरका ६ जनाको ज्यान गएपनि सञ्जबहादुरका दुई भाइ छोराको घरमा दैलो उघार्ने मान्छे समेत नभएका हुन् । घरमा भएको दुःखद घटनाले मान्छे मात्रै होईन गाई भैँसी र बाख्रा समेत दुई दिन देखि गोठमा भोकै छन् ।  छिमेकी र आफन्त सञ्जबहादुरको घरको आँगनमा जम्मा भएर रोएका छन् । घटना भएको घरमा जम्मा भएका आफन्त एक आपसमा बोल्न समेत सकिरहेका छैनन् । सोमबार बिहानै भएको घटनाका कारण आइतबार रातिदेखि पुकुन गाउँमा चुल्हो बलेको छैन । बालबालिकालाई मकै भुटेर खुवाएपनि घरमा रहेका महिलाले पानी मात्र पिए छन् ।  स्थानीय पुकुन प्राविले पनि मंगलबार विद्यालयमा पढाई रोकेर आफ्ना दुई जना विद्यार्थीको निधन प्रति दुःख व्यक्त गरेको छ ।

सोमबार बिहान सञ्जबहादुर स्याङतानको घरमा पाकेको गहुँको रोटीले सञ्जबहादुरको परिवारमा ६ जनाको ज्यान लिएको हो । तीन जनाको गम्भीर अवस्थामा उपचार भैरहेको छ ।  बाँचेकाहरु पनि यति बेला मृत्युसँग लडिरहेका छन् । रोटी खाएर बिरामी परेपछि उपचारका लागि स्वास्थ्य संस्था तर्फ जाँदै गरेका सञ्जबहादुर घरदेखि आधा घण्टा हिड्न नभ्याउँदै बाटोमै ढले । सञ्जबहादुर ढलेको केही बेरमा उनको कान्छी बुहारी फुलमाया र नाती रमेश पनि  बाटोमै ढलेका थिए । तीन तीन जना मान्छे बाटोमै ढलेको खबर आएपछि नजिकैका गाउँलेले सोधखोज गर्दा बिरामी परेकाबाट विषादी मिसाइएको गहुँ पिनेर रोटी खाँदा गाउँका २० भन्दा बढी बिरामी परेको रहस्य खुलेको थियो । रोटी खाएको केही बेरमा पेट पोल्ने, औडाहा हुने, वान्ता गर्ने समस्या देखिएपछि बिरामी परेका उपचारका लागि किराञ्चोक स्वास्थ्य चौकी तर्फ आफै हिंडेका थिए । एउटा परिवारले अर्को परिवारलाई कुनै जानकारी नदिँदा बिहान ७ बजे भएको घटना १० बजे पछि मात्रै बाहिर आएको गाउँलेले बताए ।

DSC_0076सोमबार बिहानसँगै घर धन्दा सकेर घाँस काट्न जंगल जानु अघिसम्म देखेका घरका ६ जना सदस्य घाँस काटेर घर फर्कदा ज्यान गैसकेको खबरले सञ्जबहादुरकी जेठी बुहारी ठुली कान्छी तामाङलाई अर्ध बेहोस बनाएको छ । ज्यान गुमाउन पुगेकाहरुमा ६२ वर्षका सन्जबहादुर तामाङ, कान्छी बुहारी २८ वर्षकी फूलमाया तामाङ,  फुलमायाका छोरा ५ वर्षका रमेश तामाङ छन् । यसैगरी सञ्जबहादुरको माइला छोरा टेकबहादुर तामाङका छोरा ५ वर्षका अर्जुन तामाङ, ७ वर्षकी छोरी सविता तामाङ र दुई वर्षकी छोरी अनिता तामाङको पनि रोटीले ज्यान लिएपछि यो परिवार मात्रै होइन गाँउ र आसपासका गाउँ समेत शोकमा डुबेको छ ।सञ्जबहादुरका तीन भाइ छोरा अलग्गै बस्दै आएका थिए । जेठो र कान्छो छुट्टै घरमा छन् भने माइलो छोरा टेकबहादुर बाबुसँगै बसेका छन् । गर्भवती रहेकी टेकबहादुरकी २८ वर्षकी श्रीमती सम्झना तामाङले घरमा अन्न सकिएपछि  आइतबार साँझ घट्टमा लगेर पाँच पाथी गहुँ पिसेर ल्याएकी थिइन् । घरमा अन्न सकिएकाले गहुँ र कोदो मिसाएर पिसेर ल्याएको पिठोको रोटी सोमबार बिहान खाजाका रूपमा सञ्जबहादुरको घरमा पाकेको थियो ।

त्यही रोटीले परिवारका सदस्याको ज्यान लियो । सँगै घाँस काट्न जान भनेर बोलाउन आएकी सम्झनाकी देउरानी फूलमाया र उनका पाँच वर्षका छोरालाई पनि सम्झनाले खाजा खान दिएकी थिइन । सबैलाई खाजा खुवाएपछि देउरानी र जेठानी घाँस काट्न वनतिर जाने तयारीमा थिए । दुई जना देउरानी खाजा खान लागेपछि सञ्जबहादुरकी जेठीबुहारी  ठुलीकान्छी भने एक्लै वन जानुभयो । रोटी खाएको केही मिनेटमै सम्झनाका छोराछोरीले एकाएक बान्ता गर्न थालेका थिए भने अरुलाई पनि रिंगटा लाग्ने र बान्ता हुने लक्षण देखिएको सम्झनाका आफन्त शुभलक्ष्मी तामाङले बताउनुभयो । रोटी खाएको केही बेरमै सम्झनाका  छोराछोरी बेहोस भएका थिए भने श्रीमान टेकबहादुर पनि  छटपटिंदै पल्टिएपछि घरमा महामारी पसेको ठानेर छर छिमेकीलाई बोलाएर सबैलाई अस्पताल लैजान सहयोग मागेको सञ्जबहादुरका छिमेकीले बताए ।

दक्षिणी धादिङको विकटमा रहेका अधिकांश बस्तिमा वर्षैभरी खान पुग्ने परिवारको संख्या ज्यादै न्यून छ । सञ्जबहादुरले पनि अनिकालको बेला काम लाग्छ भनेर अघिल्लो वर्षको पुसमा डोको बेचेर आएको आम्दानीले २३ पाथी गहुँ जम्मा गरेर राख्नुभएको थियो । आफूलाई चाहिएको बेला किराले खाएर भ्याइदिने डरले तामाङले प्लाष्टिकको डिब्बा भित्र थायोडेन विषादी राखेर गहुँ राख्नुभएको थियो ।

जिल्ला कृषि विकास कार्यालय धादिङका सूचना अधिकारी समेत रहनु भएका बाली संरक्षण अधिकृत दुर्गाप्रसाद पन्थीका अनुसार थायोडेन विषादी अहिले नेपाल प्रतिबन्धित छ । पुकुन घटनाले विषादीको प्रयोगमा कडाई गर्न नसके थप क्षति हुन सक्ने अवस्था देखिएकाले सरोकारवाला सरकारी, निजी तथा गैर सरकारी निकायसँग समन्वय गरी गाउँ गाउँमा जनचेतना जगाउन र विषादीको बिक्री वितरणलाई व्यवस्थित बनाउन आवश्यक देखिएको धादिङका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताउनुभयो ।