जापानमा शरणार्थीको हैसियत माग्ने नेपाली बढे

761 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं- स्वदेशमा बस्न सक्ने स्थिति नरहेको झुटो व्यहोरा पेस गर्दै जापानमा शरणार्थीको हैसियत माग गर्ने नेपालीको संख्या ह्वात्तै बढेको छ। जापान पुगेर शरणार्थीको हैसियत माग गर्ने विदेशीमध्ये नेपालीको संख्या एक चौथाइ छ। जापानको न्याय मन्त्रालयले मंगलबार जारी गरेको सन् २०१४ को प्रतिवेदनमा जापानमा सबैभन्दा बढी शरणार्थीको हैसियत माग गर्ने नेपाली रहेको उल्लेख छ नागरिक न्यूज डट कमले खबर लेखेको छ ।
download (1)प्रतिवेदनअनुसार सन् २०१४ मा १ हजार २ सय ९३ जना नेपालीले जापानमा शरणार्थीको हैसियत माग गर्दै निदेवन दिएका थिए, जबकि सन् २०१३ मा यो संख्या मात्र ५ सय ४४ रहेको थियो। सन् २०१४ मा विश्वभरिका ५ हजारले जापानमा शरणार्थीका लागि आवेदन दिएका थिए। आवेदकमध्ये ११ जनालाई मात्र जापानले शरणार्थीको मान्यता दिएको छ, जसमा दक्षिण एसियाबाट एक जना पनि परेका छैनन्।
जापानमा शरणार्थीको हैसियत माग गर्ने अधिकांश नेपाली ‘स्टुडेन्ट भिसा’ (विद्यार्थी भई) मा गएकाहरू छन्। जापान पुगेको केही समयपछि प्रशिक्षार्थी तथा विद्यार्थीले शरणार्थीका लागि आवेदन दिने गरेका छन्।
आवेदन दिने ५ हजारमध्ये २ हजार ५ सय ३३ जना शरणार्थीको हैसियत पाउन पुनः निवेदन दिने थिए। प्रतिवेदनमा नेपालीको संख्या दोब्बरले बढ्नुलाई आश्चर्यका रूपमा लिइएको छ। देशमा कुनै द्वन्द्व नहुँदा पनि विभिन्न बहानामा जापान प्रवेश गरी शरणार्थीको दर्जा माग्ने नेपालीको संख्या ह्वात्तै बढेको भन्दै चिन्तासमेत गरिएको छ।
‘सबै मानिस राजनीतिक कारणले आएका छैनन्। नेपाल र श्रीलंका जस्ता देशबाट काम गर्ने उद्देश्यले आउने गरेका छन्,’ जापान टाइम्सले जापानको न्याय मन्त्रालयअन्तर्गत शरणार्थी मामिला निर्देशक हिरोसी किमिजुको भनाइ उद्धृत गरेको छ।
अध्यागमन ब्युरोको तथ्यांकअनुसार सन् २०१३ जापानमा शरणार्थीको लागि आवेदन दिने विदेशीमा सबैभन्दा ठूलो संख्या टर्किसको थियो। २०१३ मा मात्र ६ सय ५८ जना टर्किसले शरणार्थीका लागि आवेदन दिएका थिए। त्यसपछि ठूलो संख्या नेपालीको थियो। सन् २०१० पछि जापानमा शरणार्थीका लागि आवेदन दिने नेपाली विद्यार्थीको संख्या बढ्न थालेको हो।
जापानी नियमअनुसार प्रशिक्षार्थी तथा विद्यार्थीका रूपमा त्यहाँ अध्ययन गर्न जाने विदेशी विद्यार्थीले हप्तामा बढीमा २८ घन्टा काम गर्न पाउँछन्। र, नेपाली विद्यार्थीले शरणार्थीका लागि आवेदन दिनुको मुख्य कारण पनि यही रहेको छ।
सन् २०१० मा अध्यागमन नीतिमा परिवर्तन गरिएपछि शरणार्थीका हैसियत माग्ने विदेशीको संख्या बढेको निष्कर्ष प्रतिवेदनको छ। संशोधन गरिएको अध्यागमन ऐनले शरणार्थीको हैसियत माग गर्दै दिएको आवदेन सन्बन्धित निकायले स्वीकार गरे ‘फुल टाइम’ (पूर्णकालीन) काम गर्ने अवसर प्रदान गरेको छ। यसैकारण स्टुडेन्ट भिसामा जाने धेरैले त्यहाँ पुगेपछि शरणार्थीको हैसियत माग्ने गरेका छन्। आवेदन स्वीकृत भएको छ महिनापछि पूर्णकालीन काम गर्न पाइन्छ।
जापानमा ‘पार्ट टाइम’ (आंशिक) र ‘फुल टाइम’ कामदारलाई दिने पारिश्रमिक पनि भिन्न छ। विद्यार्थी हुँदा मासिक ५८ हजार रुपैयाँ कमाउने विद्यार्थीले शरणार्थीका लागि दिएको आवेदन स्वीकृत भए ६ महिनापछि मासिक १ लाख ६६ हजार रुपैयाँ कमाउँछन्।
शरणार्थीको हैसियत माग गर्नेहरू पर्यटक भिसामा जानेहरू पनि छन्। सन् २०१३ मा ४ हजार १ सय ३४ जना विदेशीले जापानमा शरणार्थीको हैसियत माग गर्दै आवेदन दिएका थिए। तीमध्ये ६ जनाले मात्र शरणार्थीको मान्यता पाए। सन् २०१० मा जापानमा शरणार्थीका लागि आवेदन दिने विदेशीको संख्या ६ सय ६८ रहेको थियो।
जापानले निकै कमलाई मात्र शरणार्थीको हैसियत प्रदान गरेको भन्दै शरणार्थीसम्बन्धी अन्तर्राष्ट्रिय संघसंस्थाले भने आलोचना गरेका छन्। उनीहरूले शरणार्थीको हकअधिकार संरक्षण गर्न हिच्किचाएको आरोप जापानमाथि लगाएका छन्। ‘निकै कमलाई शरणार्थीको हैसियत प्रदान गर्ने कार्य लज्जास्पद छ,’ अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले अध्यागमनसम्बन्धी वकिल सोगो वाटानाबेको भनाइ उद्धृत गरेको छ।
अध्यागमन ब्युरोका अनुसार सन् २०१० मा १ सय ९ नेपालीले शरणार्थीका लागि जापानमा आवेदन दिएका थिए। त्यो वर्ष शरणार्थीको हैसियत माग गर्ने नेपालीको संख्या चौथो ठूलो थियो। सन् २०१० मा शरणार्थीको माग गर्दै परेका १ हजार २ सय २ आवेदनमध्ये ३ सय ४२ बर्मेली, १ सय ७१ श्रीलंकाली, १ सय २६ जना टर्किस र ९१ जना भारतीय थिए। सन् २०१० अघि जापानमा शरणार्थीको हैसियत माग गर्ने नेपालीको संख्या नगन्य थियो।
शरणार्थीको हैसियत माग्दै आवेदन दिएर काम गर्ने नेपाली बढेपछि जापान जाने नेपाली विद्यार्थीको संख्या पनि अकासिएको छ। जापान स्टुडेन्ट सर्भिसेज अर्गनाइजेसन (जेएएसएसओ) का अनुसार सन् २०१३ मा जापानमा अध्ययन गर्ने विदेशी विद्यार्थीको सूचीमा नेपाल पाँचौं स्थानमा छ। सन् २०१३ मा जापानमा अध्ययन गर्ने चीन, दक्षिण कोरिया, भियतनाम र ताइवानपछि धेरै विद्यार्थी नेपालका रहेका थिए। जापानमा अध्ययनरत विदेशी विद्यार्थीमा ३० दशमलव १ प्रतिशत नेपाली छन्।