मलेशिया पुगेपछि श्रीमान् छोडेर श्रीमतीले अर्कै व्यक्ति रोजेपछि…..

585 पटक पढिएको

सम्पादक: Dhadingnews.com

 भूमीराज पराजुली
मलेशिया – धन कमाउन भनेर विदेशीयका श्रीमान र श्रीमती दुवै एउटै कम्पनीमा काम गर्छन् ।

अग्नीलाई साक्षी राखेर सँगै बाँच्ने, सँगै मर्ने कसम खाएका र गरिखान बिदेशी भूमिमा आईपुगेका श्रीमान्, श्रीमती एउटै कम्पनीमा काम गर्न पाउँदा कम सजिलो हुन्न । उनीहरुको सम्वन्ध पनि राम्रो हुनु पर्ने हो । तर मलेशियाको एउटा कम्पनीमा सँगै काम गर्ने सुनसरीका रवि बिक र निशा (नाम परिवर्तन) को सम्बन्ध त्यस्तो न्यानो छैन ।

विवाह गरेको एक वर्षपनि नवित्दै यो जोडी सुन्दर भविष्य निर्माणका लागि केहि कमाउने उद्धेश्यले मलेशिया आइपुग्यो । तर मलेशियामा सोचेजस्तो भएन जीवन । मलेशिया आएर एउटै कम्पनीमा काम गरेपनि यो जोडीले कहिल्यै एक अर्काको माया पाउन सकेन र अब त पाउने सम्भावना नै सकिइसकेको छ ।

एउटै कम्पनीमा दैनिक १२ घण्टा काम गर्ने उनीहरु कहिल्यै फुर्सदमा देखिँदैनन् । दुवैको बस्ने कोठा अलग–अलग । काम गर्ने कम्पनीले महिला र पुरुष कामदारका लागि छुट्टा छुट्टै होस्टलको व्यवस्था गर्ने भएकाले उनीहरु सँगै बस्न पाउँदैनन् ।

‘काम गरुञ्जेल आँखै अगाडी हुने श्रीमती छुट्टि भएर होस्टल फर्किएपछि फोन गर्थें’ रवि सम्झन्छन् ‘सुरु सुरुमा फोन गर्थ्यौं र मिलेसम्म यसो बाहिरफेर सँगै घुम्थ्यौं पनि ।’ पछि हुँदै गएपछि त श्रीमतीको मोबाइल सधैं व्यस्त रहने र फोन लागेपनि श्रीमतीले आफ्नो फोन रिसिभ नै नगर्न थालेको रवि बताउँछन् ।

एउटा तितो अनुभव छ रविसँग । उनी भन्छन् ‘एक दिन काममा जाने बेलामा श्रीमतीलाई फोन गरेको फोन उठाइन’ सम्वन्ध पानी बाराबार हुनुको कारण खोतल्दै उनी भन्छन् ‘काम गर्न मन नलागेर छिट्टै निस्केर बजार घुम्न जादा त्यहाँ त मेरी श्रीमती मेरै कम्पनीमा मसँगै काम गर्ने बङ्गालीसँगै पो घुम्दै रै छे ।’

‘हेर्दा हेर्दै आफ्नी श्रीमती अर्कैकी भई,’ निराश हुँदै रविले सुनाए ‘अब उसलाई भुल्नुको बिकल्प छैन ।’

यो विछोडको पीडा रवि र निशाको मात्र होइन । मलेसियामै रहेका केशव र विष्णु राई (नाम परिवर्तन) को हाल पनि यस्तै हो ।

मलेशियामा रहेका श्रीमान केशवसँगै काम गर्ने भन्दै श्रीमती विष्णु पनि मलेशिया आइन् । श्रीमती आइपुग्दा श्रीमानको खुसीको सीमा नै थिएन । तर उनको त्यो खुसी धेरै समय टिकेन । श्रीमतीको न्यानो माया पाउने विश्वासमा रहेका श्रीमान् त्यतिखेर छाँगाबाट खसे जस्तो भए, जति खेर उनले आफ्नी श्रीमतीको सम्बन्ध अर्कै पुरुषसँग रहेको थाहा पाए । उनकी श्रीमतीले मलेशिया पुगेपछि त्यहि रहेका अर्का एक नेपालीसँग सम्वन्ध बढाएको उनी बताउँछन् ।

श्रीमतीको चाला थाहा पाएपछि कोठामा सधैं झगडा भईरह्यो । जव विष्णुले सम्बन्ध गाँसेको केटा नेपाल फर्कियो, त्यसपछि पनि सम्वन्ध पुनः सहज हुने अपेक्षा थियो केशवको । तर त्यो व्यक्ति नेपाल फर्केपछि बिष्णुले नातामा सोल्टी पर्ने व्यक्तिसँग सम्वन्ध बढाएपछि भनें केशवले बिष्णुसँगको सम्वन्धलाई तिलाञ्जली दिइसकेका छन् ।(उज्यालोअनलाइनबाट ) ।