सुत्केरीको तागतिला खानेकुराको रुपमा भ्यागुता

2230 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

frogधादिङ – सुत्केरीको स्वास्थ्य बिग्रन नदिन तागतिला खानेकुराको रुपमा भ्यागुता खुवाइन्छ भन्ने सुन्दा अनौठो लाग्न सक्छ ।धेरैका लागि अनौठो भएपनि भ्यागुतो प्रजातिको पाहा औषधि हुने जनविश्वासका कारण धादिङको उत्तरी क्षेत्रको विकट गाउँका वासिन्दा घरमा कोही सुत्केरी भएपछि खुवाउनका लागि पाहाको खोजीमा  निस्कने गर्दछन । भ्यागुता भन्दा केहि लामो हुने पाहाको मासु खाँदा ज्यान तथा ढाड दुखेको, मर्केको, भाँचिएर लामो समयसम्म उपचार गराउँदा पनि निको नभएकाहरुको लागि उपयोगी हुनुका साथै सुत्केरीलाई खुवाउँदा तागत लाग्ने जनविश्वासका कारण बर्षा लाग्ना साथ गाउँलेहरु पाहाको खोजीमा निस्कने गर्दछन ।बर्षायाममा मात्र खोला, कुवा र खोल्सीहरुमा प्रशस्त पाइने पाहा मानादेखि पाथीमा भरेर बिक्री हुने गरेको लापा गाविस वडा नम्बर २ का ५४ वर्षका पुसरु तामाङले वताउनुभयो । तामाङ भाषामा प्येङ, लुपिङ, सपिङ, मैपेङ भनिने विभिन्न प्रजातिका पाहा बर्षायाममा मात्र भेटिने गर्दछ । पाहाको छाला र आन्द्राभुडी फ्याकेर बाँकी भागको सुप वनाएर या राम्रोसंग भुटेर वा स्वाद अनुसार मासुको परिकारका रुपमा खान सकिने उहाँ बताउनुहुन्छ ।भ्यागुतोको रुपसँग मिल्ने भएपनि पाहा फरक किसिमको हुने भएकाले यस्को खोजीका लागि बर्षा लागेपछि खोला र खोल्सीहरुको किनारमा मानिसहरुको भिड लाग्ने गरेको लापाका जंगवहादुर तामाङले वताउनुभयो ।ठुलो खाले पाहाको एउटाको १ सय रुपैयाँसम्म पर्ने गाउँलेहरुले बताउँछन । धादिङको सबै भागमा पाहा भेटिए पनि तिप्लिङ गाविसको लेकमा भेटिने पाहा भने निकै महत्वपूर्ण हुने गाउँलेहरुको विश्वास छ ।चिनियांहरुले पनि पाहालाई औषधिको रुपमा खाने गरेको पाईएकाले हिमाली भेगका वासिन्दाले मासुको परिकार वनाएर पाहा खाने गरेको पुसरुले वताउनुभयो । पुसरुका अनुसार केही पाहा आधा किलोको सम्म हुने गर्दछन् ।बर्षा लागेपछि खोलाको किनार र पाखा तिर बग्रेल्ति भेटिए पनि लेकमा पाइने पाहामात्र खानयोग्य हुने गरेको पुसरुको भनाई छ । बर्षको एक पटक मात्र पाइने भएकाले घरमा हात खुट्टा भांचिएका, मर्केका विरामी र सुत्केरी भएका परिवारका सदस्यहरु पाहाको खोजीमा जाने गरेको स्थानीयबासिन्दाले बताएका छन् ।