चितवनमा ७९ जनामा स्वाइनफ्लु लक्षण

717 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

swaainचितवन, – दैनिक स्वाइनफ्लुका बिरामी फेला पर्न थालेका छन् । जिल्ला जनस्वास्थ्यका अनुसार माघ दोस्रो सातायता ७९ बिरामी भेटिएको हो । जसमा चितवनका मात्रै ६८ जना छन् । कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीका अनुसार नवलपरासीका ७, तनहुँ, गोरखा, रुपन्देही र पर्साका १/१ मा संक्रमण पुष्टि भएको हो ।

अहिलेसम्म २ सय ६१ को रगत नमुना राष्ट्रिय जनस्वाथ्य प्रयोगशाला टेकु पठाएकामा ७९ मा संक्रमण देखिएको हो । सोमबारसम्म १ सय ६ बिरामीको नमुना पठाएको छ । त्यसको रिपोर्ट आइपुगेको छैन ।

निजी अस्पतालमा उपचारका लागि आउनेमा शंका लाग्नासाथ भरतपुर सरकारी अस्पताल पठाउने गरिएको छ । उक्त अस्पतालमा नमुना संकलन गरी थप परीक्षणका लागि काठमाडौं पठाइन्छ ।

‘बिरामीको संख्या घट्नुपर्नेमा बढ्दै गएको छ,’ केसीले भने, ‘कम गराउन कार्यालयमार्फत जनचेतना तीव्र पारिएको छ ।’

उनका अनुसार बिरामी हुनेमा महिलाको संख्या बढी छ । कार्यालयका अनुसार ४२ महिला र ३७ पुरुष छन् । ५ वर्षदेखि ६८ वर्ष उमेर भएकालाई देखा परेको हो ।

बिरामी सबैमा इन्फुल्एन्जा ए एनवानको संक्रमण देखा परेको छ । अहिले भरतपुर अस्पतालमा ‘हेल्थ डेक्स’ स्थापना गरी बिरामीको स्वास्थ्य जाँच गर्ने गरिएको छ । अस्पतालको आइसुलेसन रुममा ५ बिरामी भर्ना भएका थिए । सास फेर्न गाह्रो भएर अस्पताल भर्ना भएकामध्ये ४ डिस्चार्ज भएर घर गइसकेका छन् । एकमात्र अस्पतालमा उपचार गरिरहेका छन् ।

‘तापक्रम बढ्न थालेपछि रोगको प्रकोप घट्दै जाने छ,’ भरतपुर अस्पतालका डा. प्रकाश खतिवडाले भने, ‘अहिले तापक्रम बढेको छैन, यो सुरु भएको २/३ महिनासम्म रहन्छ ।’ उनका अनुसार बिरामीको अवस्था ठीक छ । औषधि दिनु परेको छैन ।

पर्याप्त जनशक्ति र सरसामान भएकाले समस्या नभएको चिकित्सकले बताए । भरतपुर अस्पतालमा दैनिक ४/५ बिरामी स्वाइनफ्लु जाँच गराउन आउने गर्छन् ।

जनस्वास्थ्यका अनुसार चितवनमा संख्या अहिलेसम्मकै धेरै हो । सन् ०१३ मा १०, ०१४ मा ११ जना स्वाइनफ्लुका बिरामी भेटिएका थिए । ‘यस वर्ष बिरामीको संख्या ह्वात्तै बढ्यो,’ भेक्टर कन्ट्रोलर केसीले भने, ‘अझै नमुना परीक्षणका लागि पठाएको छ, बिरामीको संख्या थप हुन सक्छ ।’

उनले कार्यालयले जनचेतना अभियान जारी राखेको, माक्स वितरण गरेको र कडा खालका रुघाखोकी लाग्नसाथ अस्पताल जान सल्लाह दिँदै आएको बताए ई कान्तिपुर डट कमले खबर लेखेको छ ।