नेकपा (एमाले) धादिङ द्धारा जारी श्रद्धाञ्जली वक्तव्य

478 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

                                      नेपाल कम्युनिष्ट पार्टी
                                  (एकीकृत माक्र्सवादी लेनिनवादी)
                                          जिल्ला कमिटी धादिङ
images     मिति २०७१ चैत्र २४ गते

हाम्रो पार्टी नेकपा (एमाले)का पोलिटब्युरो सदस्य, लुम्बिनी अञ्चल इन्चार्ज एवं पूर्व सभासद् कमरेड रामनाथ ढकालको २२ चैत्र २०७१ का दिन दिउँसो १.४० बजे काठमाडौंस्थित ग्राण्डी इन्टरनेशनल अस्पतालमा उपचारको क्रममा दुःखद निधन भएको छ । उहाँको अकल्पनीय र असामयिक निधनबाट नेकपा (एमाले) मर्माहत, स्तब्ध र शोकाकूल भएको छ ।
कमरेड रामनाथ ढकाल हाम्रो पार्टीको अत्यन्त जुझारु, गतिशील र क्षमतावान युवा नेता हुनुहुन्थ्यो । आफ्नो ३५ बर्ष लामो राजनीतिक जीवनमा उहाँले विद्यार्थी आन्दोलन, पार्टी सङ्गठन विस्तार, निरङ्कुशतन्त्रका विरुद्ध सञ्चालित लोकतान्त्रिक आन्दोलन र संसदीय जिम्मेवारीजस्ता कामका सबै क्षेत्रमा कुशल नेतृत्व दिन र गहिरो प्रभाव छाड्न सफल हुनुभएका थियो । ५२ बर्षको अल्पायुमै भएको उहाँको निधनले हाम्रो पार्टीलाई धेरै क्षेत्रमा अपूरणीय क्षति पुगेको छ ।
२०७१ असोज महिनादेखि अस्वस्थ रहनुभएका कमरेड ढकाल क्षयरोग र लिम्फो प्रोलिफिरेटिभ नामक रोग विरुद्ध सङ्घर्षरत हुनुहुन्थ्यो । भारतको मेदान्त अस्पतालमा उपचारपश्चात् केही स्वस्थ हुनुभएका उहाँ पाल्पाको रामपुरमा आयोजित एक कार्यक्रममा सहभागी भएर फर्केसँगै स्वाइन फ्लु र निमोनियाको गम्भीर सङ्क्रमणबाट आक्रान्त हुनुभयो । श्वेत रक्तकोषहरू निकै कम भएका कारण शरीरको प्रतिरोधी क्षमता एकदमै कमजोर अवस्थामा भएका अनेकौं रोगहरूको आक्रमणका कारण चिकित्सकहरूको अथक प्रयासका बाबजुद उहाँलाई बचाउन नसकिएको स्थितिबाट सिङ्गो पार्टी असाध्यै मर्माहत भएको छ ।
दुःखको यस घडीमा नेकपा (एमाले) जिल्ला कमिटी धादिङको तर्फबाट कमरेड रामनाथ ढकालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछ ।
कमरेड रामनाथ ढकालका गतिशीलता, जुझारुपन र जस्तोसुकै प्रतिकूल अवस्थामा पनि पार्टीले सुम्पेको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्ने जस्ता गुणहरूको पार्टीले सधैभरि स्मरण र अनुशरण गरिरहनेछ ।
साथै, जिल्ल पार्टी कार्यालयले उहाँको सम्मानमा तीन दिनसम्म पार्टी कार्यालयहरुमा पार्टी झण्डा आधा झुकाउने, औपचारिक कार्यक्रमहरु आयोजना नगर्ने, जिल्ला पार्टी कार्यालयमा शोक पुस्तिका राख्ने र आगामी २०७२ बैशाख ४ गते जिल्ला पार्टी कार्यालय धादिङबेसीमा श्रद्धाञ्जली सभा आयोजना गर्ने निर्णय भएको सम्पुर्ण मातहतका पार्टी कमिटी, जनसंगठन, सदस्य र शुभचिन्तकहरुमा जानकारी गराउन चाहन्छु ।

भुमी त्रिपाठी
कार्यवहाक अध्यक्ष