फिरी लगाउने चलन गाउंघरबाट हराउंदै

1820 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

सदरमुकाम धादिङबेसी शान्तवजार चोकमा फिरी लगाउने योगीलाई दान दिंदै सर्वसाधरण ।  तस्बिर / धादिङ न्यूज
सदरमुकाम धादिङबेसी शान्तवजार चोकमा फिरी लगाउने योगीलाई दान दिंदै सर्वसाधरण ।
तस्बिर / धादिङ न्यूज

धादिङ, २८ चैत – बढ्दै गएको सूचना प्रविधिको विस्तारनयां पुस्ताले पुरानो चलन जोगाउने नाममा परम्परागत रूपमा फिरी लगाएर घरको ‘सह’ बचाउने योगीहरूको पेशा लोप हँुदै गएको छ । नेपाली लोक बाजा बजाएर चैत र कार्तिक महिनामा दान थाप्दै हिड्ने सास्कृतिक पेशा फिरी लगाउने कार्य नयाँ पुस्ताले निरन्तरता दिन नसक्दा लोप हुने अवस्थामा पुगेको हो । जरायोको सिङबाट बनाएको लोकबाजा बजाएर हरेक बर्षको कात्तिक र चैत महिनामा योगीहरूले आफ्नो भक्तका घरमा रातीको बेला पारेर फिरी लगाउने चलन रहेको छ ।
कान चिरेका जोगीहरु मध्य रातमा फिरी बजाँउदै आफ्नो क्षेत्र भित्र पर्ने घर नबिराई हिड्ने गर्छन । पुरानो पुस्ताले निकै प्राथमिकता दिने गरेको यो प्रथालाई नयाँ पुस्ताले भने चासो दिन छाडेको भुमेस्थान गाविसका रामहरी कमर वताउनुहुन्छ । भक्तका घरलाई योगीका सन्ततिले भाग लगाएर चैत र कार्तिक महिनामा घरघरमा गई ‘सह’ जगाउने परम्परा रहेपनि अहिले धेरै स्थानमा योगीहरूले ‘फिरी’ लगाउन छाडिसकेको कमरले वताउनु भयो । गोरखनाथका भक्तको रूपमा चिनिने योगीले फिरी लगाएर मन्त्र पाठ गर्नाले घरमा सुख, शान्ति तथा समृद्धि छाउने जन विश्वास छ । अहिलेका पुस्ताहरू योगी बन्नका लागि कान छेडेर कानफटा लगाउनसमेत रूचि नदेखाउनु र मन्त्रपाठ ध्यान गर्न नचाहनुले मौलिक संस्कृति लोप हुने चिन्ता पुराना योगीहरूको छ । फिरी लगाउंदा क्षद भेद मरिद मसना डंक्कीनी भुत पिचासले दुःख नदिओस भनेर मन्त्रोचारण गर्ने गरेको योगीहरुको भनाई छ ।
अघिल्लो रात फिरी लगाउने र भोलीपल्ट दान लिँदै हिड्ने योगीलाई भक्तहरूले पनि अन्नबालीमा ‘सह’ बस्ने, घरमा भूतप्रेत तथा पिशाचले बास नगर्ने विश्वासमा अन्नदान गर्दछन । केही बर्ष अघि सम्म कान चिरा जोगीहरुको गुजारा चलाउने माध्यम नै यहि हुने गरेको थियो । नयाँ पुस्ताले पुरानो चलनलाई वास्ता गर्न छाडेपछि परम्परा धान्नका लागि मात्र फिरी लगाउने कार्य हुने गरेको उनिहरुको भनाई छ ।