पाकिस्तानमा हेलिकप्टर दुर्घटनामा राजदूतहरूको मृत्यु

1048 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

images (1)इस्लामाबाद, २५ वैशाख । पाकिस्तानको उत्तरी भागमा शुक्रबार सेनाको एक हेलिकप्टर अकस्मात अवतरण हुँदा त्यसमा रहेका यस मुलुकका लागि लागि फिलिपिन्स तथा नर्वेका राजदूत तथा मलेसिया तथा इन्डोनेसियाका राजदूतका श्रीमतीहरूको मृत्यु भएको जानकारी सेनाले दिएको छ ।

सेनाका प्रवक्ता मेजर जनरल असिम बाज्वाले एमआई–१७ हेलिकप्टर आपत्कालीन अवस्थामा अवतरण हुन बाध्य भएको ट्विट गर्नुभएको छ । उक्त हेलिकप्टरका दुई पाइलट तथा चालक दलका एक सदस्यको पनि मृत्यु भएको उहाँले उल्लेख गर्नुभएको छ । उहाँले नेदरल्यान्ड तथा पोल्यान्डका राजदूतहरू भने जीवित रहेका र उनीहरूलाई अनेकौँ प्रकारको चोट लागेको उल्लेख गर्नुभएको छ ।

उक्त हेलिकप्टर उत्तरी गाउँ नाल्टारतर्फ गइरहेको थियो । त्यहाँ प्रधानमन्त्री नवाज सरिफले एक स्की पर्यटकीय स्थलमा नयाँ स्थापना गरिएको ‘चेयर लिफ्ट’ को सार्वजनिक रूपमा उद्घाटन गर्नुहुने कार्यक्रम रहेको थियो । प्रधानमन्त्री सरिफ आफ्नै विमानबाट नाल्टार जाँदै गरेको अवस्थामा उहाँलाई दुर्घटनाको समाचार दिइएको थियो । उक्त जानकारी प्रधानमन्त्री कार्यालयले एक विज्ञप्तिमार्फत दिएको हो । दुर्घटनापछि प्रधानमन्त्री इस्लामाबाद फर्कनुभएको बताइएको छ ।

पाकिस्तानका विदेश मन्त्रालयले ३० भन्दा बढी मुलुकका कूटनीतिक नियोगका प्रमुख, उनीहरूका परिवारका सदस्य र केही पाकिस्तानी उच्च पदाधिकारीहरू पनि सी–१३० विमानबाट गिलगिट नगरतर्फ गएको जानकारी दिएको छ ।

गिलगिटबाट उनीहरूलाई चार हेलिकप्टरमा भ्रमणका लागि नाल्टारतर्फ लगिएको मन्त्रालयको एक विज्ञप्तिमा उल्लेख गरिएको छ ।

फिलिपिन्सको विदेश मामिला मन्त्रालयका प्रवक्ता चाल्र्स होजेले आफ्नो सरकारले राजदूत डोमिङ्गो लसेनारियो जुनियरको मृत्यु भएको विषयमा पाकिस्तानी सरकारको सूचनालाई रुजु गरिरहेको जानकारी दिएको छ । नर्वेका विदेश मन्त्रालयले आफ्ना राजदूत लिफ एच लार्सनको मृत्युका विषयमा तत्कालै टिप्पणी नगर्ने जानकारी दिएको छ ।

पाकिस्तानका लागि रोमानियाका राजदूत एमिलियान आइओन पनि उक्त हेलिकप्टरमा रहनुभएको र उहाँ जीवितै रहनुभएको रोमानियाली विदेशमन्त्राले जानकारी दिएको छ । इस्लामावादस्थित अमेरिकी दूतावासका सहायक प्रवक्ता पोप थ्रोअरले यस भ्रमणमा अमेरिकी दूतावासका कर्मचारीले भाग नलिएको जानकारी दिनुभयो ।

पाकिस्तानी प्रधानमन्त्री सरिफले आफ्नो विज्ञप्तिमा उक्त दुःखद घटनाप्रति गहिरो दुःख व्यक्त गर्नुभएको र उहाँले यस दुर्घटनामा जीवन गुमाउनेप्रति हार्दिक समवेदना प्रकट गर्नुभएको उल्लेख गरिएको छ ।

प्रधानमन्त्री सरिफले एक दिनको राष्ट्रिय शोक घोषणा गर्नुभएको उहाँको कार्यालयले उल्लेख गरेको छ । कार्यालयले घाइते कूटनीतिज्ञ तथा मृतकका शवलाई इस्लामाबाद ल्याइने प्रक्रिया भइरहेको जानकारी दिएको छ ।

पाकिस्तानको तालिवानले एक विज्ञप्ति प्रकाशन गरी उनीहरूले विमानभेदक क्षेप्यास्त्र प्रयोग उक्त हेलिकप्टर झारेको दाबी गरेको छ । यो दावी असम्बन्धित घटनामा जिम्मेवारी वहन गर्ने अवसरवादी क्रियाकलाप हो वा होइन भन्ने सम्बन्धमा परीक्षण गर्ने कार्य हाल सम्भव नदेखिएको बताइएको छ । पाकिस्तानको प्रतिरक्षामन्त्री ख्वाजा मुहमद असरफले तालिवानको दाबीको कुनै उल्लेख नगरी प्राविधिक घटबडीका कारण उक्त दुर्घटना भएको प्रारम्भिक प्रतिवेदनमा देखिएको बताउनुभएको छ ।

पाकिस्तानको सुरक्षा सेना मुलुकको उत्तरपूर्वी तथा अफगानिस्तानसँग जोडिएको भागमा लडाकूहरूसँग युद्ध गरिरहेको छ । पाकिस्तानको उत्तरी वजिरिस्तानको आदिवासी क्षेत्रमा गत वर्षदेखि सेनाले व्यापक कारवाही गरेको छ र त्यसमा एक हजार २०० भन्दा बढी लडाकूको मृत्यु भएको जानकारी दिइएको छ ।