रि गाविसबाट विस्थापित भएकाहरु पोखरामा

714 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

ROTARY photoहरि पन्त
पोखरा
धादिङ जिल्लाको उत्तरी क्षेत्र रि गाविसबाट विस्थापित भएर करिब २५ घर परिवार पोखरा पुगेका छन् । वैशाख १२ गते  आएको महाभूकम्पका कारण रि गाविस वडा नं. ४, ५ र ७ पहिरोको उच्च जोखिममा परेपछि त्यहाँका स्थानीय विस्थापित भएर पोखरा पुगेकाहुन् । उनीहरु पोखराको टुँडिखेल, बगर, धारापानी क्षेत्रमा आश्रय लिएर बसेका छन् । विस्थापितहरुका अधिकांश बालबालिका, गर्भवती महिलाका साथै वृद्ध–वृद्धा र युवा रहेका छन् । रि गाविसको अन्य क्षेत्रका वासिन्दा समेत विस्थापित हुनेक्रम जारी रहेको बताइन्छ ।

             त्यहाँबाट विस्थापित भएकाहरु पोखरा र चितवन लगायतका शहरहरुको विभिन्न स्थानमा आश्रय लिएर बसिरहेका छन् । भूकम्पका कारण गाविसका सबै भौतिक संरचना ध्वस्त हुनुका साथै माथिबाट निरन्तर ढुङ्गा खस्ने र तलबाट निरन्तर पहिरो गएका कारण आफूहरु विस्थापित भएको त्यहाँबाट पोखरा आएका पीडितहरुले दुःखेसो पोखे । ‘भूकम्प आएको दिन पूरै पृथ्वी नै ढल्ला जस्तो गरि हल्लियो, हेर्दा हेर्दै डाँडो खस्यो, घरहरु सबै भत्कियो, धेरै मान्छेलाई घरले पु¥यो ।’ विस्थापित भइ पोखरा आएका एक अशोक लामा तामाङ्गले भने–‘रि गाविसका सबै भूभागमा ठूला–ठूला चिराहरु परेका छन्, घर, खेतबारीहरु सबै पहिराले पुरेको छ । खाने अन्नपात केही छैन । बस्ने ठाउँ छैन । पाल टाँगेर बस्यौं भने कतिबेला कुन डाँडो खसेर सबैलाई लैजाने हो भन्ने डरैडर छ । अहिले त जेनतेन बाँचियो । अब पनि त्यहाँ बसियो भने अबको बर्खामा पूरै पहिरोले लैजान्छ भन्ने लागेर हामी पोखरा आएका हौं ।’ ‘म लगायत धेरै साथीहरु कक्षा १२ को परीक्षा दिने तयारीमा थियौं । कति त घर र पहिरोमा पुरिए । बाँचेका हामीले पनि परीक्षा दिनबाट बञ्चित भयौं’ राहत टोली र धादिङ समितिको पदाधिकारीप्रति लक्षित गर्दै उनले थपे–‘हामीहरु तपाइँहरुको संरक्षणमा आएका छौं । तपाइँहरु हाम्रा लागि भगवान हुनुहुन्छ । तपाइँहरुले ठूलो मद्धत गर्नुभयो, यसप्रति हामी कृतज्ञ छौं । राहतले त हामीलाई २÷४ दिन पुग्ला तर सधैं राहतको भरमा बस्यौं हो भने हामी थप विचल्लीमा पर्छौं । हामीलाई राहत होइन हात मुख जोर्ने काम दिनुस्, हामी काम गर्न तैयार छौं ।’ उनले भूकम्प गएपछि सरकारले उद्धार कार्यबाहेक अन्य केही सहयोग नगरेको दुःखेसो पोखे ।
यसैबीच त्यहाँबाट विस्थापित भइ पोखरा आएका रि गाविस वासीलाई राहत प्रदान गरिएको छ । पोखरा क्लव अफ रोटरी फिस्टेलले उक्त राहत सामाग्री प्रदान गरेको हो । धादिङ पोखरा सम्पर्क समितिका पदाधिकारी, पोखरा उद्योग वाणिज्य संघका प्रतिनिधि समेत सहभागी भएको उक्त कार्यक्रममा विस्थापित रि गाविसवासीलाई त्रिपाल, चामल, दाल, तेल, आलु, भाँडाकुँडा, लगायतका सामाग्री वितरण गरिएको थियो । विन्ध्यवासिनी मन्दिरको पार्कमा  आयोजित एक कार्यक्रमका बीच करिब एक लाख २५ हजारको राहत प्रदान गरिएको क्लवका अध्यक्ष रमाकान्त बालले जानकारी दिए । कार्यक्रममा धादिङ पोखरा सम्पर्क समितिका अध्यक्ष झम्क सारु मगरले विस्थापित भएर पोखरा आइपुगेका र आउँदै गरेको दाजुभाई तथा दिदीबहिनीहरुलाई सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए । कार्यक्रममा क्लवका अध्यक्ष रमाकान्त बराल, पोखरा उद्योग वाणिज्य संघ कार्यसमिति सदस्य सीता गुरुङ्ग, रोटरी क्लवका तेज गुरुङ्ग, जयन्द्र गौचन, चन्द्र सुवेदी, बावुराम पाठक, शिव पराजुली, प्रेम बहादुर थापा लगायतले विस्थापित धादिङवासीका लागि शिक्षा, स्वासथ्य, रोजगार, तालिम लगायत विविन्न क्षेत्रबाट सक्दो सहयोग गर्ने बताएका थिए ।