घर आउंछु भनेकै दिन भुकम्पमा परेर मरे बिष्णुहरी

696 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ- मुरलीभञ्ज्याङकी शोभा लम्साल वैशाख १२ पछि अझै राम्रोसँग बौरिएकी छैनन्। बेहोस जस्तै छिन्। भूकम्पले उनको परिवारको एकमात्रै आधार श्रीमान् विष्णुहरीलाई खोस्यो। एकातिर श्रीमान् गुमाउनुपर्दाको पीडा अर्कोतिर परिवार पाल्ने जिम्मेवारी थपिएको छ।
तर, अझै आफूलाई बलियो बनाउन भने सकेकी छैनन् उनले। उत्तरी धादिङको रि गाविसमा पर्ने देउराली प्राथमिक विद्यालयको प्रधानाध्यापक थिए शोभाका श्रीमान् विष्णुहरी। विद्यालयबाट एक दुई महिनामा घर आउँथे। धेरैजसो शुक्रबार बेलुका घर आइपुग्थे।
वैशाख १२ गते भने आइतबारको लागि घर आउने योजना बनाएका थिए विष्णुहरीले। ‘भोली बिहानै आउँछु, आज नुवाईधुवाई गर्नुछ भनेर फोन गर्नुभाथ्यो’ भावविह्वल शोभाले भनिन्, ‘त्यो भोली अब कहिल्यै आउँदैन।’
Shovaनयाँ शैक्षिक सत्रमा आवश्यक पर्ने पुस्तक किनेर लैजाने योजनासहित विष्णुहरीले परिवारलाई आईतबार मात्रै घर आउने बताएका थिए। तर, वैशाख १२ गतेको भूकम्पले विष्णुहरीलाई उनी बस्ने घरमा पुर्यो। उनीसँगै ४ जना शिक्षक पनि पुरिए।
विष्णुहरीका दाजु शिवहरी लम्सालले भने, ‘पुस्तक पसलमा किताबको लागि पैसा पनि तिरिसकेको थियो। किताब लैजानु त कहाँ, ज्यानै लग्यो भूकम्पले।’
विष्णुहरीका २ छोरा छन्। कक्षा २ र ७ मा पढ्ने छोराको कसरी पढाइ अघि बढाउने अझै सोच्न सकेकी छैनन् शोभाले। ‘उहाँ स्कूल पढाउनुहुन्थ्यो, म दुई छोरालाई स्कूल पठाउँथे, खेतीपाती गरेर बसेको थिएँ’ शोभाले थपिन्, ‘अब मैले यी चिचिला २ छोरा कसरी पढाउनु, हुर्काउनु?’
Shova 2श्रीमान् मरेका मात्रै होइन भूकम्पले शोभा बस्ने २ कोठे माटोेको घर पनि भत्काइदिएको छ। हेर्दा घर ढलिसकेको छैन, तर भित्रभित्रै चिरिएर बस्न नमिल्ने भएको छ। तर, सरकारका तर्फबाट उनले कुनै राहत पाएकी छैनन्।
भूकम्पमा परि मृत्यु भएका परिवारलाई सरकारले काज किरियाको लागि ४० हजार रुपैयाँ दिने भनेपनि उनले पाएकी छैनन्। न त भूकम्प पीडितका लागि भनेर जाने राहत शोभाको परिवारसम्म पुगेको छ। शोभा भन्छिन्, …आफू नै सम्हालिन सकेकी छैन म कहाँ राहत खोज्न जाने?’
आईतबारसम्म धादिङमा मृत्यु हुनेको संख्या ७ सय २७ जना पुगेका छन्। ती मध्ये महिला २५३ र बालिका १३० जना छन्। मृत्यु भएकामध्ये सबैको परिवारलाई अझै राहत र किरियाखर्च पुगेको छैन।
धादिङका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे पहिलो चरणमा बाँडिएको किरिया खर्च अपुग भएकोले गृह मन्त्रालयबाट आएपछि पुन बाँडिने बताउँछन्। राहत भने सबैजसो स्थानमा पुगेको उनको भनाई छ।

– प्रतिमा सिलवाल/ संचारिका अनलाइनबाट