भूकम्प प्रभावित ५ जिल्लामा नमुना पर्यटकीय गाउँ बनाउने घोषणा

650 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

एक्लै ट्रेकिङ जान रोकिने, पर्यटन पुनरुत्थान गर्न कोष खडा

काठमाडौं – पर्यटन पुनरुत्थानका लागि भूकम्प प्रभावित पाँच जिल्लामा एक/एक वटा नमुना पर्यटक गाउँ बनाइने भएको छ । पर्यटन मन्त्रालयले पाँचवटा पर्यटक गाउँ बनाउने कार्ययोजना राष्ट्रिय योजना आयोगमा प्रस्तुत गरेको छ ।

शहरी विकास मन्त्रालयसँग सहकार्य गरेर पर्यटक गाउँ बनाउने तयारी भइरहेको पर्यटन विभागका महानिर्देशक तुलसीप्रसाद गौतमले बताए । भूकम्प प्रभावित जिल्लाहरु गोरखा, धादिङ, सिन्धुपाल्चोक र दोलखामा पर्यटकीय गाउँ बनाउन लागिएको हो ।

‘यी जिल्लामा भूकम्पको प्रभाव नपरेका गाविसलाई पर्यटकीय गाउँ बनाउने योजना छ’ महानिर्देशक गौतमले भने- ‘पर्यटक गाउँका रुपमा विकास गर्न त्यहाँ निजी क्षेत्रलाई अनुदान तथा अन्य सेवा सुविधा उपलब्ध गराउँछौं ।’

यी जिल्लाहरु मुलुकका पर्यटकीय गन्तव्य मानिन्छन् । गोरखा र रसुवा जिल्लामा पर्ने लाङटाङ, गोरखाकै मनास्लु क्षेत्र भूकम्पबाट तहसनहस भएको छ भने सिन्धुपाल्चोक र दोलखा जिल्लाका धेरै पर्यटकीय क्षेत्रहरु प्रभावित भएका छन् । भूकम्पले ध्वस्त भएका पर्यटकीय क्षेत्रको विकल्पका रुपमा नयाँ गन्तव्य विकास गर्न लागिएको हो ।

रसुवाको लाङटाङ, गोरखाको मनस्लु, सिन्धुपाल्चोकको हेलम्बु र दोलखाको गौरिशंकरलाई पर्यटक गाउँका रुपमा विकास गर्न लागेको पर्यटन विभागले जनाएको छ ।

बाँकी प्रभावित जिल्लाहरुमा पनि नमुना पर्यटकीय गाउँ बनाउँदै जाने महानिर्देशक गौतमले बताए । केही पर्यटकीय गन्तव्यहरुमा होमस्टे तयार गरेर पर्यटक आकषिर्त गर्ने योजना बनाइएको छ । भूकम्पले धेरैजसो होटलहरु भत्किएका छन् ।

पर्यटन पुनरुत्थान कोष

पर्यटन पुनरुत्थानका लागि नेपाल पर्यटन बोर्डबाट बीउ पूँजी १० करोड रुपैयाँ राखेर कोष स्थापना गर्ने विभागका उप-महानिर्देशक रमेश कुमार अधिकारीले बताए । अविलम्ब बैंक खाता खोलेर कोषमा सहयोग पुर्‍याउन विकास साझेदार, शुभ चिन्तक तथा अन्तर्राष्ट्रिय संघ-संस्थालाई आहृवान गर्ने बोर्डको कार्यकारी समितिको बैठकले निर्णय गरिसकेको छ ।

पर्यटन पुनरुत्थानका लागि सार्वजनिक निजी साझेदारीको साझा संयन्त्रका रुपमा पर्यटन पुनरुत्थान समिति (टीआरसी) गठन गरिएको छ । यो समितिले पर्यटन पुनरुत्थानका लागि मुख्य परामर्श संयन्त्रका रुपमा काम गरिरहेको छ ।

पर्यटनसँग सरोकार राख्ने सरकारी तथा निजी संघ-संस्थाहरु टीआरसीमा सहभागी रहेका छन् । सबै निकायले आ-आफ्नो क्षेत्रमा भूकम्पले पुर्‍याएको क्षति र पुनरुत्थानका लागि उपयूक्त उपायहरु खोजी गर्ने टीआरसीका प्रवक्ता सुमन पाण्डेले बताए ।

ट्रेकिङमा पहिलो प्राथमिकता

भूकम्पले विभिन्न पदयात्रा (ट्रेकिङ) रुटहरु ध्वस्त भएका छन् । यी ट्रेकिङ रुटहरु मर्मत सम्हार गरी सुचारु गर्न सरकार प्रयासरत रहने विभागका उपमहानिर्देशक अधिकारीले दाबी गरे ।

‘प्रमुख ट्रेकिङ रुटहरु ठाउँ-ठाउँमा बिगि्रएका छन्, कतिपय ठाउँमा धेरै बिग्रिएका छन्, कतिपय ठाउँमा थोरै मर्मत गरेर सुचारु गर्न सकिन्छ’ अधिकारीले भने- ‘अलिअलि बिगि्रएको रुट मर्मत गरिन्छ, धेरै बिगि्रएको रुटमा नयाँ बाटो खोलिन्छ ।’

विभिन्न ठाउँमा गरी करिव ३५० किलोमिटर टे्रकिङ रुटमा भूकम्पले क्षति पुर्‍याएको छ । यो खोल्नका लागि करिव ३ करोड रुपैयाँ आवश्यक पर्ने महानिर्देशक गौतमले बताए ।

लाङटाङ र मनास्लु क्षेत्रमा अझै मान्छे पठाउन नसकेको बताउँदै गौतमले यो क्षेत्रमा भएको भौतिक क्षति आंकलन गर्न नसकिएको बताए । राजधानी नजिक रहेको प्रमुख पर्यटकीय गन्तव्य लाङटाङ र मनास्लुमा धेरै पहिरो गएको छ ।

गाइडबीना ट्रेकिङ जान नपाइने

नेपालका मनास्लु र लाङटाङ क्षेत्र भूकम्पबाट प्रभावित भएपनि खुम्बु र अन्नपूर्ण क्षेत्र सुरक्षित नै रहेका छन् । यो कुरा विदेशी पत्रकार निमन्त्रणा गरेर अन्तर्राष्ट्रिय जगतमा फिँजाउने महानिर्देशक गौतमले बताए ।

Sagarmatha-Tourist-Bhukampa-final

भूकम्प प्रभावित क्षेत्रमा जोखिमपूर्ण रहेको हुँदा एक्लै पदयात्रा गर्न स्वीकृति नदिने विभागले योजना बनाएको छ । ‘अब एउटा व्यक्तिलाई पदयात्रा गर्न स्वीकिृत दिँदैनौं, ट्रेकिङका लागि दुई वा सोभन्दा बढीको समूह हुनुपर्छ’ गौतमले भने- ‘हरेक समूहमा एउटा तालिम प्राप्त गाइड अनिवार्य हुनुपर्ने छ ।’

आगामी सिजन ‘मिस’ नहोस् !

भूकम्पले अहिलेको सिजन प्रभावित भएपनि आगामी सेप्टेम्बर देखि सुरु हुने सिजन ‘मिस’ गर्न नहुने टीआरसीका प्रवक्ता पाण्डेले बताए । ‘विदेशमा पनि यस्ता किसिमका विपत्तीहरु हुने गर्छन्, तर उनीहरु छिट्टै पुनरुत्थानमा जुटेर क्षति कम गरेको पाइन्छ’ पाटा नेपाल च्याप्टरका अध्यक्षसमेत रहेका पाण्डेले भने- ‘हामीले पनि विदेशी मुलुकबाट पाठ सिकेर काम गर्नु जरुरी छ ।’

भूकम्प आएपछि भ्रमणमा आउने पर्यटक घटेपनि भोलेन्टियरका रुपमा आउने विदेशीहरु बढेको पाण्डेले बताए । आगामी सिजनमा नियमित भ्रमणमा आउने पर्यटकलाई कम हुन नदिन सरकार निजी क्षेत्र सक्रिय रहनुपर्नेमा उनको जोड थियो ।

नेपालको पर्यटन पुनरुत्थानका लागि पाटा इन्टरनेशनले सहयोगी हात बढाउने पाण्डेले बताए । ‘ पाटा इन्टरनेशनलले पर्यटन पुनरुत्थानमा सघाउने बचन दिइसकेको छ, यसका लागि विशेषज्ञ टोली छिट्टै नेपालमा आउँदैछ’ उनले भने- ‘पाटा इन्टरनेशनले विभिन्न देशको पर्यटन पुनरुत्थानमा सहयोग गरेको हुँदा नेपालमा पनि प्रभावकारी भूमिका खेल्ने छ ।’

पर्यटक बढ्ने विश्वास

भूकम्पको धक्का कम भएपछि पर्यटक आगमन बढ्ने विश्वासमा सरकार तथा निजी क्षेत्र रहेको छ । ‘भूकम्प गएको एक हप्ता अन्तर्राष्ट्रिय एयरलाइन्सहरुले यात्रु नपाएर उडान कटौती गरेका थिए, त्यतिबेला २५/३० जनाभन्दा बढी यात्रु थिएनन्’ गौतमले भने- ‘विस्तारै त्यो संख्या बढेर ६०/७० मा पुगेको थियो, तर मंगलबारको ठूलो धक्काले पुनः घटाइदियो ।’

एयरलाइन्सहरुको यो तथ्यांकबाट भूकम्पको धक्का कम भएपछि विदेशीहरु नेपाल भ्रमणमा आउँछन भन्ने संकेत दिएको गौतमको भनाई छ । हामीले धक्का आउन छाडेको र नेपाल भ्रमणका लागि सुरक्षित रहेको सुचना अन्तर्राष्ट्रिय जगतमा फिँजाउनु जरुरी रहेको छ ।

सम्पदा खुलाउन प्रयत्नशिल

भूकम्पले क्षतिग्रस्त भएका काठमाडौं उपत्यकाका ऐतिहासिक सम्पदा स्थल, साँस्कृतिक केन्द्र र दरबार क्षेत्रलाई पर्यटकले अवलोकन गर्न पाउने गरी सूचना, सुरक्षा र सुविधाको प्रबन्ध गरी अवलोकनका लागि खुल्ला गर्न प्रयत्नशिल रहेको उपमहानिर्देशक अधिकारीले बताए । यही विषयमा आइतबार पुरातत्व विभागमा सरोकारवाला निकायबीच वैठक समेत भएको थियो ।

भूकम्पबाट ५ सय २१ वटा सम्पदा क्षतिग्रस्त भएका छन् । ठूलो धक्का आएमा ढल्न सक्ने अनगिन्ती सम्पदाहरु रहेका छन् । यी सम्पदाहरुको संरक्षण तथा पुनर्निर्माण गरी अवलोकनका लागि खुल्ला गर्नका लागि धेरै काम गर्नुपर्ने देखिएको उपमहानिर्देशक अधिकारीले बताए ।

भूकम्प पीडितलाई ५ करोड

पर्यटन बोर्डले भूकम्प पीडितलाई ५ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । वैशाख ३१ गते बसेको बोर्डको कार्यकारी समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

यो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमार्फत पीडितलाई खर्च गरिने छ । छिट्टै यो रकम प्रधानमन्त्री सुशील कोइरालामार्फत कोषमा हस्तान्तरण गरिने बताइएको छ ।

प्रोत्साहनका कार्यक्रम जरुरी

पर्यटन पुनरुत्थानका लागि निजी क्षेत्रलाई प्रोत्साहन दिनुपर्ने, निजी क्षेत्रबाट पर्यटकलाई सहुलियत दिनुपर्ने, सरकारले लगानउने शुल्कमा सहुलियत प्रदान गर्नेजस्ता विषयमा पर्यटन क्षेत्रका सरोकारवालासँग निरन्तर छलफल तथा परामर्श भइरहेको छ ।

यसका लागि निजी क्षेत्रबाट पर्यटकलाई सहुलियत प्रदान गर्ने विषयमा पर्यटन क्षेत्रका छाता संस्थाहरुसँग जेठ ६ गतेसम्म सुझाव माग गरिएको विभागले जनाएको छ ।

पर्यटन बोर्डले असजह परिवेशमा पर्यटक भ्रमणमैत्री परिस्थिती निर्माण गर्न खल्नुपर्ने भूमिकाका बारेमा पनि छलफल भइरहेको बताइएको छ । नेपालमा पर्यटकको आगमनलाई क्रमशः वृद्धि गर्न रुची जगाउने र विश्वास बढाउने काममा सञ्चारमाध्यमलाई निरन्तर सूचना दिने काम भइरहेको छ ।

आशन्न कैलाश भ्रमण र आगामी शरद ऋतुलाई लक्षित गर्दै विशेष प्रवर्द्धन योजना तर्जुमा र कार्यान्वयन गर्न बोर्डबाट गृहकार्य सुरु भइसकेको जानकारी दिइएको छ ।

-अनलाइन खबर बाट