वैदेशिक रोजगारीमा ६३ करोड ठगी

632 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Bidesकाठमाडौं, – चालु आर्थिक वर्षको १० महिनामा वैदेशिक रोजगारीको नाममा ६३ करोड २७ लाख ५७ हजार आठ सय ५७ रुपैयाँको ठगी भएको छ । यो अवधिमा विभागमा परेको दुई हजार तीन सय तीनवटा उजुरीमा उक्त शुल्कबराबरको ठगीको बिगो दाबी गरिएको छ सौर्य दैनिकले खबर छापेको छ ।
उक्त ठगीमा विभागले पीडितलाई १० करोड ८७ लाख ४८ हजार चार सय रुपैयाँ बिगो भराएको वैदेशिक रोजगार विभागले जनाएको छ । विभागमा दर्ता भएका दुई हजार तीन सय तीनवटा उजुरीमा पाँच सय ४० उजुरी फरफारक भएको छ भने एक सय ३१ उजुरीको अदालतमा मुद्दा दायर भएको विभागले जनाएको छ । उक्त उजुरीमा २६ करोड ४३ लाख ६९ हजार एक सय ४६ रुपैयाँ अदालतमा बिगो दाबी गरिएको छ । विभागमा परेको उजुरीमा एउटा उजुरीबाट पीडितलाई एक लाख रुपैयाँ बिगो भराएको छ । विभागमा वैशाखसम्ममा एक हजार ६ सय सातवटा उजुरी परेका छन् । जसमा वैशाख महिनामा मात्र ८८ वटा उजुरी परेका छन् । एक करोड २३ लाख ६६ हजार पाँच सय ४६ रुपैयाँबराबरको बिगो दाबी गरिएको छ । उक्त उजुरीमा १६ वटा उजुरीको फरफारक गर्दै विभागले नौ लाख ३० हजार रुपैयाँ पीडितलाई बिगो भराएको छ । संस्थागत (मेनपावर) तर्फको कुनै पनि उजुरीको अदालतमा मुद्दा दायर भएको छैन । यस्तै व्यक्तिगततर्फ विभागमा वैशाखसम्म ६ सय ९६ उजुरी दर्ता भएका छन् । जसमा वैशाखमा मात्र २० वटा उजुरी परेका छन् । उक्त उजुरीको बिगो दाबी एक करोड ३९ लाख ८६ हजार रुपैयाँ रहेको जनाएको छ । जसमा विभागले २१ लाख ९० हजार रुपैयाँबराबरको बिगो भराएको छ । वैशाखमा विभागले एउटा मात्र उजुरी फरफारक गरेको छ भने अदालतमा १४ वटा उजुरी दर्ता गराएको छ । अदातलमा दायर गरेको उक्त मुद्दाको बिगो दाबी २४ करोड ४२ लाख ६ हजार ६ सय ७५ रुपैयाँ रहेको छ ।
विभागका अनुसार १२ वैशाखको भूकम्पका कारण विभागमा आउने उजुरीको संख्यामा कमी आएको छ । विभागमा आएको उजुरीलाई आधार मान्दा व्यक्तिगतको तुलनामा संस्थागत बढी रहेको छ भने पैसालाई आधार मान्ने हो भने संस्थागतको तुलनामा व्यक्तिगत बढी रहेको छ । विभागमा आउने संस्थागततर्फको उजुरीमा मेनपावर व्यवसायीले राहदानी लिएर समयमै विदेश नपठाएको, विदेशमा गएर भनेको काम, सेवासुविधा, तोकेको तलब नपाएको, कम्पनी तथा काम फरक परेको जस्ता उजुरी आउने गरेका छन् । यस्तै व्यक्तिगततर्फका उजुरीमा घरजग्गा कारोबार, ढुकुटी, व्यक्तिगत लेनदेन, कन्सल्टेन्सीहरूले विदेशमा अध्ययन तथा रोजगारीका लागि पठाउनेलगायतका उजुरी आउने गरेका छन् । उजुरी तथा अनुसन्धान शाखाका निर्देशक उमाकान्त पौडेलले भने, ‘पछिल्लो समयमा आएको व्यक्तिगततर्फका उजुरीमा ढुकुटीको उजुरी घटेको छ, कन्सल्टेन्सीले ठगेको उजुरी बढेको छ ।’ व्यक्तिगततर्फका उजुरीमा विभागले पीडकलाई नेपाल प्रहरीको सहायतामा पक्राउ गरेर अदालतमा उजुरी हाल्ने गरेको छ । यस्तै संस्थागततर्फ विभागले पीडकलाई विभागमा बोलाएर पीडितलाई क्षतिपूर्ति भराउने गरेको छ । विभागले तोकेको समयमा उपस्थित नहुने व्यवसायीको कारोबार रोक्का गर्ने गरेको छ । (सौस)