भूकम्पले मुहान भासिएपछि खानेपानी हाहाकार

727 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

1धादिङ, – सल्यानटारका बासिन्दाहरुलाई भुकम्पपछि खानेपानीको समस्या थपिएको छ । कतै पहिरोले पाईप बगायो भने कतै मुहान भासिसएर, मुहान सुकेर, रिजर्भ ट्याङ्की फुटेर २१ गाउँमा पानीको समस्या भएको छ । २१ बस्तीमा ८ हजार जनसंख्या रहेको सल्यानटारमा आपूर्ति हुँदै आएका ४ वटा मुहान र ट्याङ्की भासिएपछि पानी घटेको हो ।

बुढीगण्डकी र नेत्रावति (आँखु) नदिबीचको सल्यानटारका तत्कालीन १९ बस्तीहरुलाई २०३३ सालमा ८० वटा धारा दिएर आगिन्चोकबाट खानेपानी आयोजना सञ्चालन भएको थियो । अहिले बस्ती बिस्तार भएर जनसंख्या वृद्धि भइसक्दा पनि पानीको आपूर्ति भने उस्तै छ । त्यसमाथि भूकम्पपछि आएको पहिरोले पाइप बगाएपछि स्थानीयलाई संकट परेको छ ।

‘आगिन्चोकका ४ वटै मुहान भासिएर ३ किलोमिटर तलको आँखुखोलामा निस्केपछि खानेपानी हाहाकार भएको छ,’ सल्यानटारका पूर्व गाविस अध्यक्ष फणिकान्त छत्कुलीले बताए । पहिरोले फलामे पाईपका जोड भाँचेको उनले बताए ।

माथिल्लो सल्यानटारका ३ वटा वडाका ७ सय घरधुरीले सिकटारमा निर्माण गरिएको रिजर्बवायर ट्याङ्की पनि भुकम्पपछि छेउमै गएको पहिरोले चर्केको छ । ‘हरेक दिन ४८ हजार ग्यालीन पानी भर्नु पर्ने उक्त ट्याङ्कीमा अहिले आधा पनि भरिदैन, पानी त कता छिर्‍यो कता ?’ ट्याङ्की हेरचाह गर्ने र दैनिक पानी खोल्ने जिम्मा पाएका प्रेमनारायण श्रेष्ठले बताए ।

सल्यानटारका छेउका ५ वटा वडाका वासिन्दाहरु अहिले बुढीगण्डकी छेउ कान्लामा रहेका तुरतुरे मुहानमा निर्भर भएका छन् । गर्मी बढ्दै गएपछि भीरपाखाका धारा र कुवा पनि सुक्ने खतरा भएको छ । बुट्टार पाखाको ठूलो पधेंरोमा भूकम्पपछि पानी आधा घटेको छ । यो मुहानसँगै रहेका ३ वटा साना मुहानबाट १ देखी ४ नंवर वडाका दराई र कुमाल वस्तीका १६ सय घरधुरीले दैनिक पानी ओसार्छन् ।

‘भीरको डिलमा रहेको यो मुहानबाट घरसम्म पानी ओसार्न ४ देखि ६ घण्टा कुर्नु पर्छ,’ सल्यानटार–४, अर्गौताकी गृहणी कालु दरैले बताईन् । ‘पानीको पालो कुर्न बिहानै केटाकेटीलाई पठाउनु पर्छ,’ उनले भनिन् ई कान्तिपुर डट कममा खबर छ ।  खबर छ ।