शब्द चिन्तनले हिन्दूराष्ट्रको लागि प्रधानमन्त्रीलाई ज्ञापन–पत्र बुझायो

756 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । शब्द चिन्तन संरक्षण मण्डलको एक प्रतिनिधिमण्डलले मङ्गलवार प्रधानमन्त्री सुशिल कोइरालालाई भेटेर अब बन्ने संविधानमा हिन्दूराष्ट्र उल्लेख गर्नुपर्ने माग राख्दै ज्ञापन पत्र बुझाएको छ । शब्द चिन्तन संरक्षण मण्डलका प्रधानसंरक्षक स्वामी दुर्गादास जी महाराजको नेतृत्त्वमा गएको सो प्रतिनिधि मण्डलले प्रधामन्त्री कोइरालालाई प्रधानमन्त्री क्वाटर बालुवाटारमा भेट गरेको थियो । स्वामी दुर्गादासको हस्ताक्षर रहेको सो ज्ञापनपत्रमा नेपाललाई हिन्दूराष्ट्र कायम गर्नपर्ने कारणहरुलाई दर्शाइएको छ ।
प्रधानमन्त्रीलाई ज्ञापन-पत्र बुझाउँदै .ज्ञापनपत्रमा राष्ट्रियताका सबै अङ्गलाई जोडेर पूर्ण राष्ट्रियताको विशालता दिनसक्ने सनातन हिन्दू धर्म र विश्वमै एकमात्र हिन्दूराष्ट्रको प्रतिष्ठित परिचयलाई नै यो देशको सर्वश्रेष्ठ पहिचानको रूपमा लिनुपर्ने, विविधतामा रहेको नेपाली संस्कृति, परम्परा, सभ्यतालाई आपसमा जोडेर राष्ट्रिय एकताको रूपमा बाँधेर राख्ने क्षमता हिन्दूराष्ट्रमा बाहेक अन्यमा अपेक्षा गर्न नसकिने देखिएको र यो चिनारीलाई संरक्षण एवम् सदुपयोग गरेर बढीभन्दा बढी उपलब्धि लिने दुरदृष्टि राख्नसक्नु वास्तविक राष्ट्रियता हुने बताइएको छ ।
सोही मर्मलाई आत्मसात गरेका नेपाली नागरिक अहिले विश्वको एकमात्र हिन्दूराष्ट्रको महान् पहिचानलाई बचाउन सडकमा ओर्लेर आवाज उठाइरहेको, राजनीतिक भाषामा धर्मलाई बुझ्ने दृष्टिकोणमा परिवर्तन ल्याउन पर्ने, सनातन धर्मको वास्तविकता, विश्वकै अगाडि हिन्दूराष्ट्रको चिनारीले नेपाललाई दिँदै आएको महान् परिचय र अब पनि दिनसक्ने उपलब्धिको बारेमा चिन्तन गरी सर्वाङ्गिण विकासमा यसबाट प्राप्त गर्न सकिने सम्भावनाहरूको आँकलन गरी त्यसको योजनात्मक व्यहोराले संविधानमा यसलाई सम्बोधन गर्नु हितकर हुने र राजनीतिक व्यवस्था पद्धति तथा सिद्धान्तले निर्देश गर्ने धर्मनिरपेक्षता वा धार्मिक स्वतन्त्रताभन्दा पनि माथि उठेर विहङ्गम् स्वतन्त्रताको सिद्धान्त राखेको सनातन हिन्दू धर्मदर्शनको मर्मलाई बोध गरी संविधानमा सनातन हिन्दूराष्ट्र उल्लेख गर्नु बुद्धिमानी हुने सुझाव ज्ञापनपत्रमा उल्लेख छ ।
हिन्दूराष्ट्रलाई कायम गर्दै विश्वको सर्वश्रेष्ठ ज्ञान–विज्ञान वेद–वेदान्तको अध्ययन एवम् साधनाको मुख्यस्थलको रूपमा नेपाललाई विकास गरी यसको लागि यो भूमिलाई विश्वको गन्तव्य बनाउने र विश्वमै एकमात्र हिन्दुराष्ट्रको उद्घोष गर्दै धार्मिक पर्यटनको समेत विकास गरी देशको अर्थतन्त्रमा ठूलो टेवा पुर्याउने लक्ष्य लिन जरुरी भएको, जसरी पशुपतिनाथ, लुम्बिनीनाथ, मुक्तिनाथ, किराँतेश्वर, स्वर्गद्वारी, जनकपुरधामजस्ता धार्मिक स्थलहरू र सगरमाथा, जिवीत कुमारी (देवी) भएको देश आदि विशेषताले नेपाल विश्वमा चिनिएको छ त्यसै गरी विश्वमै एकमात्र हिन्दूराष्ट्र भन्ने परिचयले झनबढी यो मुलुकलाई चिनाउने र सो चिनारीमार्फत नेपालले पर्याप्त उपलब्धि हासिल गर्ने लक्ष्य लिनु उचित हुने समेत ज्ञापन पत्रमा लेखिएको छ ।
यशुक्राइष्टले समेत यही भूमि र यसको आसपासमा आएर सनातन धर्मको साधना गरी आत्मज्ञान प्राप्त गरेको तथ्यहरू फेला परेपछि अहिले सनातन धर्म र यो भूमिप्रति विश्वको ध्यानाकर्षण भइरहेको विषयलाई पनि ज्ञापनपत्रमा उल्लेख गरिएको छ । सेकुलर स्टेटको धारण पश्चिमी मुलुकमा चर्चका पादरीको चरम शोषणको कारणबाट आएको, त्यो स्थिति र नेपालको स्थिति फरक रहेको हुँदा पनि यहाँ धर्मनिरपेक्ष गर्न नपर्ने तर्फ ज्ञापनपत्रले संकेत गरेको छ ।
संसारमा धर्म–गुण निरपेक्ष केही पनि नहुने र सदियौंदेखिको हिन्दूराष्ट्रको पहिचान र परिचयलाई अक्षुण राख्दा नै सबैको लागि हितकर हुने, सबैभन्दा ठूलो पहिचानलाई हटाउने तथा मेटाउने मुर्खता गर्नु कुनै बहादुरी नभएर कायरताप्रद आत्मघाती गोल हुने सल्लाह शब्द चिन्तन संरक्षण मण्डलले ज्ञापन पत्रमार्फत दिएको छ ।
भगवान गौतम बुद्धले ‘यसो धम्मो सनन्तनो’ अर्थात धर्म भनेकै सनातन (हिन्दू) हो भनी गर्नुभएको उपदेशलाई स्मरण गर्दै सनातनभूमि, धर्मभूमि, देवभूमि, साधनाभूमि, तपोभूमि, अध्यात्मभूमि, बुद्धभूमि, शान्तिभूमि, योगभूमि, शँकुभूमि आदि विशेषताले विभूषित तीर्थमयी नेपाललाई हिन्दूराष्ट्रकै रूपमा कायम राखेर सृष्टिकै उत्कृष्ट धर्म सनातन हिन्दूधर्म वेद–वेदान्तको केन्द्रभूमि बनाई संसार भरीका सनातनीहरूको प्रमुख तीर्थको रूपमा स्थापित गर्नुको सट्टा धर्मनिरपेक्ष गरी यो मुलुकलाई विभिन्न तवरबाट अशान्ति बनाउन चाहने तत्त्वको षड्यन्त्र–चलखेल गराएर मुलुक पहिचानविहिन गराउन खोजिएको खतरा देखिएको शब्द चिन्तनको ठहर रहेको ज्ञापनपत्रले व्यक्त गरेको छ ।
धर्मनिरपेक्षताको नाममा बढेको धर्मान्तरण राष्ट्रान्तरणको सूचक भएको, यही तथ्यलाई बुझेर नेपाली जनताले अहिले हिन्दूराष्ट्रलाई नै कायम गरियोस भन्ने आवाज उठाइरहेको, यो जनचाहनालाई राजनीतिक दल तथा सम्बन्धित क्षेत्रले वेवास्ता गरेमा परिणाम राम्रो नदेखिने, जनचाहनालाई कदर नगर्ने कुनै पनि राजनीतिक शक्ति नटिकेको ईतिहासले पनि देखाइसकेको हुनाले जनावाजलाई वर्तमान राजनीतिक शक्तिले कदर गरुन भन्ने शब्द चिन्तन संरक्षण मण्डल, शब्द चिन्तन संघ, शब्द चिन्तन युवा संघ लगायतका धार्मिक एवम् आध्यात्मिक संघसंस्थाहरूको चाहना भएको स्वामी दुर्गादासले ज्ञापन पत्रमा उल्लेख गर्नु भएको छ ।
नेपालको परिवर्तन एवम् राजनीतिक उपलब्धिको लागि कतैबाट पनि बाधक भूमिका नगरेको हिन्दूराष्ट्र फ्याँकेर धर्मनिरपेक्षता गर्न खोजिनु नेपालको लागि दुर्भाग्य सावित भएको शब्द चिन्तनको मुल्याङ्कन रहेको देखिन्छ । कुनै पनि हालतमा नेपाली जनता धर्मनिरपेक्षता वा हिन्दूराष्ट्र विनाको धार्मिक स्वतन्त्रता स्वीकार गर्ने पक्षमा नदेखिएको, नेपाल र नेपालीको लागि अनावश्यक सावित देखिएको धर्मनिरपेक्षता परिवर्तन एवम् उपलब्धिलाई संस्थागत गर्न नदिने ठूलो काँडो बन्नसक्ने खतरा देखिएको, राजनीतिक परिवर्तनका धेरै चरणहरू पार गर्दै उज्वल भविष्यको प्रतिक्षा गरिरहेको नेपालीसमाजलाई एकाएक विधिविपरित घुसाईएको धर्मनिरपेक्षताले ठूलो भाँजो हालेको र यसले नेपालको भविष्यप्रति भयानक खेलवाड गरिरहेको हुनाले धर्मनिरपेक्षता हटाएर हिन्दूराष्ट्र कायम गरिएन भने नेपाल नेपालीको लागि दुर्भाग्यपूर्ण हुने सो ज्ञापनपत्रमा लेखिएको छ ।
ज्ञापनपत्रको अन्तिममा धर्मनिरपेक्षता रूपी आत्मघाती विषयबाट यो देशलाई उद्धार गर्न अब बन्ने संविधानमा सनातन धर्म ॐकार परिवार हिन्दू, बौद्ध, जैन, शिख, किराँत, प्रकृतिपूजक आदिको साझा अस्तित्त्व रहने गरी र मुस्लिमलगायतका समुदायसँगको सामाजिक सद्भाव सुनिश्चित हुने गरी यो देशलाई सनातन हिन्दूराष्ट्र नै कायम गर्न यहाँमार्फत यहाँको अध्यक्षतामा रहेको नेपाल सरकार एवम् सम्बन्धित पक्षसँग यस शब्द चिन्तन संरक्षण मण्डल हार्दिक अनुरोध गर्दछ, भनिएको छ ।
ज्ञापन पत्र बुझेपछि प्रधानमन्त्री कोइरालाले यसको विषयमा सकारात्मक रूपमा कुरा अगाडि बढिरहेको अभिव्यक्ति दिनुभएको शब्द चिन्तन संरक्षण मण्डलका संरक्षक सदस्य दीपक सुवेदीले सञ्चार क्षेत्रलाई बताउनु भयो । संविधानको अन्तिम मस्यौदा तयार गर्न धर्मको विषयलाई लिएर दलहरू निर्णयमा पुग्न नसकिरहेको समय पारेर शब्द चिन्तन संरक्षण मण्डलले ज्ञापन पत्र बुझाउनु अर्थकर देखिएको छ ।