एक बर्षमै जापानमा ३ सय २० नेपाली शरणार्थी

1062 पटक पढिएको

सम्पादक: Dhadingnews.com

जापान २५ जेठ,( धादिङन्युज) । नेपालमा माओवादी द्वन्द्वले बिश्राम लिएको पनि सात बर्ष भइसक्यो । त्यसयता नेपाली नागरिकहरु विस्थापित नै हुने गरी कुनै ठूलो युद्ध भएको छैन् ।
तर, नेपालमा बस्न सक्ने अबस्था नभएको भन्दै बिकशित मुलुकमा नेपाली नागरिकहरु शरणार्थी बन्ने क्रम भने रोकिएको छैन् । सामान्यतया नेपालीहरुले अमेरिका र केही युरोपेली मुलुकमा शरणार्थीका लागि आबेदन गर्ने गरेको भएपनि पछिल्लो बर्ष जापानमा पनि नेपाली शरणार्थीको दर ह्वात्तै बढेको छ ।

जापानको इमिग्रेसन ब्युरोले यही साता सार्वजनिक गरेको तथ्याङ्कअनुसार सन् २०१२ मा मात्रै ३ सय २० जना नेपाली नागरिकले जापानमा शरणार्थीको हैसियतका लागि आबेदन गरेका छन् । सन् २०११ मा २ सय ५१ जना नेपालीले शरणार्थी हैसियतका लागि आबेदन दिएका थिए ।
सन् २०१२ मा जापानमा कुल २ हजार ५ सय ४५ जना बिदेशीले शरणार्थी हैसियतका लागि आबेदन गरेको ब्युरोले जनाएको छ । यो तथ्याङ्क गत ३१ बर्षकै उच्च रहेको ब्युरोले जनाएको छ । त्यसमध्ये जम्मा १८ जनालाई शरणार्थीको हैसियत दिइएको छ भने १ सय १२ जनालाई मानवीयताका आधारमा जापानमा बस्ने अनुमति दिइएको छ । सन् २०११ मा २१ जनालाई शरणार्थी मान्यता दिइएको थियो ।
शरणार्थीका लागि आबेदन गर्नेमध्ये बिगत केही बर्षदेखि नेपालीहरु जापानमा तेस्रो स्थानमा पर्दै आएको ब्युरोको तथ्याङ्कमा देखिन्छ । सन् २०१२ मा टर्कीका ४ सय २३ जना, म्यानमारका ३ सय ६८ जना, नेपालका ३ सय २० र पाकिस्तानका २ सय ९८ जनाले शरणार्थीका लागि आबेदन गरेका छन् ।

शरणार्थी मामिलामा कमल चलाइरहेकी जापानी पत्रकार काउरु नेमेतोका अनुसार जापान बिश्वकै निकै कम शरणार्थी मान्यता दिने मुलुक हो । अमेरिकामा आबेदकमध्ये ५३ प्रतिशत, क्यानडामा ४४ दशमलव ६ प्रतिशत र दक्षिण कोरियामा ११ दशमलव ७ प्रतिशतलाई शरणार्थीको मान्यता दिइएको पाइन्छ । जहाँकी सन् २०१२को जापानको शरणार्थी स्वीकृति दर सून्य दशमलव ७ प्रतिशत मात्र रहेको छ ।
जापानले सन् १९८२ मा शरणार्थीलाई मान्यता दिन सुरु गरेयता १४ हजार २ सय ९९ जनाले शरणार्थी मान्यताका लागि आबेदन दिएका छन जसमध्ये ६ सय १६ जनालाई मात्र औपचारिकरुपमा शरणार्थीको मान्यता दिइएको छ ।
सामान्यतया, नेपालीहरु पर्यटक भिषामा जापान पुगेर त्यहाँ शरणार्थीका लागि आबेदन दिने गरेका छन् । तर, नेपालबाट बिस्थापित हुनुपर्ने चित्तबुझ्दो कारण नभएका कारण जापानमात्र हैन बिश्वका अन्य मुलुकमा समेत नेपालीहरुलाई शरणार्थीको मान्यता दिने दर घट्दै जान थालेको छ ।