साउदीले कामदारकै भाषामा एसएमएसमार्फत श्रम कानुनबारे बुझाउने

515 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं-वैदेशिक रोजगारीका लागि आकर्षक गन्तव्य साउदी अरबले आफ्ना देशमा कार्यरत आप्रवासी कामदारलाई उनीहरूकै भाषामा श्रम कानुनबारे एसएमएस र फोन कलबाटै जानकारी दिने भएको छ ।

saudiसाउदीको श्रम मन्त्रालय र त्यहाँको प्रमुख मोबाइल सेवा प्रदायक कम्पनी साउदी टेलिकम (एसटीसी) बिच यस्तो सेवा सुरु गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको हो । सो सम्झौतापछि अब विदेशी कामदारलाई एसएमएस तथा फोनबाटै साउदीको श्रम कानुनबारे जानकारी दिइने बताइएको छ ।

यसैगरी, कामदारको काम, कर्तव्य र अधिकारबारे पनि साउदी सरकारले एसएमएसबाटै सचेत गराउने जनाएको छ । यी सञ्चार तथा संवादमा आप्रवासी कामदारहरूकै भाषा पनि प्रयोग गरिने हुनाले अब नेपाली कामदारले पनि सहजै त्यहाँको कानुनबारे जानकारी पाउनेछन् । नेपाली कामदारले श्रम कानुनबारे लेखिएका एसएमएस आफ्नै मोबाइलमा नेपाली भाषामै प्राप्त गर्नेछन् । साउदीका श्रममन्त्री मुफ्रिज अल हक्बानीले यो सेवाको सुरुआतले सरकार र आप्रवासी कामदारबिचको दुरी कम हुने अपेक्षा गरिएको बताए ।

उनले साउदी सरकारले आप्रवासी कामदारको अधिकारको रक्षा कानुनी रूपमा गरिएको भन्दै त्यसलाई कामदारले सहजै पाउन सुरुआत हुन लागेको फोन तथा एसएसएस सेवाले सहयोग गर्ने बताए । यसबाट साउदी सरकार र कामदारबिचको सम्बन्ध पनि सुध्रिने त्यहाँको श्रम मन्त्रालयको अपेक्षा छ । यस सेवाको सुरुआतपछि कामदारलाई आफ्नो अधिकार प्राप्तिमा सहज हुने र त्यसबाट उत्पादनसमेत बढ्ने साउदीको श्रम मन्त्रालयले जनाएको छ ।