नपढेका महिला पनि विदेश जान पाउने

890 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

mahila bideshकाठमाडौं,  – अशिक्षित ग्रामीण महिला पनि रोजगारीका लागि खाडी र मलेसियालगायत मुलुक जान पाउने भएका छन् । हाउसमेडमा रूपमा महिला कामदार पठाउने भन्दै २ वटा म्यानपवार एजेन्सीले लेबनानबाट २०० नेपाली कामदारको माग वैदेशिक रोजगार विभागअन्तर्गतको वैदेशिक रोजगार कार्यालयमा पूर्वश्रमस्वीकृतिका लागि फाइल पेस गरेका छन् ।
म्यानपावर एजेन्सीमार्फत ‘हाउसमेड’को माग पहिलोपटक आएको हो । वैदेशिक रोजगार काठमाडौं कार्यालयका प्रमुख मधुविलास पण्डितले विभागमा पेस भएकामध्ये ५० प्रतिशत मागमा पूर्वश्रमस्वीकृति दिइसकेको बताए । एक लट कामदार पठाइसकेपछि मात्र अर्काे लटमा थप पूर्वश्रमस्वीकृति दिइने उनले जानकारी दिए ।
खाडी मुलुक र मलेसियामा कामदारको मासिक पारिश्रमिक २०० देखि २५० डलरसम्म छ । पूर्वश्रमस्वीकृति लिइसकेका म्यानपावर एजेन्सीले भिसा प्रक्रिया अगाडि बढाई कामदार पठाउन पाउनेछन् । कामसम्बन्धी दक्ष र योग्य महिला भने विदेश गइरहेका छन् ।
श्रम कार्यालयका अनुसार अब हाउसमेडमा कामदारको माग धमाधम आउन सक्ने सम्भावना बढेको छ । “विभिन्न नेपाली कूटनीतिक नियोगबाट आएको जानकारीअनुसार एजेन्सी दर्ता हुने क्रम भइरहेको छ,” कार्यालय प्रमुख पण्डितले भने, “लेबनानमा २२ वटा एजेन्सीले दर्ता गरिसकेका छन् ।” एजेन्सी दर्ताका लागि १० हजार डलर (१० लाख रुपैयाँ) धरौटी नियोगमा राख्नुपर्छ । यहाँका म्यानपावर एजेन्सीले बैंक ग्यारेन्टी र धरौटी ३० लाख रुपैयाँका साथै घरेलु कामदार पठाउन थप २५ लाख रुपैयाँ धरौटी जम्मा गर्नुपर्छ ।
विगतमा व्यक्तिगत रूपमा हाउसमेडको रूपमा खाडी मुलुक र मलेसिया जाँदा बढी समस्या रहेकाले संस्थागत रूपमा पठाउन खोजिएको विभागले जनाएको छ । “हाम्रो कामको अनुभवबाट गाउँघरमा नपढेका महिलाले खाडी मुलुक र मलेसियामा ईमेलमार्फत भिसा आएर विदेश गएको होइन ।
उनीहरू कुनै न कुनै एजेन्टमार्फत प्रलोभनमा परेर गएका हुन् । त्यही कारण समस्या पनि बढेको बढ्यै भयो,” पण्डितले थपे, “त्यही भएर संस्थागत रूपमा कामदार पठाउन लागिएको हो । कामदार ठगिए वा समस्यामा परे धरौटीबाट कट्टा गरिन्छ ।” विभागले ४९ वटा म्यानपावर एजेन्सीलाई घरेलु कामदार पठाउन स्वीकृति दिइसकेको छ ।
‘वैदेशिक रोजगार घरेलु कामदार पठाउने निर्देशिका २०७२’ मा महिला कामदारको हवाई टिकट र भिसा खर्चलगायत सम्पूर्ण रकम रोजगारदाता कम्पनीले बेहोर्नुपर्ने प्रावधान छ । घरेलु कामदारले ८ घण्टासम्म मात्र काम, थप कामको थप रकम, मनोरञ्जनको सुविधाका साथै घरमा टेलिफोन र घर बिदाको सुविधा दिनुपर्ने व्यवस्था छ ।
हाउसमेडको रूपमा काम गर्न जाने नेपाली कामदार पटकपटक ठगिने, शारीरिक यातना तथा शोषणमा पर्ने, पारिश्रमिक नपाउने र बढी समय काम गर्नुपर्ने समस्या बढी थियो । त्यही कारण सरकारले पटकपटक हाउसमेडको रूपमा कामदार विदेश जान प्रतिबन्ध लगाउँदै आएको छ । प्रतिबन्ध लगाएपछि मानव तस्कर वा एजेन्टमार्फत महिला भारत हुँदै खाडी मुलुक पुग्ने गरेका छन् ।

व्यक्तिगत श्रमस्वीकृति अनलाइनबाट
वैदेशिक रोजगार विभागले माघ महिनाभित्र व्यक्तिगत रूपमा विदेश जाने नेपाली कामदारलाई अनलाइनमार्फत श्रमस्वीकृति दिने तयारी गरेको छ । यो अनलाइन अमेरिकाको डीभी भरेजस्तै हुन्छ । व्यक्तिगतपछि संस्थागतमा पनि अनलाइन प्रणाली लागू गर्ने सरकारी योजना छ ।
“कामदारले भरेको विवरण विभागले जाँच गर्छ । अनि कामदारले विभागमा आएर पासपोर्ट बुझाउँछन्,” कार्यालय प्रमुख पण्डितले भने, “यसबाट कामदारलाई सहज हुन्छ भने अर्काेतर्फ कामदारको यकिन तथ्यांक रहन्छ । अनलाइन भएपछि कामदार काठमाडौंमा आएर लामो समयसम्म होटलमा बस्नुपर्ने र कागजी प्रक्रिया पु¥याउनुपर्ने झन्झट हट्नेछ कारोवार दैनिकमा खबर छ ।