बढ्न थाले श्रीमति पिडितहरु ,पत्नीविरुद्ध पतिहरुले उजुरी दिन थाले

630 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

2133503998काठमाडौं । वैदेशिक रोजगारबाट दीपक मिजार चार महिनाअघि घर फर्किए । खाडीमा पसिना बगाएर कमाएको पैसा उनले नियमित श्रीमतीलाई पठाउँदै आएका थिए । तर, तीन वर्षपछि फर्किंदा श्रीमती सँगै बस्न मानिनन् । अर्को व्यक्तिसँग प्रेमसम्बन्ध रहेकी श्रीमतीले सम्पत्तिसमेत लगेको भन्दै दीपक उजुरी लिएर प्रहरीमा पुगे यो समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।

नगद र सुन गुमेपछि श्रीमान् प्रहरीमा

ललितपुरका दिनेश शाही पनि श्रीमतीबाट अन्याय भएको भन्दै प्रहरीमा उजुरी लिएर जान बाध्य भए । तीन लाख ५० हजार नगद र साढे दुई तोला सुनसमेत लिएर हिँडेपछि उनी उजुरी लिएर प्रहरीमा पुगे । महिला तथा बालबालिका सेवा केन्द्र कालिमाटीले श्रीमतीलाई बोलाएर छलफल गरायो र मिलापत्र भयो ।

आफैँदेखि बच्चा पिटिएकोसम्म उजुरी

सिनामंगल बस्ने भारतीय नागरिक मुन्ना मालमले श्रीमतीले सधैँ आफूलाई कुटपिट गरेको भन्दै उजुरी दिएका छन् । नरेश शाहीले सम्बन्धविच्छेद भइसकेकी श्रीमती घरमा आएर आफ्नो बच्चालाई सधैँ यातना दिने गरेको भन्दै उजुरी दिएका छन् ।

सातामा एक उजुरी श्रीमतीपीडितको

पुरुषविरुद्धको हिंसाका उजुरी गर्ने प्रवृत्ति बढेसँगै काठमाडौंमा महिलाविरुद्ध पुरुषका उजुरी पनि बढेका छन् । हरेक साताजसो एक श्रीमान् श्रीमतीविरुद्ध उजुरी लिएर प्रहरीकोमा पुग्ने गरेका छन् । प्रहरीको काठमाडौं, ललितपुर र भक्तपुरका महिला तथा बालबालिका सेवा केन्द्रमा पनि पुरुषले श्रीमतीविरुद्ध उजुरी गर्न थालेका छन् । अघिल्लो वर्षमा भन्दा पुरुषका उजुरी यस वर्ष बढेको प्रहरीले जनाएको छ ।

श्रीमान् विदेश हुँदा श्रीमती अन्तै

प्रहरीका अनुसार श्रीमतीपीडितका घटनामध्ये केही वैदेशिक रोजगारीले निम्त्याएका घटना छन् । श्रीमान् विदेश जाँदा श्रीमतीको अरूसँग सम्बन्ध हुने र सम्पत्तिसमेत लिएर जाने गरेका घटना प्रहरीमा पुग्छन् ।

उजुरी श्रीमतीको पीडित श्रीमान्

कतिपय घटनामा श्रीमान्बाट पीडित भएँ भनेर महिलाले उजुरी गर्ने, तर अनुसन्धान गर्दा श्रीमान् नै पीडित भएको खुल्ने गरेको इन्स्पेक्टर पूर्णिमा चन्दले बताइन् । तर, ८० प्रतिशत घटनामा श्रीमान्कै दोष हुने उनको भनाइ छ । महिलाले श्रीमान्को अन्य युवतीसँगको सम्बन्ध, मदिरा सेवन, कुटपिट, घरमा नआउनेजस्ता विषयमा उजुरी गर्ने प्रहरीले जनाएको छ।