मलेसियामा ४ सय नेपालीको राहदानी जलेर नष्ट

720 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

चैत्र १४, २०७२- मलेसियामा एक कम्पनीमा आगलागी हुँदा त्यहाँ कार्यरत ४ सयभन्दा बढी नेपाली कामदारको राहदानी जलेर नष्ट भएको छ ।

27032016095452fire_malasiya-1000x0जोहोरको सेगामतमा रहेको ईको–सप मार्केटिङ नामक कम्पनी र होस्टलमा दुई साताअघि (मार्च १३) आगलागी हुँदा राहदानी जलेपछि पीडित नेपाली कामदार चिन्तित छन् ।

स्थानीय समयअनुसार बिहान करिब पौने ११ बजे भएको उक्त घटनामा कम्पनीको कार्यालयमा राखीएका कामदारका करिब ४ सयभन्दा बढी प्रति राहदानी जलेर नष्ट भएका हुन् ।

बिहान करिब पौने ११ बजे आगलागी भएको र ४ सय १५ नेपालीमध्ये ४ सय ८ जना नेपालीको राहदानी जलेको बर्दिया घर भई हाल उक्त कम्पनीमा कार्यरत शैलेन्द्र चौधरीले शनिबार कान्तिपुरलाई बताए । उनका अनुसार आगलागीमा ५ जना बर्मेली कामदारको राहदानी पनि जलेर नष्ट भएको थियो ।

७ जना नेपालीको राहदानी भने काम विशेषले कार्यालय बाहिर भएकाले जोगिएको छ । आगलागीमा परी कम्पनी भवनमा रहेका ४२ कोठामध्ये १६ कोठाहरु जलेका र होस्टलसमेत जलेपछि रातमा आफुहरु कम्पनी परिसरभित्रै रहेको गाडी पार्कीङ गर्ने ठाउँमा बस्दै आएको चौधरीले बताए ।

‘कम्पनी र होस्टल समेत गरि १६ वटा कोठाहरु पूर्णरुपमा जलेर नष्ट भएका छन् । होस्टल पनि जलेपछि हामीहरु कम्पनी कम्पाउण्डभित्रै रहेको गाडी पार्कीङ एरियामा बस्दै आएका छौं,’ चौधरीले कान्तिपुरसित टेलिफोनमा भने, ‘राहदानी जलेपनि हामी सबै सुरक्षित छौं । तर अब राहदानी नभएकाले चिन्ता लागेको छ ।’

पीडित कामदारलाई कम्पनी व्यवस्थापनले नजिकैको अर्को स्थानमा होस्टल सार्ने तयारी गरिरहेको छ । ‘यहाँ नजिकै कम्पनीले नयाँ होस्टल बनाउँदै छ, आधा काम सकीयो रे, अब केही हप्तापछि त्यता सार्दैछ,’ उनले भने  ।

घटनाबारे कम्पनीका व्यवस्थापक र कामदारले क्वालालम्पुरस्थित नेपाली दुतावासमा जानकारी गराईसकेको र राहदानीका लागि प्रक्रिया अघि बढाइएको बताइएको छ ।