एसएलसी परीक्षामा ६ लाख १५ हजार विद्यार्थी सहभागी हुदैँ  

1319 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

slc student 2071-edukhabarकाठमाडौँ – यस बर्षको प्रवेशिका परीक्षा (एसएलसी) को सम्पूर्ण तयारी पुरा भएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको छ ।  सोमबार राजधानीमा एक पत्रकार सम्मेलनको आयोजना गरी एसएलसी परिक्षाको सबै तयारी सकिएको कार्यालयले जनाएको हो ।

चैत्र १८ गते बिहीबारबाट शुरु हुने यस बर्षको एसएलसी परीक्षामा ६ लाख १५ हजार ५ सय ५० परीक्षार्थी सहभागी हुदैछन् ।  चैत्र २६ गतेसम्म सञ्चालन हुने परीक्षाका लागी देशभर १ हजार ४ सय ४३ परीक्षा केन्द्र तोकिएको छ ।

परीक्षा नियन्त्रंक कृष्ण प्रसाद काप्रीले सबै परीक्षा केन्द्रमा प्रश्नपत्र पुर्याइएको, केन्द्राध्यक्ष तोकिएको, परीक्षा केन्दमा सुरक्षा व्यवस्था गरिएको भन्दै परीक्षाको सबै तयारी पुरा भएको बताए ।  ‘हाम्रो सबै तयारी पुरा भएको छ’ परीक्षा नियन्त्रंक काप्रीले भने ‘परीक्षा केन्द्रमा प्रश्नपत्र पुर्याउनदेखि, केन्द्राध्यक्ष तोकिसकिएको छ ।’

परीक्षा निष्पक्ष ढंगले हुने भन्दै परीक्षा नियन्त्रंक काप्रीले अनुगमनलाई कडाईका साथ लागु गरिने दाबी गरे ।   यस बर्ष लेटरग्रेडिङमा परीक्षाफल प्रकाशित हुनेछ । परीक्षाफल नयाँ पद्धतिबाट सार्वजनिक हुने भएपनि परीक्षा प्रणालीमा कुनै परिवर्तन हुनेछैन् । सकेसम्म परीक्षालाई व्यवस्थित पार्न सबै किसीमका प्रयासहरु गर्नेछौँ ।’ उनले भने ।

विहान ८ बजेदेखि शुरु हुने परीक्षाको पहिलो दिन अंग्रेजी विषयको परीक्षा हुनेछ भने दोश्रो दिन १९ गते नेपाली, तेश्रो दिन चैत्र २१ गते गणित, २२ गते विज्ञान, २३ गते सामाजिक अध्ययन, २४ गते स्वास्थ्य तथा जनसंख्या शिक्षा, २५ गते ऐच्छिक प्रथम र २६ गते ऐच्छिक दोश्रो विषयको परीक्षा हुनेछ ।

अक्षरांकन पद्धतिमा नतिजा प्रकाशित गरिने यस बर्षको परीक्षामा नियमिततर्फ ४ लाख ५२ हजार ८ सय ८१ र एक्जामटेडतर्फ १ लाख ५९ हजार ४१७ विद्यार्थी सहभागी हुदैछन् ।  यसैगरी प्राविधिकतर्फ तीन हजार २५५ परीक्षार्थी सहभागि हुनेछन् ।  यस बर्ष पनि सबैभन्दा बढी विद्यार्थी काठमाडौं  उपत्यकाबाट परीक्षामा सहभागी हुदैछन् भने सबैभन्दा कम विद्यार्थी मनाङमा छन् । काठमाडौँ उपत्यकामा ३५ हजारले र मनाङमा ६९ जनाले परीक्षा दिदैछन् ।

परीक्षा नियन्त्रण कार्यालयले यस वर्षदेखि एसएलसी परीक्षा दिने परीक्षार्थीलाई परीक्षा सकिएकै दिन उनीहरुको परिचयपत्र वितरण गर्ने छ । परीक्षाको नतिजा सार्वजनिक गर्दा विद्यार्थीको नामथर, जन्ममिति, ठेगाना, अङ्ग्रेजी हिज्जे र परीक्षा दिएको विषयमा गल्ती समयमै सच्याउन परीक्षार्थीलाई परीक्षा सकिएको दिन परिचयपत्र वितरण गरिने भएको हो ।

परिचयपत्र वितरण गर्दा त्यसमा भएको विवरण र प्रवेशपत्रमा भएको विवरण फरक परेमा विद्यार्थीले विवरण सच्याउन १५ दिनभित्र सम्बन्धित जिल्ला शिक्षा कार्यालयमा निवेदन दिन सक्ने छन् ।

परीक्षा नियन्त्रक काप्रीले परीक्षामा कुनै पनि परीक्षार्थीले अमर्यादित काम गरेमा नियमअनुसार कारबाही गरिने बताए । परीक्षामा अमर्यादित काम गर्नेलाई रु एक लाख जरिवाना वा छ महिना कैद देखि दुबै सजाय हुने व्यवस्था  छ।