यो हो विश्वको सबैभन्दा लामो विमान (फोटो फिचर)

843 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

imagerएजेन्सी । विश्वको सबैभन्दा लामो विमानको तस्वीर जारी गरिएको छ । ‘एअरल्याण्डर–१०’ नाम दिइएको यो विमान परीक्षण उडानको तयारीमा छ ।

यो विमान ९२ मिटर लामो छ । विश्वको अहिलेसम्मको सबैभन्दा लामो विमानको तुलनामा यसको लम्बाई १८ मिटर बढी छ । विमानको लम्बाई बढी भए पनि यसमा यात्रु संख्या भने कम हुने भएको छ । यो विमानमा केवल ४८ यात्रु सवार हुन सक्छन् ।

ब्रिटेनको कार्डिङ्गटन, ब्रेडफर्डशायरस्थित एअरलाइन हेंगरमा विगत ९ वर्षदेखि यो विमान निर्माणको काम भइरहेको थियो । निर्माण कार्य लगभग अन्तिम चरणमा पुगिसकेको छ । सोमबार यो विमानको निर्माण कार्य पुरा हुने जनाइएको छ ।

निर्माण कार्य पुरा भएसँगै यो विमानलाई हेंगरभित्रै हावामा उडाइने छ । यो विमान उड्नका लागि लामो रन–वे आवश्यक नपर्ने जनाइएको छ । हेलिकोप्टर झैं यो विमान जमिनबाट सोझै माथि उड्न सक्ने भएकाले हेंगरभित्रै यसको पहिलो परीक्षण उडान गर्न लागिएको हो ।

यो विमान निर्माणमा २५ मिलियन युरो खर्च भएको छ । यो विमानमा गोली लागेको अवस्थामा समेत त्यति ठूलो क्षति नहुने निर्माण पक्षको दाबी छ । गोली लागेर प्वाल परेको अवस्थामा समेत विमान उड्न सक्ने गरी निर्माण गरिएको बताइन्छ ।

यो विमान पहिला अमेरिकी सेनाका लागि निर्माण गर्न लागिएको थियो । तर बजेट अभावमा अमेरिकी सेनाले विमान लिन नसक्ने जनाएपछि निर्माण कम्पनीले यसको स्वामित्व आफैंमा राखेको थियो ।

२० हजार किलोग्राम वजनको यो विमान १४८ किलोमिटर प्रतिघण्टाको रफ्तारमा उड्न सक्छ । त्यसैगरी बर्फ, पानी, मरुभूमि लगायतमा पनि यो विमानलाई सजिलै अवतरण गराउन सकिने जनाइएको छ ।

सन् २०१८ सम्ममा यस प्रकारको १२ विमान तयार पार्ने लक्ष्य रहेको निर्माण कम्पनीले जनाएको छ । केही महिनापछि यो विमानलाई हेंगरबाट निकालेर परीक्षण उडान गरिने भएको छ ।

-एजेन्सीको सहयोगमा