अफगानिस्तानबाट बेपत्ता भएका युवक घर फर्किए

722 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Suk-bahadur-sunar-and-Pramila_200869170फोटो :श्रीमती प्रमिलाको साथमा सुकबहादुर सुनार ।
धादिङबेसी: गत पुस १० गते अफगानिस्तानबाट श्रीमतीलाई सडकको बाटो भएर घर फर्किंदैछु भनेर फोन गरेदेखि बेपत्ता भएका धादिङ दार्खाका सुकबहादुर सुनार घर फर्किएका छन् । अफगानिस्तानबाट घर हिँडेदेखि बेपत्ता उनको खोजीमा पाकिस्तानस्थित नेपाली दूतावासले कुटनीतिक पहल सुरु गरेको थियो ।
दलालमार्फत अवैधानिक रूपमा भारतको बाटो हुँदै अफगानिस्तान पुगेका सुकबहादुर अफगानिस्तानमा काम पाउन नसकेपछि उतै अलपत्र परेका थिए । द्वन्द्वग्रस्त क्षेत्रमा एक महिनासम्म एउटै कोठामा कष्टकर तरिकाले बस्नु परेपछि उनले नेपालबाटै पैसा मगाएर फर्कने तयारी गरेका बेला पाकिस्तानी गुप्तचर निकाय आईएसआईले पक्राउ गरेको थियो अन्नपूर्ण अनलाईनमा खबर छ ।
धादिङकै दलाल कलबहादुर खातीलाई ५ लाख ५० हजार बुझाएर राम्रो कमाइ हुने आशामा २०७१ साल फागुन २२ गते सुकबहादुर भारतको बाटो हुँदै अफगानिस्तान गएका थिए । तर त्यहाँ लामो समय बस्दा पनि काम नपाएको र थुप्रै यातना पाएपछि सडकबाटो हुँदै घर फर्किन लागेका सुकबहादुर अफगानिस्तान–पाकिस्तानको सीमानाकाबाट पक्राउ परेका थिए ।
अफगानिस्तानबाट पाकिस्तानको बाटो हुँदै नेपाल हिँडेको दिनदेखि परिवारको सम्पर्कमा नआएको भन्ने विषयमा समाचार प्रकाशित भएपछि पाकिस्तानी प्रहरीले पक्राउ गरेको आशंकामा पाकिस्तानस्थित नेपाली दूतावासले सुकबहादुरको खोजीमा कुटनीतिक पहल गरेको थियो । सुकबहादुरसँगै नेपालबाट अवैध रूपमै अफगानिस्तान गएका मोरङका विनोद दनुवार र झापाका गंगाबहादुर गुरुङ पनि दूतावासकै पहलमा फर्किएका छन् ।
बिहीबार अबेर धादिङ आइपुगेका सुकबहादुरले भने, ‘अफगानिस्तानमा रहँदा कामका गर्न भनेर धेरै पटक अन्तर्वार्ता दिएँ, कमिसन नदिएकाले नाम निक्लिएर पनि काम गर्न पाइनँ, भिसा थप गरेर काम लगाइदिन्छु भनेर पासपोर्ट लगेकाले भिसा त थप गरिदिएन नै उल्टै पासपोर्ट फिर्ता गर्नसमेत पैसा मागेपछि त्यहाँ बसिरहनु असुरक्षित लागेकाले सडक बाटो भएर पाकिस्तान भारतको बाटो हुँदै नेपाल फर्कन सुर गरेको थिएँ । हिँडेको दिनमै पाकिस्तानमा पक्राउ परँे ।’ पक्राउ गरेको ४० दिनपछि पाकिस्तानी प्रहरीले सुकबहादुरलाई नेपाली दूतावासको जिम्मा लगाएको थियो ।
पैसा कमाउन गएका श्रीमान्ले ज्यान जोगाउनकै लागि घरबाट पटकपटक पैसा पठाइदिन आग्रह गरेपछि सुकबहादुरकी श्रीमतीले धादिङबेसीमा रहेका घरसमेत बेचेर सुकबहादुरलाई पैसा पठाएकी थिइन् । तर घर फर्किन नसक्ने अवस्था आएपछि सुकबहादुर अफगानी साथीकै सहयोगमा सडकबाटो हुँदै नेपाल फर्किंदै गरेका बेला पाकिस्तानमा पक्राउ गरेका थिए ।
‘ श्रीमान् अफगानिस्तानमा काम नपाएर अलपत्र परेपछि साह्रै पिर लागेको थियो । साढे ५ लाख खर्च गरेर गएका श्रीमान्लाई त्यहाँ पुगेपछि पनि ३ लाख पठाएँ । अब जेजस्तो भए पनि सकुशल घर फर्किनुस भनेकी थिएँ, घर हिँडे भनेदेखि सम्पर्कविहीन भएपछि साहै्र पिर लागेको थियो’, बिहीबार श्रीमान् घर आइपुगेपछि खुसी भएकी सुकबहादुरकी श्रीमती प्रमिलाले भनिन्, ‘पैसा जे जति डुबे पनि श्रीमान् सकुशल घर आउनुभयो साह्रै खुसी लागेको छ ।’