मंसिर ४ गते चुनाव गर्ने सरकारको निर्णय

560 पटक पढिएको

सम्पादक: Dhadingnews.com

हिम विष्ट/ काठमाडौं, जेठ ३० – (अपडेट) सरकारले मंसिर ४ गते चुनाव गर्ने निर्णय गरेको छ । निर्वाचन सम्बन्धी कानूनको टुंगो लगाउन मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले मंसिर ४ गते चुनाव गर्ने निर्णय गरेको हो ।

बैठकपछि मन्त्रिपरिषदको कार्यालयले विज्ञप्ति निकालेर नेपालको अन्तरिम संविधान, २०६३ को धारा ६३ को उपधारा (२) बमोजिम सम्बत् २०७० साल मंसीर ४ गते मंगलबारका दिन संविधान सभा सदस्यको निर्वाचन हुने गरी नेपाल सरकारले निर्वाचनको लागि मतदान हुने दिन तोकेको जानकारी दिँदै चुनाव सफल पार्नका लागि सहयोग गर्न सबैलाई आग्रह गरेको छ ।

नेपाली नागरिकले आफ्नो संविधान आफैंले निर्माण गर्ने जनप्रतिनिधि सभा गठन गर्ने र नेपाली जनतामा अन्तरनिहित सार्वभौमसत्ताको नेपाली जनताले व्यावहारिक रूपमा प्रयोग गर्ने अवसर नै संविधान सभाको निर्वाचन भएको सरकारको भनाई छ ।

संविधान सभाको निर्वाचनबाट गठन हुने जनप्रतिनिधि सभाबाट मुलुकको संविधान निर्माण हुने मात्र नभई वर्तमान राजनैतिक गतिरोध अन्त्य हुने भई मुलुकले राजनैतिक निकाश पाउने, मुलुकमा राजनैतिक स्थायित्व कायम भई जननिर्वाचित तथा स्थिर सरकार कायम हुने हुँदा यसलाई राष्ट्रिय महत्वको विषयको रूपमा हेरिनुपर्नेमा विज्ञप्तिमा जोड दिइएको छ ।

संविधानसभाको निर्वाचनलाई मुलुकको लोकतान्त्रिक अभ्यासको प्रमुख उपलब्धिको रूपमा हेरिनुपर्ने हुँदा यसको सफलताको लागि नेपाल सरकार, निर्वाचन आयोग, राजनैतिक दलहरू, नागरिक समाज तथा संचारकर्मीहरूको पनि आ–आफ्नै जिम्मेवारी रहेकोतर्फ सरकारले ध्यानाकर्षण पनि गराएको छ ।

सरकारले तोकेको मितिमा हुने संविधान सभाको निर्वाचनलाई सफल बनाउनसम्पूर्ण राजनैतिक दल, नागरिक समाज, संचारकर्मी, समस्त राष्ट्रसेवक कर्मचारी तथा सुरक्षाकर्मीहरू र समस्त नेपाली नागरिकमा सरकारले अपिल गरेको छ ।

—-उज्यालो अनलाइन बाट