मलेसियाले विदेशी कामदारमाथिको बन्देज हटायो

623 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

रोजगारीका चार क्षेत्र खुला गर्ने तयारी, नेपालले लाभ लिन सक्ने
images (7)नयाँ विदेशी कामदार लिनमा रोक लगाएको मलेसियाले फेरि कामदार लिने भएको छ । स्थानीय सञ्चार माध्यमका अनुसार सरकारले अब उत्पादन, निर्माण, प्लान्टेसन र फर्निचर–निर्माणलगायत रोजगारीका चार क्षेत्र विदेशी कामदारका लागि पुन: खुला गर्ने भएको छ । तर उक्त निर्णय कहिलेदेखि लागू हुने भन्नेबारे स्पष्ट छैन ।

मलेसियाली आवासीय तथा औद्योगिक क्षेत्रमा कामदार चरम अभाव भएपछि रोजगारदाता र सरोकारवालाले सरकारलाई यसअघि लगाइएको उक्त बन्देज हटाउन अनुरोध गर्दै आएका थिए । केही साताअघि मलेसियाका करिब ८४ प्रतिशत विभिन्न उत्पादन क्षेत्रमा कामदार अभाव भएको रिपोर्ट सार्वजनिक भएको थियो इकान्तिपुरमा खबर छ ।

‘कामदार गम्भीर अभाव भएको सन्दर्भमा हामीले लगाइएको बन्देज यी क्षेत्रमा कामदार ल्याउन फुकुवा गर्नुर्पछ,’ मलेसियाली यातायातमन्त्री लियो तियोङको भनाइ उद्धृत गर्दै स्थानीय दैनिक ‘द स्टार’ ले उल्लेख गरेको छ । उनका अनुसार सरकारले गैरकानुनी कामदारलाई वैध गराउन हाल सञ्चालनमा रहेको ‘पुन: भर्ना’ कार्यक्रमलाई थप सुधार गर्न र प्रभावकारी बनाउनतर्फ लागिरहेको छ । मलेसियामा रहेका नेपालीमध्ये बहुसंख्यक सेवा, सुरक्षा र उत्पादन क्षेत्रमा कार्यरत छन् । यीमध्ये सेवा क्षेत्रमा तत्काल खुला गर्ने कुनै संकेत देखिएको छैन । यद्यपि मन्त्री तियोङले विदेशी कामदारका लागि रोजगारीका अन्य क्षेत्र पनि चरणबद्ध रूपमा खुला गरिने बताएका छन् ।

यसअघि करिब १५ लाख बंगलादेशी कामदार ल्याउने घोषणा गरेपछि मलेसियाली श्रम बजारमा हल्लाखल्ला मच्चिएको थियो । पछि विभिन्न सरोकारवालाले नयाँ कामदार ल्याउनुभन्दा मुलुकमै भएका गैरकानुनी विदेशी कामदारलाई वैधानिकता दिंएर कामदार माग पूर्ति गर्नुपर्नेमा जोड दिंदै आएपछि सरकारले गैरकानुनी कामदारको ‘पुन: भर्ना’ कार्यक्रम सञ्चालनमा ल्याएसँगै सबै विदेशी कामदार लिनमा रोक लगाएको थियो ।

सरकारले बहुसंख्यक विदेशी कामदार कार्यरत क्षेत्र उत्पादन, सेवा, निर्माण, कृषिलगायतमा नयाँ विदेशी कामदारको सट्टामा आफ्नै नागरिक कामदारलाई प्रोत्साहन गराउँदै आए पनि उनीहरू खासै रुचि देखाएका छैनन् । ‘थ्रीडी’ समेत भनिने ‘फोहोर, गाह्रो र जोखिमयुक्त’ काममा स्थानीय कामदारले खासै रुचि नदिने हुँदा विदेशी कामदार नै मलेसियाका लागि बलियो ‘विकल्प’ रहँदै आएको छ । मलेसियाको अर्थतन्त्रमा उत्पादन र निर्यातमुखी बजारको उल्लेखनीय योगदान रहँदै आएको छ । यहाँका रबर, फर्निचर, तेललगायत सामग्री विश्व बजारमा निर्यात हुँदै आएका छन् । यी क्षेत्रमा अधिकांश विदेशी कामदार कार्यरत छन् ।

करिब २६ सय नेपाली दर्ता
गैरकानुनी आप्रवासी कामदारलाई वैध गराई रोजगारी दिन मलेसियाले गत फेब्रुवरी १५ देखि सुरु गरेयताको करिब ३ महिने अवधिमा करिब २६ सय नेपाली कामदार दर्ता भएका जनाइएको छ । उनीहरूले दर्तापछि स्वास्थ्य परीक्षण, कागजात
परीक्षणलगायतमा बाँकी प्रक्रिया पूरा गरेपछि योग्य देखिए आगामी तीन वा पाँच वर्षसम्म काम गर्ने अनुमति पाउनेछन् ।

केही दिनअघि सार्वजनिक एक तथ्यांकअनुसार ती नेपालीसहित हालसम्म गैरकानुनी हैसियतका करिब ५५ हजार उक्त कार्यक्रममा दर्ता भएका छन् । कार्यक्रम मार्फत रोजगारदाताले अनलाइन मार्फत आफूले रोजगारी दिन चाहेका कामदारका सबै विवरण अनलाइनबाटै सम्बन्धित सरकारी निकायमा पठाई दर्ता गराउन सक्नेछन् ।

अनलाइन प्रणाली मार्फत सञ्चालनमा ल्याइएको यो कार्यक्रम आगामी जुन ३० मा सकिनेछ । मलेसियाले हाल गैरकानुनी कामदार दर्ता कार्यक्रममा सामेल गराउन दबाबमूलक अभियान सञ्चालन गर्दै नियमित रूपमा उनीहरूको ‘खोजी र कारबाही’ समेत गर्दै आएको छ ।

मलेसियाले यसअघि पनि पटक पटक आममाफी एवं वैधानिकता लिने अवसर दिएको थियो । करिब २१ लाख वैध विदेशी कामदार र झन्डै त्यति नै संख्यामा अवैध कामदार रहेको ठानिएको मलेसियामा यसपालिको पुन: रोजगारी कार्यक्रमबाट अपेक्षित संख्यामा कामदार सामेल भएका छैनन् । नेपाली दूतावासको एक तथ्यांकअनुसार गत २ वर्षयता ‘स्वेच्छिक फिर्ती कार्यक्रम’ (थ्री प्लस वान् भोलुन्टार्ली डिपोर्टेसन प्रोग्राम) मार्फत करिब ६० हजार नेपाली स्वदेश फिरेको देखिन्छ ।