७६ देशका कलेजमा पुगे नेपाली विद्यार्थी

688 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

University1काठमाडौं – हिजो आज महिनाको सरदर ३ हजार अर्थात दैनिक १ सय विद्यार्थी अध्ययनका लागि विदेशिने गरेका छन् । यसरी विदेशीने नेपाली  विद्यार्थी संसारका ७६ देशका कलेजमा पुगी सकेका शिक्षा मन्त्रालयसँग तथ्याङ्क छ एडुखबरले समाचार छापेको छ ।

अघिल्लो आवमा ७६ देशका लागि ३० हजार ६ सय ९६ जना विद्यार्थीले ‘नो अब्जेक्सन लेटर’ लिएको तथ्यांक छ । विदेशिने विद्यार्थी अमेरिका, बेलायत, जापान, अष्ट्रेलिया, डेनमार्क, नर्वे, न्युजलैण्ड लगायतका देशमा विदेशिने विद्यार्थीको उल्लेख्य संख्या जाने गरेको छ । नो–अब्जेक्सन लेटर लिएका मध्ये करिव ९० प्रतिशत विद्यार्थी विदेश जाने गरेको तथ्यांक छ ।

उक्त तथ्याङ्कले उच्च माबि तहसम्मको अध्ययन पश्चात अध्ययनका लागि विदेशिने विद्यार्थीको संख्या बढ्दो रहेको पुष्टि गरेको छ । शिक्षा मन्त्रालय छात्रबृत्ति शाखाका अनुसार चालु आवको पहिलो ६ महिनामा करिब १८ हजार विद्यार्थीले बैदेशिक अध्ययनका लागि पूर्व स्वीकृती (नो–अब्जक्शन) लेटर लिएका छन् ।

०६२÷०६३ अघिभन्दा बैदेशिक अध्ययनका लागि विदेशनिे बिद्यार्थीेको संख्या क्रमशः बृद्धि हुदै गएको मन्त्रालयको तथ्यांकले देखाउँछ । गणतन्त्र आएपछि स्वदेशमा अवसरको ढोका खुल्छ भन्ने विश्वास गरिएको भएपनि राजनितीक अस्थिरताले जरो गाडेपछि विदेशिने विद्यार्थीको संख्यामा उल्लेख्य बृद्धि भएको हो । मुलुकमा राजनितीक अस्थिरता , बेरोजगारी र अध्ययन पश्चातको अनिश्चित भबिष्यका कारण विद्यार्थी विदेशिन बाध्य भएको जानकारहरु बताउँछन् । मन्त्रालयको तथ्यांकले बैदेशिक अध्ययनमा बाहिरिने विद्यार्थीको संख्यामा बर्षेनी बढेको देखाएको छ । गत आर्थिक बर्षमा मात्र ३० हजार ६ सय ९६ विद्यार्थीले बैदेशिक अध्ययनका लागि पूर्व स्वीकृती (नो–अब्जक्शन) लेटर लिएका छन् । यो संख्या भारत बाहेकका देशमा अध्ययनका लागि बाहिरिन चाहने विद्यार्थीको संख्या हो ।

छात्रावृत्ति शाखाका उपसचिव जनार्दन रिजालका अनुसार विगत केही वर्षदेखि विदेश अध्ययन गर्न जाने विद्यार्थीको संख्या बढ्दो छ । उनले भने “यसबर्ष पनि विदेशीने विद्यार्थीेको संख्या अझै बृद्धि हुनसक्ने देखिएको छ ।” करिब ६ महिनामा बाहिरिने विद्यार्थी संख्या अघिल्लो बर्षका तुलनामा कमी नरहेको रिजालले बताए ।

शिक्षाका नाममा यसरी विदेश जाँदा देशले ठुलो नोक्सानी वेर्होनु परेको शिक्षा मन्त्रालयका प्रवक्ता हरि लम्साल बताउँछन् । लम्सालले भने, “विदेश जाने विद्यार्थी सँगै पूँजी समेत बाहिरिएको छ ।” उनीहरु फर्किन्छन् भन्ने कुनै ग्यारण्टी नरहेको उनको भनाई छ ।

अघिल्लो आर्थिक बर्ष ३० हजार ६ सय ९६ जना बाहिरिँदा करिब ३६ अर्ब रुपैया  बाहिरिएको अनुमान राष्ट्र बैंकको प्रारम्भिक तथ्यांकले देखाउँछ । शैक्षिक परामर्शदाताका अनुसार अस्ट्रेलिया जाने विद्यार्थीले सरदर १० देखि १५ लाख रुपैंया खर्चिने गरेका छन् ।

विदेश जाने विद्यार्थी मध्ये जापानमा ९ हजार ४ सय ५७ जना रहेका छन् । त्यसैगरी, अष्ट्रेलिया ८ हजार ९ सय ४४ जना, अमेरिका जाने ३ हजार १ सय ५ जना, भारत जाने १ हजार ४२ जना रहेका छन् । विदेश अध्ययन गर्न जाने अधिकाँश विद्यार्थीको चाहना अध्ययन पश्चातको रोजगारी र आर्थिक उपार्जन नै हुने गरेको देखिन्छ । चालु शैक्षिक सत्रमा विद्यावारधी (पिएचडी) गर्न नर्वे पुगेका अरुण पौडेल स्वदेशमा उच्च शिक्षा अध्ययनरत विद्यार्थीको चाहनालाई मुलुकले बुझ्न नसकेकोले विदेशिएको बताउँछन् ।

नो–अब्जेक्सन लेटर लिने विद्यार्थी मध्ये सबै विदेश नै जान्छन् भन्ने ग्यारेण्टी नरहेको शैक्षिक परामर्शदाता बताउँछन् । पछिल्लो समय भारत जाने विद्यार्थीले नोअब्जेक्सन लिनेहरु पनि छन् । भारत जाने विद्यार्थीले ‘नो–अब्जेक्सन लेटर’ लिनु पर्ने अनिवार्यता छैन । लेटर लिएका विद्यार्थीलाई कलेजमा भर्ना हुन, मुद्रा सटही गर्न सहज हुन्छ ।

विगत ६ बर्षको अवधिमा नो–अब्जेक्सन लेटर’ लिएका विद्यार्थीको संख्या :

०६६/६७ –   २४,८२४
०६७/६८ –   २६,९४८
०६८/६९ –   ११,९१२
०६९/७० –   १६,४९९
०७०/७१ –    २८,१२६
०७१/७२ –  ३०,६९६