हरितालिका तीज: एक सन्दर्भ

1171 पटक पढिएको

सम्पादक: Dhadingnews.com

13407019_652724014879186_8735944308914306293_n
-सुशिला शर्मा “अतृप्ती”
मैदी धादिङ, हाल- भ्यानकुभर क्यानाडा

सुन्थें- क्यानाडा एक समृद्ध देश हो, जहाँ महिला, बृद्ध-बृद्धा र बच्चाहरुको उच्छ सम्मान र सुरक्षा हुन्छ, सुनेको कुरालाई प्रत्यक्ष देख्न र भोग्न पनि चाहन्थें । म आँफैलाई र मेरी छोरीलाई पनि त्यही पुर्‍याउन चाहन्थें, जहाँ १२ बजे राती पनि निस्फिक्री बाटोमा हिंड्न सकियोस। कुनै ज्ञानी, महात्मा नभएर लोभ इच्छा चाहना आदिले ओतप्रोत भएको एक सामान्य मानिस भएकोले मेरो सपनालाई मैले पुरा गरें।

बसमा चढुँ, रेलमा यात्राा गरुँ, सुपर स्टोरको लाइनमा बसुँ, जहाँ जहाँ म भिडमा पुगेँ, त्यहाँ त्यहाँ भुलबश मलाई कसैले छुन पुग्दा I’m so sorry, Did I hurt you! भनेको सुनें। क्यानाडा बसाइको दुई बर्षको दौरानमा मैले कही कतै पनि कुनै पुरुषबाट अपमानित हुनु परेन। आफ्नो इच्छा बिपरित कुनै पनि कुरामा दबिनु परेन।

नेपालका बसहरुमा यात्राा गर्दा भोग्नु परेका अप्ठ्याराहरु, अपमानहरु मन मनै दाँजे । आखिर कानून र चेतना त रहेछ सबै कुरा । शरीरको Private अङ्ग छुनु अपमान र अपराध मानिदैन हाम्रो देशमा ! हाम्रा किताबहरुमा ति कुराहरु थिएनन। हाम्रा अग्रजहरुले त्यसरी सिकाउनु हुन्थेन। पाठ्यक्रमहरु परिवर्तन भइराखेका छन, अझै पनि ति कुराहरुको सम्बोधन हुन सकिरहेका छैनन् । नेताहरु अधिकारकर्मीहरु कार्यक्रम त ल्याउछन् अनेक रुप मार्फत तर सही अर्थमा ति कार्यान्वयन हुँदैनन्। पाठ्यक्रम कस्तो बनाउने र हाम्रा नानीहरुलाई कस्तो चेतनाले सिंगार्ने भन्ने बिषयमा गहन छलफल गरिदैंनन्, अनी समाज दिनदिनै असुरक्षित बन्दैछ। पल पल महिला बालबच्चा, बृद्ध-बृद्धा हिंसाका शिकार भइराखेका छन। अपराधलाई राजनीतिको खोलले ढपक्कै ढाकिइन्छ।

महिलाको चेतनास्तर उकास्ने खालको कार्यक्रमहरु फाट्टफुट्ट देखिन्छन् तर सही अर्थमा शिक्षाको मुलधारमा समाबेश छैनन्। नेपाली महिलाहरुले चाड पर्वमा प्रदर्शन गरेको लवाइले प्रष्ट देखाउँछ हाम्रो समाज कतातिर जादैछ ? हाम्रा सन्ततिहरु के सिकदैछन्?

शिक्षित महिलाहरु जो देशको नितिनिर्माणको तहसम्म छन उनिहरुबाट सकारात्मक संस्कारको थालनी हुन सके समाजले केही रुप बदलथ्यो कि! कलाकर्मीहरु अझ विशेष गरी महिला कलाकर्मीहरुले थोरै सम्वेदनशिल भएर मनोरन्जन पस्कन सके समाजको चेतनास्तर केही उक्सन्थ्यो कि ! धेरै सक्षम र चेतनशिल समुह छ हामीसँग । सकारात्मक कामलाई हौसला र सहयोग गर्ने पुरुषहरुको पनि कमी छैन हामीसङ्ग । हामी दुई चार जनाले क्षणभरको लोकप्रियता कमाउने नाममा समाजले गलत कुरा सिक्न नपरोस।

हामी नारीहरु जती आफ्नो अधिकारका बारेमा बोल्छौ समाज प्रती जवाफदेही पनि त्यत्ती नै हुनु आबश्यक हुन्छ। समतामुलक समाजको निर्माणमा लागि परेका केही बौद्धिक व्यक्तित्वहरुले सन्चालन गरेका लैङ्गिक हिंसाविरुद्धका कार्यक्रमहरु अती नै सह्रानीय छन । नयाँ पुस्ताका Poet Warriors समुहको अभियान पनि राम्रो छ। अब छिटो भन्दा छिटो हाम्रो खर्च गर्ने तउरतरिकामा परिवर्तन हुनु आबश्यक छ । हाम्रो तडकभडकले  हाम्रो बुवा, दाजु, भाई, श्रीमान कसैलाई पनि भ्रष्टाचारको कुकर्म तिर नड्योराओस । हाम्रो क्षमता र औकात भन्दा माथि ताकेर हामीले हाम्रा मान्छेलाई रातदिन गनगन गर्न थाल्यौं भने उनिहरु पनि बिबश हुन्छन । मान्छेको मन जस्तो अस्थिर र लचक केही हुँदैन। आबश्यकता भन्दा बढी दबाब भयो भने मान्छेले गलत बाटो अबलम्बन गर्न पनि सक्छन, यो अती सामान्य मानविय स्वभाव हो।

देशलाई बदल्ने,सन्तानलाई राम्रो संस्कार सिकाउने अती नै महत्वपूर्ण काम हामी महिलाबाट सम्भव छ। हामीमा थुप्रै सम्भावना र क्षमताहरु छन। हामी आफु “आत्मनिर्भर” रहनु प्रमुख कुरा हो, यसले नै हामीलाई सबथोक सिकाउँछ। सकारात्मक समाजको परिकल्पना हाम्रो लागि टाढा क्षितिज बन्ने छैन । हाम्रा सम्भावनाहरुलाई खेर जान नदिउँ। आउँदै गरेको नेपाली महिला मात्रको महान पर्व तीजको अवसरमा सम्पूर्ण आमा दिदीबहिनी र साथी-सङ्गीलाई हृदयदेखी शुभकामना ! जय नारी शक्ति !