३ पटकसम्म भने क्यानलाई प्रतिबन्ध लगाउन हतार गरियो कि–रिचर्डसन

749 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

download (2)

नेपाल क्रिकेट संघ ९क्यान० लाई प्रतिबन्ध लगाउने मामिलामा अन्तर्राष्ट्रिय क्रिकेट महासंघ आइसीसी ले हतारो गरेको आशंका आइसीसीकै प्रमुख कार्यकारी अधिकृत डेभिड रिचर्डसनले गरेका छन्।
क्यानको प्रतिबन्ध फुकुवा गर्ने सम्बन्धमा छलफलका लागि नेपाल आएका रिचर्डसनले विभिन्न व्यक्तिसँगको कुराकानी पछि यस्तो आशंका गरेका हुन्। उनले क्यानको विषयमा आफूहरूलाई गलत रिपोर्टिङ भएको र नेपाली क्रिकेटलाई पुरानो अवस्थामा फर्काउन के गर्नुपर्ने भन्दै गहन छलफल गरेका थिए।
प्रधानमन्त्री पुष्पकमल दाहालसँग एउटा निष्कर्षमा पुगेर अधिकारसम्पन्न स्वतन्त्र कमिटी गठन गर्ने योजनामा आएका रिचर्डसन आफूलाई भनिएजस्तै नेपालको अवस्था नदेखेपछि कुनै ठोस निर्णय बिना आइतबार राति नै फर्किए।
बैठकमा कानुनीलगायत थुप्रै कुरामा छलफल भएपछि उनले नेपाललाई प्रतिबन्ध लगाउन हतारो गरिएको हो कि भन्दै आफूसँग आएका अन्य २ प्रतिनिधिको मुख हेरेका थिए। करिब डेढ घण्टा डेभ रिचर्डसनसँग वार्तामा संलग्न निर्वाचित नेपाल क्रिकेट संघका कोषाध्यक्ष राजुबाबु श्रेष्ठले सेतोपाटीसँग भने– ‘हामीले देशको अवस्था, कानुनी जटिलता, आफू किन सरकारसँग लडिरहेको स्पष्ट पारेपछि रिचर्डसनले आइसीसीका अन्य दुई प्रतिनिधितर्फ हेर्दै भन्नुभयो– आइसीसीलाई नेपालसम्बन्धि जुन बिफ्रिङ भयो। जसको रिपोर्टको आधारमा हामीले एउटा धारणा बनायौं। त्यो नै गलत थियो कि?’
श्रेष्ठले मिटिङमा ३ पटक यही शब्द डेभिड रिचर्डसनले दोहर्‍याएको बताए। डेढ वर्षअघि क्यानमा सरकारी हस्तक्षेप बढेपछि आइसीसीमा एसोसिएट सदस्य राष्ट्रको तर्फबाट कार्यसमितिमा प्रतिनिधित्व गरिरहेका सिङ्गापुरका इमरान ख्वाजा र आइसीसीका आर्थिक विभाग संयोजक अमर शेख नेपालको मुद्दा मिलाउन आएका थिए। उनीहरू पनि आइतबार रिचर्डसनसँग बैठकमा संलग्न थिए। रिचर्डसनले ख्वाजा र शेखतर्फ हेर्दै यो कुरा भनेको बैठकमा सहभागी क्यान अध्यक्ष चतुरबहादुर चन्दले बताए। ‘उहाँले छोटो समयमा नै स्थितिको लेखाजोखा गरिसक्नु भएको थियो,’ चन्दले भने।
अध्यक्ष चन्दले आइतबार सरकारले भनेजस्तै आइसीसीले सल्लाहाकार कमिटी गठन गर्न नसकेको कारण पनि यसैलाई बताए। ‘मलाई लाग्छ, रिचर्डसनलाई जुन ब्रिफिङ गरेर ल्याइयो। त्यो अनुसारको माहोल नभेटेपछि र क्यानको विवाद कानुनी लडाईतर्फ उन्मुख रहेको थाहा पाएपछि उहाँ अर्को विवादमा मुछिन चाहनु भएन,’ चन्दले भने।
आइसीसीले आइतबार गठन गर्ने भनेको सल्लाहाकार समिति गठन गरेन्। यो प्रक्रियालाई तत्कालै रोकेर दुई साता अगाडि बढाएको छ। यस्तै, क्रिकेट बोर्ड गठन गर्ने विषयमा सम्झौतामा नपुग्दासम्म प्रतिबन्धलाई यथावत नै राख्ने निर्णय गरेको थियो ।

– सेतोपाटी