धादिङमा भुमिहिन र पहुंच नभएका भूकम्प पीडितको बिचल्ल्ली

714 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

केशव अधिकारी
धादिङ, – कात्तिक महिनाको मध्य तिरबाट शुरु भएको चिसो अहिले निकै बढिसकेको छ । बढ्दै गएको चिसोले धादिङका भूकम्पपीडितहरु मारमा परेका छन् । भूकम्पले घर पूर्णरुपमा क्षति भएका धादिङका धेरै जसोले अहिले सम्म पनि सरकारले दिने भनेको अनुदान रकम पाईसकेका छैनन । कतिले अनुदान पाउने सूचिमा नाम निस्किएर पनि त्यस्का लागि प्रकृया पुरा गर्न नसक्दा अनुदान बाटै वञ्चित हुनुपर्ने अवस्था आएको छ ।
धादिङको बैरेनी गाविस वडा नम्बर ९ बराडाँडाका ७० बर्षिय शिवप्रसाद अधिकारीको घर बैशाख १२ गतेको भुकम्पले तहस नहस पारिदियो,घर भित्र रहेका अन्नपात, लत्ताकपडा र भांडाकुँडा समेत निकाल्न नपाएका अधिकारी अहिले सम्म त्रिपालमा बस्न वाध्य भएका छन । अधिकारीको नाममा भुकम्प पिडितको लागि अनुदान लिन पाउने सूचिमा नाम निस्किएपनि सगोलका लालपुर्जा भएका कारण शिवप्रसादले गाविस कार्यालयबाट अनुदान सम्झौता गर्न पाएका छैनन । ४० बर्ष अघि दाजुभाई संग छुट्टा भिन्ना भएपनि लामो समय सम्म लालपुर्जा बैकमा रहेका कारण मालपोतमा गएर अंशवण्डा गर्न नपाएकाले आफ्नै दाजुभाईको असहयोगका कारण शिवप्रसादले यति बेला राज्यले दिएको अनुदान पाउनबाट बञ्चित हुनुपर्ने अवस्था आएको हो । प्राधिकरणले खटाएको प्राविधिकहरुको टोलीले कतिपय वास्तविक पिडितलाई सुचिमा पारेको छैन भने एउटै घरका दुई देखि चार जनाको परिवारले समेत अनुदान पाउने अवस्था आएको छ । बैरेनी गाविसको वडा नम्बर ८ मा मात्रै यस्ता परिवारको संख्या ५० भन्दा बढि रहेको छ भने ९ नम्बर वडामा पनि एकै घरमा एकै ठाउमा बसिरहेका श्रीमान श्रीमती समेत अनुदानका लागि योग्य भएर रकमका लागि सम्झौता गरिसकेका छन । अझ कति पयले रातारात एउट गाविसबाट अर्को गाविसमा बसाई सराई गराएर एउटै परिवारको दुई तिर घर देखाएर पनि अनुदान सम्झौताका गरेका छन । यस्ता नाजायज काम गर्नेहरुको लागि सरकारी निकाय सहयोगी बनेको छ तर बास्तविक पिडितहरुले दुःख पाउंदा पनि सरकारी निकाय असहयोगी वनेका कारण विपन्न वर्गका पिडितहरु मार खेप्न वाध्य भएका हुन ।
समस्यामा परेकाहरुको लागि सहयोग गरिदिनुको साटो गाविस कार्यालयले पनि काम अड्काई दिने गरेका कारण धादिङका शिवप्रसाद जस्ता २० हजार परिवार अहिले पनि अनुदान सम्झौता गर्नबाट बञ्चित भएका छन । शिवप्रसाद अधिकारी त एउटा उदाहरण पात्र मात्रै हुन, भुमिहिन,सुकुम्वासी, घर परिवार अलग भएर बस्दै आएपनि सगोलमा लालपुर्जा भएका कारण अनुदान लिन नपाउनेहरुको सुचि हरेक गाविसमा ठुलै संख्यामा रहेको छ ।
गत बर्षको बैशाख १२ को विनाशकारी भूकम्पबाट क्षति भएको घरहरुको पुर्निनर्माणको लागि धादिङमा अहिले सम्म ५१ हजार ९ सय घरधुरीले पहिलो किस्ताको पचास हजार रुपैयाँ पाउने भनिएपनि बैकको ढिला सुस्ति, बैक गाउंदेखि टाढा भएका कारण पिडितहरुको बैकमा पहुंच नहुनु जस्ता कारणले सम्झौतामा ढिलाई भईरहेको धादिङ क्षेत्र नम्बर १ का सांसद धनवहादुर घले वताउनुहुन्छ । जिल्लाको उत्तरी क्षेत्रमा एउटा पनि बैक नभएका कारण गाउंलेहरु सदरमुकाम सम्म धाएर बैकिङ कारोवार गर्नु पर्ने वाध्यता रहेको छ । केहि दिन अघि सदरमुकामबाट अनुदान रकम बुझेर गाउं फर्कदै गरेका गाउंलेहरु चढेको बस उत्तरी धादिङको लपाङ फेदी नजिकै दुर्घटना हुंदा २० जनाको ज्यान गएको थियो । सरकारी निकायले अनुदान वितरण प्रकृयालाई झन्झटिलो पारिदिएका कारण सर्बसाधरणले अनाहकमा दुःख पाउनु परेको सभासद घलेको भनाई छ ।
धादिङ क्षेत्र नम्बर २ का सांसद गुरुप्रसाद वुर्लाकोटीका अनुसार तथ्यांकअनुसार धादिङ सहित उपत्यकाबाहिर ५ लाख ३३ हजार परिवारले घर पुनर्निर्माणका लागि अनुदान पाउनुपर्ने हो । तिहार अघिसम्म उक्त परिवारमध्ये ४ लाख २५ हजार ६ सय ४२ परिवारले मात्रै अनुदानको पहिलो किस्ताको ५० हजार रुपैयाँ पाएको तथ्यांकले देखाएको छ । प्राधिकरणका अनुसार कतिपय भूकम्पपीडितको ऐलानी जग्गा छ । घरजग्गा अंशबन्डा भएको तर प्रमाण नभएका समस्या पनि छन् । घर भत्किएको तर मानिस जीवित नभएर कागजात मिलाउन नसकेको कारण देखाई सरकारले भुकम्प पिडितहरुलाई यो बर्ष पनि चिसोमा खुल्ला आकाशमुनी वस्न वाध्य पारिरहेको उहाँले वताउनु भयो ।
गत बैशाख १२ गते विनाशकारी भुकम्पका कारण धादिङमा ६८ अर्ब ९४ करोड ७० लाख रुपैयाँ क्षति भएको थियो भने पुरुष २९१ र महिला ३८५ गरी ६७६ को ज्यान गएकोे थियो ।
विपदको कारण जिल्लाको ८८ हजार ५ सय ४४ घरधुरी क्षती भएकोमा प्राधिकरणले ७० हजार घरलाई मात्रै अनुदान पाउन योग्य भनेर बाँकी घरलाई छुटाईदिएपछि उनिहरुले अनुदानका लागि गुनासो फाराम भरेर बुझाएपनि कुनै सुनुवाई नभएको पिडितहरुको गुनासो छ । अनुदान वुझेर लगेका मध्ये धेरैले चाडवाड र अन्य घर खर्चका लागि रकम खर्च गरिसकेकोले जाडो अघि घर वनाउने सम्भावना निकै कम रहेको तिप्लिङका मेन घले वताउनुहुन्छ ।