धादिङमा नयाँ पर्यटकीय पदमार्ग अर्थात् ‘स्काइ ट्रेल’ सञ्चालनमा

1054 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

मंसिर २, २०७३- धादिङ जिल्लाको उत्तरी भेगमा पर्ने रुवी भ्याली क्षेत्रअन्तर्गत हिमालयन स्काइ ट्रेल (तीनसुरे पदमार्ग) सञ्चालनमा आएको छ । उक्त पदमार्ग सञ्चालनमा आएपछि राजधानीबाट नुवाकोट, रसुवा हुँदै धादिङका बस्तीहरुमा घुमेर गोरखा जान सहज हुनेछ ।

धादिङको उत्तरी क्षेत्रमा पर्ने समुन्द्री सतहदेखि एक हजार ५ सय फिटको उचाइमा रहेको  नेत्रतालदेखि झन्डै ११ हजार उचाइमा रहेको तीनसुरे भञ्ज्याङसम्म झन्डै ५० किलोमिटर दूरीमा उक्त पर्यटकीय पदमार्ग निर्माण भएको हो । नेपाल पर्यटन बोर्डको आर्थिक सहयोगमा निर्माण भएको पर्यटकीय पदमार्ग बनेपछि स्थानीयवासीहरु हर्षित भएका छन् ।

गुम्दी गाविसका स्थानीय याङ्जा गुरुङ नयाँ पर्यटकीय पदमार्गको निर्माणसँगै ग्रामीण क्षेत्रमा रोजगारीको ढोका खुलेको बताउँछन् । उनी भन्छन्– ‘नेपालको राजधानीसँग जोडिएको जिल्ला भएर पनि धादिङ साह्रै पछाडि परेको थियो । यस्ता पर्यटकीय पदमार्गको निर्माणसँगै विकासले विस्तारै गति लिन थालेको छ ।’

पर्यटकीय पदमार्गबाट आकाश र जमिनको विशेषता नजिकबाट नियाल्न सकिने भएकाले यसलाई ‘स्काइ ट्रेल’ समेत भनिएको हो । स्थानीय पर्यटन व्यवसायी एवम् ट्रेकिङ एजेन्सिज् एशोसिएसन अफ नेपाल (टान)का पूर्वउपाध्यक्ष बलबहादुर गुरुङले जलचर, जङ्गली जनावर र धार्मिक पर्यटनका दृष्टिले यो पदमार्ग महत्वपूर्ण रहेको बताए  । यस पदमार्ग पाँच दिन चार रातको रहेको छ ।

गुम्दी चिम्चोकका धनबहादुर गुरुङ पर्यटकीय पदमार्गको निर्माणसँगै भावीपुस्तालाई पर्यटन व्यवसायमा आकर्षित हुने बताउँछन् । उनी भन्छन्–‘पढेका मानिस पर्यटकको पथप्रदर्शक बन्छ, नपढेका मानिस भारी बोक्छ, बूढा मानिस खाना बनाएर होमस्टे (घरबास) चलाउँछ सबैलाई आयआर्जनमा सहयोग पुग्छ ।’

पदमार्गमा त्रिपुसरेस्वरको आँखुखोलामा निर्माण भएको हाइड्रोपावरबाट बनेको नेत्रताल, बगुवाखोलामा निर्माण भएको पानीघट्टा, कात्तिकेको डोका नाम्ला बोकेर घाँसदाउरा गर्दै गरेका ग्रामीम परिवेश, परम्परागत फलामका सामान बनाउँदै गरेका आरन, फूलखर्कबाट देखिने सूर्योदय, मनटारीको जङ्गलमा बनेको मनटारी स्काइ क्याम्प, पोखरा बस्तीको गुरुङ जातिको नाच अवलोकन गर्न सकिनेछ । यस्तै पोखराडाँडाबाट गणेश हिमाल र लाङटाङ क्षेत्रको मनोरम दृश्य, जङ्गलमा रहेका  कालिज, बँदेल, तित्रा, चितुवा, भालु, डाँफे, मुनाल, लगायत पशुपन्छी र वन्यजन्तुको अवलोकन गर्न सकिने पदप्रदर्शक सरोज नेपालले बताए ।

पदमार्गका क्रममा धार्मिक र ऐतिहासिक महत्व बोकेको गङ्गा–जमुना झरना र तीनसुरे भञ्ज्याङबाट काठमाडौंका विभिन्न स्थान, रुवीभ्याली, रिङ्ने भ्याली, बूढीगण्डकी उपत्यका र नुवाकोट, रसुवा, गोरखा लगायत जिल्लाको रमणीय दृश्य देख्न सकिन्छ ।

अधिकांश पर्यटनकर्मी रहेको धादिङमा सुविधाजनक र गुणस्तरीय ग्रामीण पर्यटकीयको आगमनलाई सहज बनाउन यो पदमार्गले ठूलो सहयोग पुग्ने बताइएको छ । नेपाली कांग्रेस धादिङ क्षेत्र नं १ का सांसद दिलमान पाख्रिन नेपालको पर्यटकीय विकासमा सरकारको ठूलो लगानी रहे पनि सोचेजस्तो प्रगति हासिल गर्न नसकेको बताउँछन् । उनी भन्छन्, ‘देशको आर्थिक विकासको मेरुदण्ड पर्यटन भएकाले यसको विकास र विस्तारमा सबै लाग्नुपर्छ ।’ धादिङ जिल्लाको रुबीभ्यालीमा पर्ने उक्त पर्यटकीय मार्गको निर्माणका लागि पर्यटन बोर्डले करिब रु ४० लाख लगानी गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले शिलान्यास गरेको उक्त पदमार्गको निर्माणपछि उद्घाटन गर्दै  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले धादिङ जिल्ला पर्यटकीय दृष्टिकोणले ठूलो सम्भावनाको जिल्ला रहेको बताए ।

मन्त्री शाहीले पर्यटकीय क्षेत्रको माध्यमबाट पूर्व–मेचीदेखि पश्चिम महाकाली, हिमालदेखि तराईसम्मको मानिसको जीवनस्तर उकास्न सकेमात्र देशले सोचेजस्तो प्रगति हासिल गर्नसक्ने विश्वास व्यक्त गरे । उनले भने, ‘मेरो कार्यकालमा नेपालको आकाश सुरक्षित छ भन्ने सन्देश अन्तर्राष्ट्रिय क्षेत्रमा दिन्छु त्यसले नेपालको पर्यटकीय विकासलाई सहयोग पुग्छ ।’

हिमालयन स्काइ ट्रेलमा पहिलो दिन काठमाडौंदेखि नेत्रताल, दोस्रो दिन बगुवाखोला–कात्तिके हुँदै मनटारी, तेस्रो दिन फूलखर्क–गुम्दी हुँदै पोखराडाँडा, चौथो दिन तीनसुरे भएर गङ्गा–जमुना र पाँचौँ दिन पुन: फूलखर्क हुँदै मनटारी वा नेत्रताल आई बस्न सकिनेछ । पर्यटकको चाहनाअनुरुप अन्यत्र लैजान पनि सकिने स्थानीय व्यवसायीको भनाइ छ इकान्तिपुरमा खबर छ ।

इटालीबाट पर्यटक पदयात्रामा नेत्रतालदेखि तीनसुरे पदयात्रामा आएका मासासी रोसेटो नेपाल पर्यटकको राम्रो गन्तव्यस्थल रहेको बताउँछन् । उनले नेपालको संस्कृति, वेशभूषा, खोलानाला, पहाड, हिमालले आफ्नो मन छोएको बताए ।

मुलुकमा यातायातको पहुँच विस्तारसँगै ग्रामीण क्षेत्रका पदमार्ग लोप हुँदै गएको बेला नयाँ पदमार्गले पर्यटकीय विकासमा थप सहयोग पुग्नेछ ।