७ नयाँ ग्यास बोटलिङ प्लान्ट सञ्चालनमा आउँदै,धादिङको बैरेनीमा एनएल ग्याँस उद्योगस्थापनाको प्रस्ताव

827 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

downloadबैरेनी -धादिङको बैरेनीमा नयाँ ग्याँस उद्योगको बोटलिङ प्लान्ट सञ्चालनमा ल्याउन व्यवासायीहरुले प्रस्ताव अघि सारेका छन । धादिङ र तनहुंमा एकै साथ दुई वटा प्लान्ट सञ्चालनमा ल्याउने गरी एनएल ग्याँस उद्योगले अनुमतिका लागि उद्योग विभागमा प्रस्ताव पेश गरेको हो । यस अघि धादिङको खानीखोला देखि मझिमटार सम्ममा १३ वटा ग्याँस उद्योगको बोटलिङ प्लान्ट सञ्चालनमा रहेको छ । ग्याँस उद्योग स्थापना गर्दा स्थानीयलाई वेवास्ता गरी पहुंचका आधारमा उद्योग दर्ता गर्ने गरेको आरोप लाग्ने गरेको छ । बैरेनी गाविसको वडा नम्बर ९ को २६ किलोमा यस अघि सञ्चालनमा रहेको नमस्ते ग्याँसले सामुदायिक बनको जग्गा अतिक्रमण गरी उद्योग स्थापना गरेको आरोप लागेको छ ।
धादिङको बैरेनी संगै देशका अन्य भागमा पनि ग्याँस उद्योगको बोटलिङ प्लान्ट सञ्चालनका लागि उद्योगहरुले अनुमति पाएका छन । चालु आर्थिक बर्षमा ८ नयाँ ग्यास उद्योग (ग्यास बोटलिङ प्लान्ट) ले सञ्चालनका लागि प्रस्ताव गरेका छन् । चालु आवको पाँच महिनामा ती उद्योगले उद्योग विभागमा सञ्चालन स्वीकृतिका लागि प्रस्ताव गरेका हुन् ।

जसमध्ये ६ ओटाले सञ्चालनको स्वीकृति पाइसकेको विभागका अनुमति शाखा अधिकृत रामप्रसाद लुइँटेलले जानकारी दिए । विभागका अनुसार बुद्ध इण्डष्ट्रिज प्राली, नोवेल ग्यास उद्योग,पाथिभरा ग्यास उद्योग,विरता ग्याँस उदोग, बुहारी ग्यास उद्योग, बर्षा ग्यास र एनएल ग्यास उद्योगले सञ्चालन स्वीकृतिको प्रस्ताव गरेका हुन् । यी उद्योगहरुमा १ अर्व २७ करोड ६८ लाख रुपैयाँ बराबरको लगानी छ ।

ती उद्योहरुको बार्षिक क्षमता ९० हजार ३ सय ९० मेट्रिक टन रहेको छ । साथै यी उद्योगले ३ सय ३ जनालाई रोजगारी दिनेछन् । जसमध्ये रुपन्देहीको सिक्टहन गाविसमा सञ्चालनमा आउन लागेको बुद्ध ग्यास इन्डष्ट्रिज गत साउन २० गते दर्ता भएको हो । सो उद्योगमा १५ करोड रुपैयाँ बराबरको लगानी रहेको छ । उद्योगले बार्षिक १२ हजार मेट्रिक टन ग्यास उत्पादन गर्ने गरी प्रस्ताव पेस गरेको थियो । उद्योगले ४७ जनालाई रोजगारी दिने बताइएको छ ।

त्यस्तै धनुषाको नक्टाझिजमा सञ्चालन गर्न नोवेल ग्यास उद्योगलाई गत साउन २१ गते विभागले स्वीकृति दिएको छ । सो उद्योगको लगानीकर्तामा विजयहरि शर्मा छन् । उद्योगको बार्षिक क्षमता ६ हजार हजार मेट्रिक टन रहेको छ । २० करोड रुपैयाँ लगानीको सो उद्योगले ४९ जनालाई रोजगारी दिने बताइएको छ ।

त्यस्तै पाथिभरा ग्यास उद्योग प्रालिले हालै झापामा उद्योग स्थापना गर्ने स्वीकृति विभागबाट पाएको विभागका अनुमति शाखाका अधिकृत रामप्रसाद लुईटेलले जानकारी दिए ।

पथिभराले बार्षिक १२ हजार मेट्रिक टन ग्यास उत्पादनको लक्ष्य राखेको छ । सो उद्योगमा ११ करोड रुपैयाँ लगानीमा सञ्चालनमा ल्याउन लागिएको हो । उद्योगबाट ५६जनाले रोजगारी पाउने छन् । त्यसैगरी झापाको दुवागढीमा विरता ग्यास उद्योग सञ्चालनमा आउने भएको छ । १५ करोड रुपैयाँ लगानीमा सञ्चालनमा आउन लागेको सो उद्योगले बार्षिक १२ हजार मेट्रिक टन ग्यास उत्पादन गर्ने छ । यसबाट ४८ जनाले रोजगारी पाउने बताइएको छ ।

झापाकै दमकमा बुहारी ग्यास उद्योग सञ्चालनमा आउने भएको छ । १६ करोड ५६ लाख लगानी रहेको सो उद्योगले ३५ जनालाई रोजगारी दिने लक्ष्य राखेको छ । त्यस्तै सुर्खेतमा सञ्चालन गर्न लागिएको बर्ष ग्यासको लगानी १२ करोड २० लाख रुपैयाँ छ । यसले ५६ जनालाई रोजगारी दिने तथा बार्षिक १२ हजार मेटन ग्यास उत्पादन गर्ने छ ।

विभागका अनुसार हालै धादिङको बैरेनी र तनहुँमा एनएल ग्यास उदोग स्थापनाका लागि प्रस्ताव आएको छ । धादिङ र तनहुमा क्रमशः ११ करोड ५० लाख र ११ करोड ३० लाख रुपैयाँमा उद्योग स्थापना गर्न लागिएको हो । यी दुइ उद्योगले १ सय १२ जलानाई रोजगारी दिने प्रस्तवमा उल्लेख छ । हाल यी उद्योगको फाइल आयल निगममा पठाइएको लुँइटेलले जानकारी दिए ।

एनका अनुसार कुनै पनि ग्यास उद्योग सञ्चालनका लागि उद्योग विभागमा प्रस्ताव आएको अवस्थामा विभागले शुरुमा आयल निगममा सो फाइल पठाउँछ । आयल निगमले फाइल अध्ययन गरेर उपयुक्त लागेको अवस्थामा विभागलाई दर्ताको सिफारिस गर्छ । त्यसपछि मात्र विभागले दर्ता प्रक्रिया अघि बढाउने बताइएको छ । विभागबाट दर्ता स्वीकृति पाएपछि उद्योगले वातावरणीय प्रभाव मूल्यांकन गरेर मात्र उद्योग सञ्चालन गर्न पाउने नियम छ ।