राजमार्गमा पशु ढुवानी अनुगमन सुरु

927 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

09112016080721animal-transport-1000x0धादिङ-  धादिङको राजमार्गमा पालन र मासुका लागि ल्याइने पशु ढुवानीको अनुगमन सुरु भएको छ । पशु सेवा कार्यालय धादिङका जिल्ला प्रमुख देवेन्द्र भगतले मालवाहक गाडीमा तोकिएको मापदण्डभन्दा धेरै पशु कोचाकोच गरेर राख्ने गरिएकाले अनुगमन थालिएको बताए ।
‘अब राजमार्गमा अनुगमन सुरु गरेका छौं,’ जिल्ला प्रमुख भगतले भने, ‘हरेक साता तराईमा लाग्ने पशु मेला र हाटबजारबाट खरिद गरिएका राँगाभैंसी भोकभोकै रातारात राजधानी ढुवानी गरिँदै आएको छ ।’ अव्यवस्थित ढुवानी प्रक्रियाका कारण पशुको स्वास्थ्य, उत्पादन क्षमता र गुणस्तरीयतामा प्रतिकूल प्रभाव पारेको विज्ञहरूको भनाइ छ । देशका विभिन्न भागबाट ट्रकमा राखेर दुई/तीन दिन लगाएर पशुहरू राजधानी लगिँदा अपनाइने विधि सडक ढुवानी मापदण्डविपरीत भएपछि यसको व्यवस्थापनका लागि सरकारले पहल सुरु गरेको १७ वर्ष भइसकेको छ । पशु सेवा विभागले पशुहरूको सडक तथा पैदल ढुवानी मापदण्ड लागू गरेर संशोधन गरेको पनि नौ वर्ष भएको छ । तर, उक्त मापदण्ड कार्यान्वयन भएको थिएन ।
ट्राफिक जिल्ला प्रमुख मुरारी मिश्रका अनुसार एउटै गाडीमा ४० देखि ८० वटा राँगाभैंसी ढुवानी गरिँदै आएको छ । ठूलोमा २० र साना ट्रकमा १२ देखि १५ वटा बोक्नुपर्नेमा हो । पशु ढुवानी नियमावली लागू गराउन सरोकारवालालाई जानकारी गराउनुपर्ने ट्राफिक प्रमुख मिश्रले बताए । ‘ढुवानी मापदण्ड के हो र त्यसको उल्लंघन गरे के कस्तो जरिवाना हुन्छ भन्ने जानकारी छैन,’ मिश्रले भने ।
पालन र मासुका लागि पशुुको सडक ढुवानी मापदण्ड १७ वर्षसम्म कागजमै सीमित रहेको थियो ।