धादिङबेसीमा कृषि प्रदर्शनी मेला, पुरस्कार बितरणमा विभेद गरिएको किसानको गुनासो

523 पटक पढिएको

सम्पादक: Dhadingnews.com

DSC08610(1) copy
धादिङबेसी,५ असार ( धादिङन्युज) । धादिङ जिल्लाका कृषकहरुले उत्पादन गरेका कृषि उपजहरुको प्रदर्शनी तथा पुरस्कार बितरण गर्न मंगलवार धादिङबेसीमा आयोजित कृषि मेला प्रदर्शनीले वास्तविक किसानलाई निराश वनाएको छ ।प्रदर्शनीमा राखिएका कृषिजन्य उपजहरु पुरस्कृत गर्ने बिषयमा आयोजकहरुले निष्पक्षता अपनाउन नसकेको किसानहरुले वताएका छन । एउटै घरका तीन जना र आयोजकहरु आंफै पुरस्कृत  भएको थाहा पाएपछि किसानहरु आक्रोशित भएका हुन ।
उत्कृष्ठ कृषि उपज पुरस्कृत गर्न बनेको पुरस्कार छनौट समितिले तरकारी ,फलफूल, खाद्यान्न, प्राङगारिक, दलहन,माछा,नगदेवाली तथा विविध शिर्षक ११ वटा बिषयमा प्रत्येकमा चार–चारजनालाई पुरस्कृत गरेको थियो ।  यसरी पुरस्कृत गरिंदा किसानले प्रदर्शनीमा ल्याएको उत्पादनलाई भन्दा पनि व्यक्तिगत सम्वन्धका आधारमा केही व्यक्ति पुरस्कृत भएको किसानहरुको गुनासो छ ।
साना किसान कृषि सहकारी संघ लिमिटेड धादिङ आयोजक र जिल्ला कृषि विकास कार्यालय प्राविधिक सहयोग र एग्रिटेरा दि नेदरल्याणको आर्थिक सहयोगमा मंगलवार धादिङबेसी स्थित जिविका होटलमा कृषि मेला प्रदर्शनी सम्पन्न भएकोे थियो । प्रदर्शनीमा ल्याइएका कृषि उपजहरुलाई पहिलो, दोश्रो, तेश्रो र सान्त्वना  बनाएर पुरस्कृत गरिएको छ । तीन दिन देखि परिरहेको अविरल बर्षाको वेवास्ता गर्दै  जिल्लाको नीलकण्ठ,साङकोष,नलाङ, कल्लेरी, केवलपुर, मुरलीभञ्ज्याङ, कुम्पुर, वेनिघाट लगायतका गाविसका किसानहरुले एक सय ५० भन्दा धेरै किसिमका कृषि उपजहरु प्रदर्शनीका लागि ल्याएका थिए । प्रदर्शनीमा विशेषगरी खुर्सानी, अदुवा, घिरौला, फर्सी, मकै, आँप, स्याउ लगायतका साथै जिल्लामै उत्पादित जुनार,स्याउ, अंगुर,किवि ,अकबरे खुर्सानी लगायतका कृषि उपजहरुपनि  राखिएको थियो ।