टिप्न जाने खेरजाने पातबाट फल्छ पैसा !

992 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 काठमाडौं २० मंसिर, । हरियो वन नेपालको धन’ भन्ने उक्तिका आधारमा सामान्यतया वनबाट पाइने काठको सदुपयोगलाई मात्र सम्झने गरिन्छ ।

वनमा काठमात्र नभई बहुमूल्य वनस्पति, पात–पतिङ्गर, जरा, फल, फूल अनि पानीको स्रोत पनि हुन्छ । काठको उपयोगलाई मात्र बढी ध्यान दिइने गरेकै हुनाले होला– वन संरक्षणको प्रसङ्ग आउँदा सबै क्षेत्रका मानिसको काठमै धेरै चासो रहनेगरेको ।

नेपालको विद्यमान वनको अवस्था अध्ययन गर्दा तराईको कुल वनमा रहेका रूखको सङ्ख्यामध्ये ८० प्रतिशतभन्दा बढी बुढा पाइएका छन् । भएका वनजङ्गलमा अमेरिका र दक्षिण अफ्रिकाबाट विभिन्न कारणले भित्रिएका वनमारा झारका कारणले वन, वनस्पति, घाँसेमैदान नाश हुँदै छन् । नेपालका वनमा नयाँ रूख उम्रने वातावरण प्रतिकूल बन्दै आएको विभिन्न अध्ययनले देखाएका छन् । विशेषगरी चितवन राष्ट्रिय निकुञ्ज र त्यसवरपरका सामुदायिक वन, मध्यवर्ती क्षेत्रमा वनमारा प्रजातिका झारले वन्यजन्तुको बासस्थानमा समेत प्रतिकूल प्रभाव पारिरहेको छ ।

वनमारा झारलाई वन विनाशकको रूपमा लिन थालिएका बेला चितवनका सामुदायिक र कबुलियती वनका उपभोक्ता भने तिनै झारबाट आय आर्जनका काममा लागेका आजको गोरखापत्रमा समाचार छ ।

यो कामबाट उनीहरू वन जोगाउनुका साथै त्यस्ता वनमारा झारका पात सङ्कलन गरेर पैसा कमाउने उद्यमसमेत गरिरहेका छन् । चितवनको कालिकानगर गैरीबारी गाउँका च्वार खोलामा गिट्टी कुटेर जीवन गुजरा चलाउँदै आएका बासिन्दा अहिले वनमारा झारको सदुपयोगबाट मासिक हजारौँ रुपियाँ कमाउन सफल भइरहेका छन् ।